गोविन्दको मनपरी !

गोविन्दको मनपरी !


akhtiyar

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्नेबित्तिकै मानिसहरू प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सम्झन पुग्छन् । तर, मुलुकको ऊर्जा क्षेत्रका बारेमा अख्तियारले गरेका कारबाहीमा उपसचिवस्तरका अनुसन्धान अधिकृत गोविन्दबहादुर श्रेष्ठले ‘विशेष भूमिका’ निर्वाह गर्दै आइरहेका छन् । आफ्ना अति नजिकका नाता पर्ने विद्युत् व्यवसायी उमेश कसजू र विद्युत् विकास विभागमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर रमेशरत्न स्थापितहरूले ‘दिएको फिडब्याक’लाई आधार मानेर गोविन्दले ‘अनुसन्धान’ गर्ने गरेको समाचार सूत्रको दाबी छ ।

समाचारअनुसार कसजु र स्थापितले कुन आयोजनाको लाइसेन्स खारेज गर्ने, कुन प्रवद्र्धकलाई दु:ख दिने, कुन सचिव र सहसचिव (मन्त्रालयका समेत) लाई अख्तियारमा हाजिर गराएर मानमर्दन गराउने योजना बनाउँछन् र यी दुईले दिएको सूचनाका आधारमा गोविन्दले लाइसेन्स खारेज गर्नुपर्ने निष्कर्षसहित प्रमुख आयुक्तसमक्ष फाइल पेस गर्ने गर्छन् । अख्तियारले कारबाही गरेर ऊर्जा मन्त्रालयमा पठाउने अनि ऊर्जाले अख्तियारको हवाला दिँदै लाइसेन्स खारेज गर्ने रीत गोविन्दहरू सक्रिय भएदेखि सुरु भएको छ । वित्तीय व्यवस्थापन गरेर उत्पादन अनुमतिपत्र लिन ठिक्क परेका आयोजनासमेत गोविन्दको रेटाइमा परेका छन् ।

विभागका सीडीई (हापा) स्थापित अहिले निकै बलवान भएका छन् । उनलाई अघिल्ला ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समेत चलाउन सकेनन् । लाइसेन्सका लागि परेका निवेदन फर्काइदिने, दर्ता नगरिदिने, दर्ता भए पनि तिनलाई उठाएर उपमहानिर्देशककोमा नपुर्‍याउने, सचिव, महानिर्देशकले फाइल उठाउन दिएको निर्देशन पनि पालना नगर्नेजस्ता कृत्य स्थापितले गर्दै आएका छन् ।