नेपाल–जापान सम्बन्धको इतिहास र वर्तमान

नेपाल–जापान सम्बन्धको इतिहास र वर्तमान


सन्दर्भ : नेपाल–जापान सम्बन्धको ६०औँ वर्ष

Arpan Kharel

– अर्पण खरेल

नेपाल जापान कूटनीतिक सम्बन्धको ६० वर्ष पुगेको उपलक्ष्यमा जापानमा यो वर्ष विभिन्न कार्यक्रम भइरहेका छन् । यही क्रममा एनआरएन जापानले नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सहयोगमा अगस्त ६ र ७ मा टोक्यो योयोगी पार्कमा गरेको नेपाल फेस्टिबल विशेष रूपमा सम्पन्न भएको छ । यो वर्ष अघिल्ला वर्षहरूमा भन्दा उल्लेखनीय रूपमा नेपाली र नेपाललाई माया गर्ने जापानीको उपस्थिति रहेको थियो । फेस्टिबलमा नेपाली कला संस्कृति झल्कने विभिन्न सांस्कृतिक बाजागाजासहितको विभिन्न साङ्गीतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । नेपाली विभिन्न स्वादका परिकारका स्टलदेखि लिएर नेपाली हस्तकला, जापानमा रहेका नेपालीले उपभोग गर्ने विविध रेमिट्यान्स सेवा तथा सुविधाका व्यापारिक स्टलहरू पनि फेस्टिबलमा राखिएको थियो ।

हिजोआज जापानमा नेपालीको आकर्षण दिनहुँ बढ्दो छ हाल करिब करिब ५०–६० हजारको सङ्ख्यामा नेपाली जापानमा रहेको अनुमान गरिन्छ । नेपाल–जापान सम्बन्धको इतिहासलाई फर्केर हेर्दा सन् १९५६ सेप्टेम्बर १ मा दुइ देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि विभिन्न क्षेत्रमा सम्बन्ध र सम्पर्क विस्तार हुँदै गएको पाइन्छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएपछि दिल्लीमा रहेका नेपाली राजदूत दमनशमशेर राणालाई जापानका लागि पनि राजदूतको भूमिका दिइएको थियो पछि सन् १९६५ जुलाईमा टोक्योमा राजदूतावास खुलेपछि श्री भरतराज राजभण्डारीले पहिलो राजदूतको रूपमा औपचारिक नियुक्ति लिएका थिए त्यसपछि काठमाडौंमा सन् १९६८ फेब्रुअरीमा राजदूतावास खुलेपछि त झन् सम्बन्धको नयाँ आयाम थप हँुदै गएको थियो । कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अघिको नेपाल–जापानबीचको सम्बन्धको इतिहास पनि कम रोचक छैन ।

सन् १८९९ मा जापानी भिक्षु इकाइ कावागुची तिब्बती बौद्ध धर्म अध्ययनको सिलसिलामा तिब्बत जाने क्रममा नेपाल हुँदै आएका थिए । पटकपटक गरेर उनी चारपटक नेपाल आएका थिए । उनले त्यो यात्राको वर्णन आफ्नो पुस्तक ‘थ्री इयर्स इन तिब्बत’मा उल्लेख गरेका छन् । बुद्धको जन्मस्थान वरिपरि लुम्बिनीमा त्यतिबेला हुने पशुबलिलाई भिक्षु कावागुचीको अनुरोधमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले हटाउन लगाएका थिए । उनले त्यतिबेला भिक्षुलाई सम्मान र सहयोग पनि गरेका थिए । नेपाल भ्रमण गर्ने पहिलो जापानीको रूपमा पछि नेपाल सरकारले सन् २००३ मा उनको तस्बिरअङ्कित हुलाक टिकट जारी गरी स्मरण गरेको थियो ।

जापानी भिक्षु इकाई कावागुचीको भ्रमणको केही वर्षपछि राणा प्रधानमन्त्री देवशमशेर राणाले आठ जना विद्यार्थीलाई अध्ययनका लागि जापान पठाउने निर्णय गरेका थिए । तर, उनको छोटो कार्यकालमा यो प्रक्रिया पूरा हुन नसकेपछि उनीपछिका प्रधानमन्त्री चन्द्रशमशेर राणाले सन् १९०२ अप्रिलमा नेपाली विद्यार्थीलाई जापान पठाएको इतिहास पाइन्छ । उनीहरू ‘थोमस कुक’ पानीजहाजमा बम्बईबाट विभिन्न देशका सामूद्रिक मार्ग हुँदै अठारजना सहयोगीको जम्बो टोली साथ लिएर १९०२ जुन १७ मा जापानको योकोहामा प्रवेश गरेका थिए ।

जापानी भिक्षु इकाई कावागुचीको भ्रमणको केही वर्षपछि राणा प्रधानमन्त्री देवशमशेर राणाले आठ जना विद्यार्थीलाई अध्ययनका लागि जापान पठाउने निर्णय गरेका थिए । तर, उनको छोटो कार्यकालमा यो प्रक्रिया पूरा हुन नसकेपछि उनीपछिका प्रधानमन्त्री चन्द्रशमशेर राणाले सन् १९०२ अप्रिलमा नेपाली विद्यार्थीलाई जापान पठाएको इतिहास पाइन्छ । उनीहरू ‘थोमस कुक’ पानीजहाजमा बम्बईबाट विभिन्न देशका सामूद्रिक मार्ग हुँदै अठारजना सहयोगीको जम्बो टोली साथ लिएर १९०२ जुन १७ मा जापानको योकोहामा प्रवेश गरेका थिए । जापानमा अध्ययन सकेपछि उनीहरूले कृषि तथा औद्योगिक क्षेत्रमा त्यतिबेला धेरै राम्रा कामहरू गरेका उदाहरण पाइन्छ ।

स्वतन्त्र रूपमा बिस्तार हुँदै गएको नेपाल जापानको सम्बन्धले कूटनीतिक सम्बन्ध स्थापनापछि भने औपचारिक मान्यता पाएको थियो । यसरी विभिन्न चरणहरू पार गर्दै सम्बन्ध गाँसिँदै आएको दुई देशबीचको जनस्तरको सम्बन्ध पनि थप मैत्रीपूर्ण हँुदै आएको छ । २१औँ शताब्दीमा आर्थिक विज्ञान र प्रविधिको क्षेत्रमा गुणात्मक फड्को मार्दै गइरहेको जापान नेपाललाई सहयोग गर्ने प्रमुख दातृ राष्ट्रमा पर्छ । नेपालको आर्थिक, विज्ञान र प्राविधिक क्षेत्रमा जापानको महत्त्वपूर्ण सहयोग धेरै पहिलादेखि रहँदै आएको छ । गत वर्ष गएको विनाशकारी महाभूकम्पमा जापान सरकारबाट पाएको ठूलो मानवीय सहयोगले झन् जनस्तरमा दुई देशका जनताबीच भावनात्मक सम्बन्ध पनि मजबुत भएको छ ।

शान्त, भावनात्मक, सहयोगी, कडा परिश्रम गर्ने मिहिनेती, स्वभावका जापानीहरू भगवान् बुद्धको देश नेपाललाई धेरै माया गर्छन् । नेपालको संस्कृति यहाँका हिमाल, डाँडा, ताल–तलैयाको चर्चा गर्न मन पराउने जापानीहरूप्रति हामी नेपालीले गौरव गर्नुपर्छ । प्रत्येक वर्ष गुणात्मक तरिकाले जापानमा बढ्दै गएका नेपालीको काँधमा नेपाललाई माया गर्ने जापानी समाजको विश्वास कायम राख्नु दायित्व र एकप्रकारको चुनौती दुवै रहेको छ । एनआरएन जापानलगायत यहाँस्थित विभिन्न सङ्घसंस्थाहरूले नेपाली समुदाय र जापानी समुदायबीच एकप्रकारको पुलको काम गर्ने कोसिस गरिरहेका छन् । एनआरएन जापानको आयोजनामा भएको यसपटकको विशेष नेपाल महोत्सव र अन्य सङ्घसंस्थाहरूले पनि बेलाबेलामा गरिरहने अन्य यस्तै प्रकारका विभिन्न कार्यक्रमले नेपाल जापानबीचको जनस्तरको सम्बन्धलाई अगाडि बढाउन मद्दत गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।