प्रतिनिधि विवादले नेवि सङ्घ मधाधिवेशन प्रभावित

प्रतिनिधि विवादले नेवि सङ्घ मधाधिवेशन प्रभावित


NSS

‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नारा उराल्दै नौ वर्षपछि आयोजना भएको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन अस्तव्यस्त हुन पुगेको छ । गत आइतबार महाधिवेशनको उद्घाटन तामझामका साथ सुरु भए पनि बन्द सत्रसम्म आइपुग्दा विवादैविवादको घेरामा परेबाट जेठो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको छविमाथि नै आँच पुगेको महसुस गरिएको छ । महाधिवेशन सम्पन्न गर्न पार्टीले डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको निर्देशक समितिले समेत आवश्यक प्रभावकारिता प्रदर्शन गर्न नसकेको आरोप एकतिर लगाइएको छ भने प्रतिनिधि विवाद चर्किएबाट महाधिवेशन लम्बिन पुगेको छ । मङ्गलबारसम्म पनि बन्द सत्रको टुङ्गो नलाग्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता–कार्यकर्ता निर्वाचन हुने नहुनेमा अन्योलमा छन् ।

समयमै बन्द सत्र हुनुपर्ने माग गर्दै मंगलबार दिनभर महाधिवेशनस्थल भृकुटीमण्डपमा विद्यार्थीहरूले ब्यापक नारावाजी गरेका थिए । उक्त दृश्यले ०६४ सालमा चितवनमा भएको १०औँ महाधिवेशनकै झल्को दिलाएको थियो । त्यतिबेला पनि प्रतिनिधि विवादका कारण अधिवेशन लम्बिएर एक सातामा निर्वाचन भएको थियो ।

यसरी महाधिवेशन नै भद्रगोल बन्न पुगेसँगै सङ्घको नेतृत्व लिन अग्रसर हुने आकाङ्क्षीको चाहिँ भीड नै लागेको छ । हालसम्म अध्यक्षमा नैनसिंह महर, शुभराम बस्नेत, जितजङ बस्नेत, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, कुन्दनराज काफ्ले, क्षितिज भण्डारी, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरेका छन् भने महामन्त्रीमा उर्मिला थपलिया, हिमालदत्त श्रेष्ठलगायतको नाम विशेष चर्चामा छ ।