प्रधानमन्त्री छनोटका सवालमा …..

प्रधानमन्त्री छनोटका सवालमा …..


प्रधानमन्त्री छनोटका सवालमा एमालेको ‘तटस्थ’ नीति काङ्ग्रेसलाई धोका हो –
w रक्षिता कार्की
सहमतिको खोजी भइरहेको भनिएको सर्न्दर्भमा कसैले कसैलाई धोका दिएको भन्ने कुरा एकप्रकारले अप्रासङ्गिक ठानिएला, तर प्रधानमन्त्री छनोट प्रकरणले एमालेको बैगुनी चरित्र उदाङ्ग गरेको छ । हिजो आँखा चिम्लेर काङ्ग्रेसले उसलाई सहयोग पुर्‍याएको यति चाँडै भुल्न मिल्दैनथ्यो । माओवादीप्रति दोहोरो चरित्र अपनाएर एमाले संस्थापन पक्षले आफ्नै राजनीतिक धरातल कमजोर त गरेकै छ साथसाथै काङ्ग्रेसमाथि पनि बज्र प्रहार गरेको छ । एमालेले सहयोगी भूमिकाका साथ नयाँ प्रधानमन्त्री चयन कार्यमा उदारता देखाएको भए मधेसवादी दलहरूको समर्थन पनि सजिलै मिल्ने थियो र नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल यतिबेला प्रधानमन्त्री निर्वाचित भइसक्ने थिए । यर्सथमा एमालेको कथित तटस्थ नीतिलाई काङ्ग्रेसप्रतिको धोका नै हो भन्ने ठान्न सकिन्छ ।

w ऋषिनाथ त्रिपाठी
मेरो विचारमा एमालेको यतिखेरको तटस्थता काङ्ग्रेसलाई मात्र नभई देशप्रति नै ठूलो धोका हो । आफ्नै पार्टीनेतृत्वको बहुमतको सरकारलाई राजीनामा दिन बाध्य तुल्याउने कार्यमा एमालेकै जिम्मेवार नेताहरूको पनि महत्वपूर्ण हात रहेको त जगजाहेर नै छ । यसरी मुलुकलाई सरकारविहीनताको अवस्थामा पुर्‍याएर मात्र चित्त नबुझी एमाले अध्यक्ष स्वयम् नयाँ सरकार पनि बन्ने नदिने प्रतिगमनकारी खेलमा संलग्न हुन पुगेका छन् । यो अत्यन्त विडम्बनाको कुरा हो । यदि माधव नेपाललाई हटाएर आफैं प्रधानमन्त्री बन्ने लालसा थियो भने प्रस्टसँग पार्टी बैठकमै कुरा राखेको भए पनि त हुन्थ्यो नि उनले, किन यसरी घुमाउरो र जालेमाले बाटो अपनाउनुपथ्र्यो – यसरी एमाले पार्टीले देशमाथि नै घात गरेको छ, संविधान समयमा बन्न नदिने खेलमा ऊ जानाजान मतियार बन्न पुगेको छ ।

w भवनाथ आचार्य
माधव नेपाललाई प्रधानमन्त्री बन्न सघाउँदा काङ्ग्रेसले एमालेसँग ‘भविष्यमा हामीलाई पनि सहयोग गर है’ भनेर वचनबद्ध त तुल्याएको थिएन, तर प्रधानमन्त्री चयनका लागि यतिबेला मतदान प्रक्रियामा भाग नलिएर एमाले पार्टीले काङ्ग्रेसलाई धोका दिएकै हो भन्दा आक्षेप ठहरिन सक्दैन । किनकि, राजनीतिमा को सहयोगी, को हितैषी, को परचक्री, को कतिबेला कुन रूपमा मद्दतगार सावित हुनसक्छ भन्नेजस्ता कुराको गम्भीर हेक्का राख्नुपर्ने हुन्छ र यस्ता सवालमा पहिले नै विचार पुर्‍याएर सही निर्णय गर्न सक्ने दलले देशका लागि पनि राम्रो काम गर्न सक्छ । एमाले यसमा फेल भएको छ । नामको कम्युनिस्ट भए पनि व्यवहारले एमाले प्रजातान्त्रिक बन्न थालेको महसुस गरिँदै आएको सर्न्दर्भमा यस्ता केटाकेटी व्यवहारले भविष्यसम्म ऊ स्वयम्लाई धक्का दिनेछ ।

w सौरभ प्रधान
नेपाली राजनीतिमा राष्ट्रिय सहमति आजको अपरिहार्यता हो । यही आवश्यकताबोध गरेर एमालेले सहमतिको सरकारको पक्षमा वकालत गर्दै आएको बुझिन्छ । यसरी सहमतिको कुरा गर्नु सिद्धान्तत: राम्रो हो तर व्यावहारिक पाटोलाई पनि ध्यान दिनुपर्ने हुन्छ । कसैगर्दा पनि सहमति जुट्न नसकिरहेको वर्तमान परिवेशमा देशलाई सरकारविहीनताको अवस्थाबाट मुक्त पार्न पनि एमालेको अहम् भूमिका हुन्छ । यो यथार्थ एमाले संस्थापन पक्षले महसुस गर्न नसकिरहेको हो कि भन्ने अनुभूति हुन्छ । सहमति नभए पनि बहुमतको सरकार निर्माण गर्न एमालेले ठोस पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

w पुरण बोहरा
एमालेको तटस्थ नीति एक त झलनाथ आफैं प्रधानमन्त्री बन्न नसक्नुको पीडाको एक रूप हो भने अर्को दृष्टिकोणमा यो लोकतान्त्रिक आन्दोलनको सहयात्री नेपाली काङ्ग्रेसमाथि गम्भीर घात पनि हो । एमालेले यस्तो नीति अख्तियार गर्नु हुँदैनथ्यो । देशलाई यसरी अनिर्णयको बन्दी बनाएर एमालेले के उपलब्धि हासिल गर्छ कुन्नि – यदि एमाले आफूलाई मुलुकको जिम्मेवार राजनीतिक दल दाबी गर्छ र भविष्यमा सत्ताको वागडोर हातमा लिने उद्देश्य राख्छ भने आफ्नो निर्णयमा पुनरि्वचार गरी समस्या निकासको मार्ग अवलम्बन गर्न ढिलाइ नगरोस् भन्ने सुझाव दिन चाहन्छु ।

w अर्पिता श्रेष्ठ
एकातिरबाट हेर्दा प्रधानमन्त्रीको निर्वाचनमा मतदानमा सरिक नभएर एमालेले काङ्ग्रेसलाई धोका दिएझैं देखिन्छ भने अर्कोतिर काङ्ग्रेसले पनि एमालेलगायतका दलहरूको विश्वास जित्न नसकेको बुझ्नुपर्ने हुन्छ । राजनीति यस्तो प्रपञ्च हो जहाँ को कतिबेला नजिक र टाढा हुनपुग्छ भन्ने कुराको कुनै ग्यारेन्टी नै रहन्न । जसले सक्यो बाजी मार्‍यो गर्ने खेल हो यो । हिजो मैले दिएको थिएँ आज उसले पैंचो बुझाउनुपर्छ भन्ने तर्क यहाँ चल्दैन । एमाले र काङ्ग्रेसबीचको समस्या पनि यही हो जस्तो लाग्छ मलाई । यसरी हेर्दा एमालेले धोका दियो भन्नुभन्दा पनि अप्ठ्यारोमा पार्‍यो मात्र भन्ने कि –