राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान


Sport 1

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न सात खेलका उत्ति नै खेलाडी, दुई प्रशिक्षक र एक राष्ट्रिय खेल सङ्घसहित १० लाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरिएको छ । सातमा चार खेलाडी १२औँ दक्षिण एसियाली खेलकुद (साग)का पदकविजेता रहेका छन् ।

सम्मानित हुने खेलाडीमा उसुकी निमा घर्तीमगर, जुडोकी फुपुल्हामु खत्री, फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, एथलेटिक्सकी विपना परियार, पौडीकी गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावल रहेका छन् । निमा र फुपुले १२औँ सागमा स्वर्ण जितेका थिए । १२औँ सागमा २३ वर्षपछि नेपालले फुबटलमा स्वर्ण जित्दा टोलीका सदस्य नवयुगले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन्दीपले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए भने विपनाले गत जेठमा राजधानीमा भएको आठौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा दुई विद्यालयस्तरीय कीर्तिमानसहित चार स्वर्ण जितेकी थिइन् ।

रियो ओलम्पिक– २०१६ कै कान्छी खेलाडी गौरिकाले एक रजत र तीन कांस्य जित्दै सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो खेलाडी बन्न सफल भएकी थिइन् । निशा ‘वाइल्ड कार्ड’मार्फत रियो ओलम्पिकका लागि छनोट भएकी खेलाडी हुन् । पारा खेलकुदको प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन गर्दै आएका पारा खेलकुद प्रशिक्षक कुमार पौडेल र १२औँ सागमा सहभागी नेपाली खोखो टिमका मुख्य प्रशिक्षक रामनारायण राय पनि सम्मानित भए । उत्कृष्ट खेल सङ्घका रूपमा नेपाल ट्रायथलन सङ्घ पुरस्कृत भएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी र खेलकुदमन्त्री दलजित श्रीपालीले सम्मानित सबैलाई सम्मानपत्रका साथै जनही एक लाख रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रममा गौरिका, फुपु र सन्दीप उपस्थित थिएनन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक र सामाजिक विकासका लागि युवाहरूलाई परिचालित गर्नुपर्नेमा जोड दिँदै गत वर्षको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा पनि युवाहरूको सशक्त पहलकदमी र परिचालन त्यत्तिकै खाँचो रहेको बताइन् ।

सोही कार्यक्रममा विभिन्न १० विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान पनि प्रदान गरिएको थियो । उक्त १० विधामा सम्मानित हुनेले पनि जनही एक लाख र सम्मानपत्र पाएका थिए । स्वयम्सेवा र समाजसेवामा धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिमा पैँचो पसल प्रा.लि., गुल्मी, वातावरण, सरसफाइ तथा स्वयम्सेवामा डा. राजु अधिकारी, चित्रकला र सङ्गीतमा दुवै हात र खुट्टा नचल्ने अमिर लामा, कला र सङ्गीतमा गायक शिव परियार, कृषि (फलफूल) मा लोचन बस्नेत, चेलिबेटी बेचबिखन नियन्त्रणमा माइती नेपालीकी फूलमाया तामाङ, कृषि (पशुपालन) मा दीपक तिमिल्सिना, कला र संस्कृतिमा कालो पोथी चलचित्रका निर्देशक मीनबहादुर भाम तथा वैज्ञानिक खोज अनुसन्धानमा डा. सुमन सत्याल पुरस्कृत भए ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको ५४औँ साधारणसभाले युवाको सवाललाई सम्बोधन गर्ने उद्देश्यले हरेक वर्षको अगस्ट १२ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।