– जेबी खत्री

साँझको बेला
हतार–हतार
ऊ करेसाबारीबाट
एक मुठी लुँडेको साग
हातमा लिएर निस्किई,
यताउता पल्याकपुलुक हेर्दै
र ल्याएर राखी भान्सामा ।
घामको रातो डल्लो
क्षितिजमा झुन्डिरहेको थियो ।
हावाले भरिएर फुट्नै
लागेको बेलुनजस्तो
ऊ मनमनै सोच्छे,
बेलुकालाई त जिनतिन
सिलोसाङ्लो तरकारी जुट्यो ।
अब त्यसलाई नुन छैन ।
भुटुन पनि छैन ।
अँध्यारोले झ्याप्पै छोप्यो
लोडसेडिङ छ बत्ती छैन ।
टुकी पनि पर्तिर कुनामा
लडिराखेको छ, तेल सकिएर ।
दिउँसैदेखि नानीका लुगा
भिजाएर धुन राखिएको छ बाटामा
साबुन नभएर त्यत्तिकै छन् ।
भोलि स्कुल जाने लुगा
एक थोक ल्यायो
अर्को थोक छैन ।
चोली फाटेको छ ।
खुट्टामा चप्पल छैनन् ।
कसलाई सुनाउनु
आफ्नो कथा
आफ्नो व्यथा
सुनिदिने कोही छैन उसको
आफूदेखि बाहेक ।
छ त अभावको एउटा
अँध्यारो रात छ ।
उसका अगाडि
केवल अँध्यारो रात
तैपनि उसमा एउटा
आशा र भरोसा भने
मरेको छैन ।
भोलि त बिहान हुन्छ
उज्यालो हुन्छ
भन्ने कुराको ।
प्रतिक्रिया