रत्नमन्दिरका आत्मीय पाहुना

रत्नमन्दिरका आत्मीय पाहुना


SN Karki

– स्वयम्भूनाथ कार्की

कसै गर्दा पनि सहकार्य नहुने भएपछि राजाले प्रस्ट रूपमा भने, ‘त्यसो भए त विश्वेश्वर बाबु, तपार्इं र ममध्ये एकजना रहनुपर्‍यो । या त तपाईं चलाउनुस् म छेउ लागिदिन्छु । या तपार्इं छोडिदिनुस् म चलाउँछु ।’ यसको उत्तरमा बीपीले भने, ‘त्यो पनि मलाई मञ्जुर छैन ।’ शायद बीपीलाई लागेको थियो होला यो अवस्थामा राजासँग मैले जे भन्यो त्यो गर्नबाहेक अन्य विकल्प छैन । सत्र सालको कदम चाल्ने बेलामा राजाले अन्तिमपटक दिएको यो चेतावनीलाई बीपीले कसरी बुझेनन् त्यो अनौठोलाग्दो विषय छ । यसबाहेक विभिन्न व्यक्तिहरूले बीपीलाई राजाले केही गर्छन् भनेर भनेका पनि थिए– अब राजाले केही कदम लिन्छन् भन्ने हल्ला पनि व्यापक थियो । तर, आफ्नो अन्तर्राष्ट्रिय ख्यातिले बीपी ढुक्क थिए राजाले यस्तो कुनै हिम्मत गर्ने छैनन् । यो नै उनको गलत बुझाइ भयो, आठ वर्ष कारावासपछिको अर्को आठ वर्ष उनले स्वनिर्वासनमा बिताउनुपर्‍यो ।

‘मेरो एउटा सानो घर बनेको छ, फेवातालको किनारामा । त्यहाँ तपार्इं जानुपर्‍यो, मसँगै बस्नुपर्छ अलिक दिन मेरो पाहुना भएर भनेर राजाले भने ।’ राजाको यो निम्तो बीपीदम्पतीलाई थियो । परिच्छेद ४७ को आधाभन्दा धेरै भाग बीपीले रत्नमन्दिरको आफ्नो अनुभवको वर्णन गर्न खर्च गरेका छन् । राजारानीले देखाएको यो आत्मीयता नक्कली पटक्कै थिएन, बरु यो त बीपीसँग घनिष्टता बढाउन गरिएको एक इमानदार प्रयास थियो । पोखरा एयरपोर्टमा बीपीलाई लिन राजाको मिलिटरी सेक्रेटरी पुगेका थिए । बंग्लामा पुग्दा पोर्टिकोमा राजारानी उनको स्वागतमा खडा थिए । बीपी प्रधानमन्त्री पनि भएका थिएनन्, तैपनि बीपीको विद्वता र व्यक्तित्वप्रति राजदम्पतीको यो सम्मान थियो । बीपी एक्लै पुगेको देखेर रानी गुनासो गर्छिन्, ‘खोइ त, सुशीलाजी आउनुभएन छ । हामीलाई थाहा थियो ।’

दक्षिण भारतबाट बेतको पलङ, कुर्सी र ड्रेसिङ टेबुलहरू ल्याइएको थियो । एक पाहुनाको निमित्त जति आवश्यक हुन्छ त्यति कुराको सादा तर भव्य प्रबन्ध रानीेबाट भएको थियो । बीपीलाई उनी बस्न तयार गरिएको कोठा स्वयम् महारानी रत्नले नै देखाइन् । त्यस रत्नमन्दिरमा राजा महेन्द्र बीपीलाई भन्छन्, ‘मेरो निजी पाहुना तपाईं मात्रै हो, मेरो कोही निजी पाहुना भएनन् ।’ यो निजी पाहुनालाई खाना बडामहारानी आफ्नै हातले बनाउँछिन्, पिर्कामा बसेर एउटा मध्यमवर्गकी स्वास्नीमान्छेले जस्तो साधारण खास्टो ओडेर तरकारी केलाउने, काट्ने गरेको बीपी आपैँm भान्सामा पसेर हेर्छन् । बीपीलाई देखेर उनी भन्छिन्, ‘तपाईंलाई कस्तो कुरा मीठो लाग्छ ?’ महेन्द्रलाई बीपी फर्माइस गर्छन्, ‘सरकारले सङ्गीतको ट्रेनिङ पनि लिनुभएको छ, एकछिन गाना पनि सुन्न मन लागेको छ ।’ त्यो फर्माइस पूरा गरिदिन्छन्, माथिल्लो तलामा सङ्गीतका सामानहरू भएको कोठामा लगेर, महारानीले सर्भ गरेको ड्रिङ्कसँगै, मात्र दुईजना बसेर ।

रत्नमन्दिरमा महेन्द्रले आफ्नो बाल्यकालको एकांकीपनमा आसपास आउनेबाट आफूले केही सिक्न प्रयत्न गरेर अलिअलि सिकेको कुरा सबै कुनै पर्दा नराखी बीपीसँग खोल्छन् । बीपीले कामु, सात्र्र पढ्ने कुरा गर्दा महेन्द्र भन्छन्, ‘अहँ, मैले कामु पढेको छैन । सात्र्र पढेको छैन । र, मैले अलिकति हिन्दीका साधारण किताबहरू हेरेको छु । त्यसो हुनाले मैले पढ्ने मौका कहाँ पाएँ र ?’ हुन पनि हो, राणाहरूको बन्दीजस्तो प्रबन्धमा बसेको युवराजलाई पिँजडाको सुगालाई जस्तो नियन्त्रित कुराहरूबाहेक अरू कुरा पनि सिक्न दिए राणाहरूको शासनलाई हानि हुने थियो । बीपीले त भारतमा निर्वासित जीवनमा थुप्रै पढ्ने परिस्थिति पाएका थिए, राजनीतिक क्रियाकलापमा संलग्न थिए । विश्व समाजवादी आन्दोलनका मुख्य मान्छेहरूमध्ये एक थिए । उनको यो योग्यताको सामुन्ने महेन्द्रको सिक्ने, जान्ने प्रबल इच्छा भएर पनि राणाहरूको नियन्त्रणमा बिताएको जीवनमा सिकेका कुराहरू सामान्य कुराबाहेक केही थिएन ।

BP koirala & King Mahendra

रत्नमन्दिरको यो बसाइ त राजाको बीपीसँग पारिवारिक मित्रता जोड्ने र सँगै मिलेर काम गर्ने वातावरण तयार गर्ने एक असफल प्रयत्न मात्र थियो । तर, बीपी हमेसा राजाबाट सशङ्कित भइरहे । उनका अवचेतन मनले राजासँगभन्दा ज्यादा नेहरूसँग खुल्न प्रेरित गरिरह्यो । यो कुराको प्रमाण किताबभरि छरपष्ट देखिएका छन् । रत्नमन्दिरको त्यो बसाइमा राजदम्पतीको व्यवहारबारे बीपी भन्छन्, ‘कोही भन्छन् त्यो देखावा हो । मलाई लाग्दैन त्यो देखावा थियो । किनभने मैले राजाको मनस्थिति बुझेको थिएँ ।’ राजाले आफूसँग गरेका निजी कुरा, आफ्ना कमजोरीका कुराहरू अरू कसैसँग पनि गरे होलान् जस्तो बीपीलाई लागेको थिएन । आफ्नो र राजाको यस्तो अन्तरङ्ग सम्बन्ध हुँदा पनि बीपीले त्यसबीचमा कुनै तत्त्वले त्यो सम्बन्ध बिगारेको हुन सक्ने शङ्का व्यक्त गरेका छन् ।

अझ आफ्नो अन्तर्राष्ट्रिय मान्यता बढेकोमा राजालाई डर लागेको होला भन्ने अड्कल गरेका छन् । महेन्द्रको आत्मीय सम्बन्धको निमित्त बढेको हातलाई बीपीले आफूलाई समाप्त पार्न बढेको हातको रूपमा किन बुझे भन्ने कुराको अनुसन्धान गर्ने हो भने के–कस्ता कुरा निक्लेलान् त्यसको अनुमान कठिन नै त छैन । यस प्रसङ्गमा राजाको अमेरिका भ्रमणको एउटा कुरा यहाँ उल्लेख गर्न आवश्यक हुन्छ । राजाको स्वागत गर्न अमेरिकी राष्ट्रपति एयरपोर्टमा नै आए । यसलाई बीपीले परिच्छेद ६२मा भनेका छन्, ‘आइसनहावर एयरपोर्टमा नै स्वागत गर्न आयो । जाडो असाध्यै थियो । बल्लतल्ल ऊ आएछ । उसको समस्या थियो जाडोमा स्ट्रोक हुने डर र पछि त उसलाई भयो पनि । सम्भवत: त्यस जाडोले नै पछि त्यसलाई स्ट्रोक भयो ।’ यसरी उनले अमेरिकी राष्ट्रपतिलाई स्ट्रोक हुनुमा राजा महेन्द्रको दोष देखाएका छन् ।

रत्नमन्दिरका यी आत्मीय पाहुनाले परोक्ष रूपमा राजासँग एकप्रकारको द्वेषभाव राखेको महसुस हुन्छ । प्रत्यक्ष वा परोक्ष रूपमा उनी राजालाई राणाहरूले जुन स्थानमा राखेका थिए त्यही स्थानमा बस्न जोड गरिरहेका हुन्थे । महेन्द्र आफू त्यस्तो खोपाको स्याउ भएर बस्न तयार थिएनन् । सम्भवत् आफ्नो यही भावना बीपीले बुझुन् र दुवै साथ मिलेर काम गरौँ भन्ने भावना उनमा हुँदो हो । बीपीको सामुन्ने कसैले पनि उनको धारणाविपरीत जाने साहस गर्दैनथ्यो, यदि कोही गइहाल्यो भने त्यो नेपाली काङ्ग्रेसबाट नै बाहिर हुन्थ्यो । यसका अनेकाँै उदाहरण किताबमा पाइन्छन् । त्यसैले आफूले सोचेको कुरा गलत पनि हुन सक्छ भन्ने सोच्ने बीपीको बानी नै परेन । राजाको यो आतिथ्य बीपीले उनकै शब्दमा ‘त्यसमा केही अनुराग र द्वेषको मिश्रित सम्बन्ध थियो ।’ राजालाई आफूसँग द्वेष भएको भए आफूलाई फकाउन यो प्रयत्न गर्नुपर्ने आवश्यकता नै थिएन भन्ने त्यसबेला उनले बुझेनन् ।

कसै गर्दा पनि सहकार्य नहुने भएपछि राजाले प्रस्ट रूपमा भने, ‘त्यसो भए त विश्वेश्वर बाबु, तपार्इं र ममध्ये एकजना रहनुपर्‍यो । या त तपाईं चलाउनुस् म छेउ लागिदिन्छु । या तपार्इं छोडिदिनुस् म चलाउँछु ।’ यसको उत्तरमा बीपीले भने, ‘त्यो पनि मलाई मञ्जुर छैन ।’ शायद बीपीलाई लागेको थियो होला यो अवस्थामा राजासँग मैले जे भन्यो त्यो गर्नबाहेक अन्य विकल्प छैन । सत्र सालको कदम चाल्ने बेलामा राजाले अन्तिमपटक दिएको यो चेतावनीलाई बीपीले कसरी बुझेनन् त्यो अनौठोलाग्दो विषय छ । यसबाहेक विभिन्न व्यक्तिहरूले बीपीलाई राजाले केही गर्छन् भनेर भनेका पनि थिए– अब राजाले केही कदम लिन्छन् भन्ने हल्ला पनि व्यापक थियो । तर, आफ्नो अन्तर्राष्ट्रिय ख्यातिले बीपी ढुक्क थिए राजाले यस्तो कुनै हिम्मत गर्ने छैनन् । यो नै उनको गलत बुझाइ भयो, आठ वर्ष कारावासपछिको अर्को आठ वर्ष उनले स्वनिर्वासनमा बिताउनुपर्‍यो । सत्र सालको कदम राजाले धोकापूर्ण तरिकाले चालेका थिए भन्ने कुरालाई यसले नकार्छ । त्यो चेतावनी दिएर पर्याप्त मौका दिएर चालिएको कदम थियो ।