प्रहरी प्रशासनले हेलचेक्य्राईं गरेका कारण जेलमा हुनुपर्ने व्यक्ति यतिबेला ‘म्यानपावर’ कम्पनीको मालिक बनि राजधानीमा मस्ति गरिरहेका छन् । एक विवाहिता नेपाली महिलालाई भारतको मुम्वइबाट बाह्र हजार रियालमा बिक्री गरी साउदी अरब पुर्याउने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउन पहल नगरिएपछि यस्तो अवस्था आएको हो । प्राप्त जानकारीअनुसार कञ्चनपुर जिल्ला रैकवार विचवा गाविसकी सीतादेवी (नाम परिवर्तन) लाई २०६५ साल फागुन २२ गते सुनिल भनिने टङ्कप्रसाद जोशी, केशव पडाल, श्रीमती पार्वती पडाल, केशवका दाई गणेश पडाल र टङ्कप्रसादका बाबु नन्दराज जोशी समेतको मिलेमतोमा मुम्बइबाट साउदी अरबका एक व्यक्तिलाई बिक्री गरेका थिए । आफ्नी छोरीबाट जन्म भएका नातिको न्वारानको अवसरमा मुम्बइ पुगेकी सीतालाई टङ्कप्रसाद सहित निजको गिरोहले ललाइ फकाइ साउदी अरब पुर्याएका थिए । सीतादेवीले आफू बेचिएको जानकारी साउदी अरब पुगेपछि मात्र पाएकी थिइन् ।
आफ्नी पत्नि अचानक हराएपछि टङ्कप्रसाद जोशीलगायतका विरुद्ध पति जोगराज भट्टले कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिँदा सुरुमा प्रहरीले पीडितको निवेदन दर्ता गराउन मानेको थिएन । तर पछि तत्कालिक गृहमन्त्री भीम रावलबाट तोक आदेश भएपछि मात्र प्रहरीले जाहेरी दर्ता गरेको थियो । तर त्यसपछि पनि अभियोगीहरूको खोजि गरी पक्राउ गर्न प्रहरीले खासै चासो नलिएको बताइन्छ । पछि कैलाली जिल्ला अदालतमा अभियुक्तहरूविरुद्ध मुद्दा चल्यो र कैलाली जिल्ला अदालतले टङ्कप्रसाद जोशी, केशव पडाल र पार्वती पडाललाई तीन–तीन वर्ष कैद गर्नुपर्ने सजाय पनि सुनायो । यसरी अदालतबाट फैसला भएपछि पनि अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरीले कुनै चासो नदेखाएको पीडितको दावि छ । जिल्ला अदालतले अभियुक्तहरूलाई कम सजाय दिएको भन्दै पीडित जोगराज भट्ट पुनरावेदन अदालत डोटीमा पुनरावेदन गर्न पुगे । उता अभियुक्तहरू पनि पुनरावेदनको लागि सोही अदालतमा पुगेका रहेछन् ।
भारतमा मजदुरी गर्दै रहेका जोगराजको विश्वासमा त्यसबेला गहिरो ठेस लाग्यो जब पुनरावेदन अदालत डोटीका न्यायाधिशद्वय रेवन्तबहादुर कुँवर र भानुभक्त शर्मा न्यौपानेको संयुक्त इजलाशले टङ्कप्रसाद जोशी सहित तीनै जनालाई ‘निर्दोषिताको प्रमाणपत्र’ दियो । गलत धन्दा गरेर भए पनि धनाढ्य बनेका टङ्कप्रसाद जोशी लगायतले कैद बस्नै नपर्ने फैसला न्यायाधिशद्वयले गरेपछि जोगराज अदालत परिसरमै छात्ति पिटिपिटी रुन थाले । त्यसपछि सरकारी वकिल दशरथ गौतमले जोगराजलाई सान्त्वना दिँदै सर्वोच्च अदालतबाट न्याय मिल्ने बताएका थिए । तर ती सरकारी वकील पनि बिकिसकेको जाकारी जोगराजले पाउन सकेनन् । २०७१ सालमा पुनरावेदन अदालत डोटीको फैसाल विरुद्ध सर्वोच्चमा परेको मुद्दामा कस्तो फैसला भयो भनी बुझ्नका लागि गत वर्ष भारतबाट काठमाडौं आएका जोगराजले सर्वोच्चमा यस विषयको मुद्दा नै नपरेको थाहा पाए । त्यसपछि महिला आयोग र श्रम विभागमा पीडित सीतादेवीले टङ्कप्रसाद समेतका विरुद्ध उजुरी दिइन् । उजुरी पश्चात सत्य तथ्य बुझेर दुबै निकायले छुट्टाछुट्टै पत्र लेखि अभियोगीहरूलाई पक्राउ गर्न आग्रह गर्यो ।
गत वैशाख २६ गते महिला आयोगले प्रहरी प्रधान कार्यालय नक्साल र जिल्ला प्रशासन कार्यालय कैलालीलाई बोधार्थ दिइ जिल्ला प्रहरी कार्यालय कैलाली धनगढीलाई ‘मानिस पक्राउ गरी आवश्यक कारवाही गर्नुहुन’ भन्दै पत्र लेख्यो । वैदेशिक रोजगार विभागले पनि गत असार २७ गते यस्तै व्यहोराको पत्रलेखि अभियुक्तहरूलाई पक्राउ गरिदिन आग्रह गर्यो । तर अहिलेसमम कुनै अभियोगीलाई प्रहरीले पक्राउ गरेको छैन । बरु अभियुक्त टङ्कप्रसाद जोशीले सहारा इण्टरनेशनल नामक म्यानपावर कम्पनी काठमाडौंको गौशालामा खोलेको र निजले मुम्वइमा समेत कम्पनीको शाखा सञ्चालन गरेर बसेको पाइयो । घटना र विचारले अभियुक्त जोशीले प्रयोग गर्ने मोवाइल नम्बर ९८०८७९००४ र ९८१८३२७५१७ मा सम्पर्क गर्दा दुबै फोनहरू स्वीचअफ गरिएकोले जोशीसँग संवाद हुन सकेन ।
अनेकौं प्रयत्न गरेर जोगराजले आफ्नी पत्नि सीतादेवीलाई साउदी अरबबाट फिर्ता ल्याएका त छन्, तर अभियुक्तहरूलाई कुनै कानुनी कारवाही नभएबाट उनी निराश बनेका छन् । भारतदेखि काठमाडौं आएर जोगराज राजधानीको गल्लीगल्लीमा न्यायको खोजिमा भौतारिएका छन्, तर उनलाई न्याय दिने कसले ?

प्रतिक्रिया