
नेपाली साहित्य–धरामा एक अद्वितीय कृतिको पदार्पण भएको छ । १९ विशिष्ट कथाको सङ्ग्रह बनेर ‘ऐना’का रूपमा आएको कृतिका सर्जक युवा साहित्यकर्मी रामलाल जोशी हुन् । ०५७ सालमा ‘हत्केलामा आकाश’ गजलसङ्ग्रह लिएर साहित्यिक संसारमा प्रकट भएका जोशी सोह्र वर्षपछि कथासङ्ग्रह ‘ऐना’का साथ देखापरेका छन् ।
‘ऐना’मा समाविष्ट १९ कथाका १९ वटै विशिष्टता रहेको महसुस पाठकले गर्दछन् । हरेक कथा यति जीवन्त छन् कि पढिरहँदा पढेको नभई सिनेमा हेरेको अनुभूति हुन्छ । कथाका पात्र र परिवेशमा बनावटीपन या कृत्रिमताको किञ्चित भान हुँदैन । खेल, रङ्गमञ्च, नायक, पर्दा, पापीघाट, मध्यान्तर, तस्बिर, सेतीको सुस्केरा, कालीको गीत, एउटा भोकको अन्त्य, भर्जिन कथा, मुक्ति यथार्थ भ्रम, श्रीमान् वीरबहादुर, श्रीमती जुगुनीदेवी, साइबर सेक्स, दियो जलिरहेछ, खुटियाको काख र समाप्ति शीर्षकका कथाका पात्र र परिवेश पहाड र तराईको सामाजिक जीवनअनुरूप चित्रित छन् । कथाकारले तराई र पहाडको जनजीवनलाई बराबरी गहिराइमा बुझेका छन् भन्ने झलक कथामा पाइन्छ । मानवीय संवेदना, सामाजिक बेथिति, यौनिक चाहना र मादकता, गरिबीको पीडा, नारी मनोविज्ञान र तिनका व्यथालाई जोशीले आफ्नो कथामा यसरी उनेका छन् कि यी कुनै कथा नभएर सजीव वर्णन हुन् नेपाली समाजको जस्तो लाग्छ । अधिकांश कथा पढ्दै गर्दा पाठक हृदयमा यसरी बिझ्छन् आँखा रसाएको आफैँलाई थाहा हुन्न ।
केही कथाको कतिपय सन्दर्भमा भक्कानो फुट्छ र आफैँलाई सम्हालेर मात्र पुन: पढ्न सकिन्छ । कुनै समय गुरुप्रसाद मैनालीले करिब एक दर्जन कथाकृति दिएर नेपाली साहित्यलाई जसरी अभेद्य गुन लगाएका थिए, ठीक त्यहीस्तरको गुन रामलाल जोशीले पनि ‘ऐना’मार्फत लगाएका छन् । कथालाई सजीव र प्राकृतिक तुल्याउने उद्देश्यले हुनसक्छ नेपाली समाजमा प्राय: प्रयोग हुने भद्दा र अश्लील शब्दहरू पनि जोशीले बिनाहिचकिचाहट प्रयोग गरेका छन् । कतिपय स्थानमा प्रयुक्त व्यहोराको विकल्प खोजिएको भए हुन्थ्यो भन्ने सचेत मनलाई लाग्छ, तर ती अस्वाभाविक या असान्दर्भिकचाहिँ छैनन् ।
‘पर्दा’ शीर्षकको कथामा रामलालले तराईको सामाजिक परिवेशलाई जीवन्त उतारेका छन् । त्यहाँका जमिनदारहरूको मनोविज्ञान, तिनको जीवनशैली, सोच, समाजमा महिलाले भोग्नुपरेको पीडाका साथमा मानिसको यौनचाहना कसरी प्रकट हुनसक्छ भन्ने सटिक चित्रण उनले यस कथामा गरेका छन् । ‘पापीघाट’मा उनले एक किशोर यौनमा प्रवेश गर्दैगर्दा उत्पन्न हुने ‘राग’को वर्णन निकै रोमाञ्चक र मार्मिक ढङ्गले गरेका छन् । ‘भर्जिन कथामा’ रामलालले एक देहव्यापारी महिलासमक्ष उभिएर त्यहाँको जस्तो चित्रण गरेका छन् त्यसले हामी बाँचेको धर्तीका सबै मूल्य, मान्यता र मान–सम्मान अपहरित भएको महसुस गराउँछ, ‘तस्बिर’ शीर्षकको कथाले एउटी एकल महिलाको अवस्था र मनोविज्ञान झल्काइरहँदा आँखामा आँसु रोक्न सक्ने पाठक सायदै हुनसक्ला ।
समग्रमा यस ग्रन्थमा समेटिएका सबै कथा उच्चकोटिका छन् । कथाको बहुआयामिक विवेचना गर्दै जाने हो भने अर्को एउटा पुस्तक बन्ने गुण–तत्त्व ‘ऐना’मा छ । यही कृतिले रामलाल जोशीलाई पनि नेपाली साहित्याकाशमा अमर बनाउने विश्वास गर्न सकिन्छ, त्यसनिम्ति आमनेपालीको बधाई र शुभकामनाको पात्र बनेका छन् रामलाल । ब्रदर बुक्स प्रकाशन प्रा.लि. काठमाडौंले प्रकाशन गरेको उक्त कथासङ्ग्रह २५७ पृष्ठको छ । ‘प्रिय पृथ्वीलाई’ समर्पण गरिएको कृतिको मूल्य रु. ३३३।– मात्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया