नेवि सङ्घमा को अगाडि ?

नेवि सङ्घमा को अगाडि ?


Nainsing Mahar

लगभग एक दशकदेखि अवरुद्ध रहेको नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन विधिवत रूपमा निर्धारित समयमै हुनुपर्ने माग गर्दै गत शनिबारदेखि आमरण अनुसनमा बसेका दुई विद्यार्थी नेताको स्वास्थ्य गम्भीर हुँदा पनि अनसन तोड्ने परिवेश निर्माण नहुँदा सम्बद्ध पक्षमा खल्बली मच्चिएको छ बुझिएको छ । अनसनकारी विद्याथी नेताहरू गणेश सापकोटा गत सोमबार नै बेहोस भएर ढलेका थिए भने रत्न ढुंगेलको अवस्था पनि गम्भीर बन्दै गएको छ । दुवैमा सुगर र रक्तचापमा समस्या देखिएको बताइन्छ ।

यसरी अनसनकारी असक्त भई स्थिति गम्भीर हुँदा पनि उनीहरूको नेतृत्व गरिरहेका कुन्दनराज काफ्लेले अनसन नरोकिने बरु आफै अनसनमा बस्ने चेतावनी दिएर परिस्थितिलाई झनै गम्भीर तुल्याइदिएका छन् । अनसनकारी पक्षले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको घर घेर्ने योजना समेत बनाएका छन् । जसरी पनि विधिवत् निर्वाचन होस्, त्यसका लागि हामी जेसुकै गर्न तयार छौँ भन्ने चेतावनी उनीहरूले दिएका छन् ।

यता यही २३, २४ र २५ साउनमा हुने भनिएको ११औँ महाधिवेशनमा उम्मेदवारी दिई नेवि सङ्घ अध्यक्षको जिम्मेवारी हात पार्न झण्डै दर्जनकै हाराहारीमा विद्यार्थी नेताहरूबीच प्रतिष्पर्धा चलेको छ । पूर्वउपाध्यक्ष नैनसिंह महर, मनोजमणि आचार्य, जीतजंग बस्नेत, शुभराम बस्नेत, कुन्दनराज काफ्ले, आनन्द त्रिपाठी, दिपक भट्टराई, युवराज पाण्डे, रामप्रसाद अधिकारी, सरोज थापाको नाम विशेष चर्चामा छ । यीमध्ये प्रजातन्त्रलाई तल्लो तहसम्म प्रचारप्रसार गर्ने उद्देश्यले ‘स्कूल अफ डेमोक्रेसी’ नामक अभियानको अध्यक्षता गरिरहेका ‘अबको काङ्ग्रेस’ पुस्तकका लेखक नैनसिंह महरले भावी अध्यक्षमा तमाम विद्यार्थी साथीहरूले आफूलाई देख्न चाहेको दाबी गरेका छन् ।

आफू नेवि सङ्घको अध्यक्ष भएर के–के काम गर्ने भन्ने सवालमा प्रस्ट योजना बनाइसकेको दाबी गर्ने प्रखर युवा महरले अबको शिक्षालाई नैतिकतामा आधारित मानवताको शिक्षाको पाठ्यक्रम बनाएर तल्लोदेखि माथिल्लो तहसम्मलाई सिकाउनुपर्ने, वैज्ञानिक र जीवनोपयोगी शिक्षामा जोड दिने, हरेक प्रदेशमा सरकारको तर्फबाट मेडिकल कलेजको स्थापना, इन्जिनियरिङ कलेजको स्थापना, कृषि क्याम्पस लगायतका थुप्रै मुद्दा लागू गराउने, नेवि सङ्घको नेतृत्वप्रति सबैको विश्वास जागृत गराउने, कम्तीमा मावि तहसम्म विद्यार्थीलाई राजनीतिक क्रियाकलापबाट मुक्त राख्न पहलकदमी लिने, दुव्र्यशनमुक्त स्कुल कलेज र भ्रष्टाचारमुक्त शैक्षिक प्रशासन निर्माण गर्ने, हरेक दुई वर्षमा नेवि सङ्घको महाधिवेशन सम्पन्न हुने वातावरण निर्माण गर्ने लगायतका आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् ।