राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविष्कार केन्द्र


Suman-Baral

– सुमन बराल

महावीर पुनको नाम र कामबारे हामीमध्ये धेरै जानकार छौँ । लामो समयदेखि नेपालमा वायरलेस नेटवर्किङ प्रोजेक्ट विस्तार गरेर सूचना प्रविधिसँग परिचित गराउने, ग्रामीण क्षेत्रमा विद्यालयको गुणस्तर वृद्धि गराउने, आयआर्जनको काम सुरु गर्ने, पर्यटकीय ट्रेकिङ रुट बनाउनेलगायतका काममा सफलता हासिल गर्दै आएका पुनले नेपाली जनशक्ति र साधनस्रोत जुटाएर आवश्यक प्रविधि देशभित्रै निर्माण गर्न तथा राष्ट्र विकासको बृहत् अभियानमा लाग्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र खोलेका हुन् । प्राप्त सूचनाअनुसार उहाँलाई वर्षेनी फेरिने सरकारले सहयोगको आश्वासन त दिए, तर आवश्यक रकम निकासा गरेनन् । फलस्वरूप उनले जनताको सहयोगबाट नेपालको दीर्घकालीन विकासमा टेवा पुर्‍याउने केन्द्र स्थापना गरेरै छाड्ने दृढसङ्कल्प लिएका छन् । अमेरिकाको नेब्रास्काबाट पढाइ पूरा गरी फर्केपछिको २४ वर्षदेखि स्वदेशमा योगदान पुर्‍याउँदै आएका रोमन म्यागासेसे पुरस्कारविजेता पुन देशलाई आवश्यक पर्ने प्रविधिको विकास गर्न चाहन्छन् ।

भविष्यमा केन्द्र नाफामूलक भएर उसले उत्पादन गर्ने वस्तु वा प्रविधि नेपालका गरिब जनताले किन्न वा खपत गर्न नसक्ने त होइनन् ? जनताको सहयोगबाट बन्न लागेको केन्द्र भविष्यमा केही धूर्त व्यापारी र माफियाको हातमा पुग्ने त होइन ? भविष्यमा केन्द्रलाई राष्ट्रियकरण गर्न सकिन्छ वा सकिँदैन ? यस्ता धेरै प्रश्नको जवाफ पनि केन्द्रले दिएको छ । केन्द्र कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा १ बमोजिम मुनाफा वितरण नगर्ने संस्थाका रूपमा २०६९/०७/२४ मा दर्ता भएको छ । कुनै पनि व्यक्तिको नाममा लाभांश नजाने, कम्पनीको सम्पूर्ण मुनाफा देशको विकासका लागि प्रयोग हुने, सञ्चालक समितिका सदस्यले काम गरेबापत कम्पनीबाट पारिश्रमिक वा अन्य सुविधा लिन नपाउने, कम्पनीको स्वामित्व कुनै व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने र कालान्तरमा कम्पनी नेपाल सरकारकै सम्पत्ति हुने प्रस्ताव केन्द्रले गरेको छ । प्रस्तावमा उल्लेख गरेअनुसारको काम गर्न नसकेमा वा नगरेको पाइएमा नेपाल सरकारले आवश्यक कदम चाली केन्द्रलाई खारेज गरेर सम्पत्ति राष्ट्रियकरण गर्न सक्नेछ ।

अनुसन्धानकर्ताहरू छनोटका लागि छनोट निर्देशिका र छनोट समिति बनाउने, कति समय र रकम प्रदान गर्ने कुरा पनि छनोट समितिले नै निर्धारण गर्ने र अन्य देशहरूमा चलेको चलनअनुसार अनुसन्धानकर्ताहरूलाई गरिएको आर्थिक तथा अन्य सहयोगको बदलामा उनीहरूसँग रोयल्टी तथा आम्दानी बाँडफाँड गर्ने मोडल पनि तयार केन्द्रले तयार गरेको छ । भविष्यमा केन्द्रलाई आविष्कार विश्व विद्यालय बनाउने लक्ष्य पनि राखिएको छ । आविष्कारकर्ताहरूका लागि प्याटेन्ट र टेडमार्कको अधिकार दर्ता, बिउ पँुजी लगानीको व्यवस्था गर्न सहयोग गर्ने र त्यसको प्रवद्र्धन र बजारीकरणका लागि सहजीकरण गर्ने, देशभित्रै अवसर प्रदान गरेर प्रतिभा विदेश पलायन हुनबाट सकभर रोक्ने र उनीहरूलाई सुरुदेखि अन्तिम चरणसम्म चाहिने सबै सहयोग दिने, देश विकासमा आवश्यक जनशक्तिको पहिचान र विकास गर्ने, शैक्षिक संस्थाहरू र व्यावसायिक संस्थाहरूबीच समन्वय गर्ने, अन्य समान उद्देश्य भएका संस्थाहरूसँग सहकार्य र साझेदारी गर्ने र नेपाल सरकारसँग सहकार्य गर्नेजस्ता उद्देश्यहरू आविष्कार केन्द्रले लिएको छ ।

पुनले करिब तीन करोडबराबरको आफ्नो जग्गा पनि केन्द्रलाई सहयोग गर्ने घोषणा पनि गरिसकेका छन् । अहिले देशविदेशबाट सहयोग पनि आइरहेको छ । नेपालमा विभिन्न सङ्घसंस्थाहरूले पैसा उठाउने, सधँै मागेर नै काम चलाउने अनि आफ्नै संस्थासमेत पारदर्शी बनाउन नसक्ने वा नचाहने लाजमर्दो अवस्था छ । तर, पुनले दिगो आम्दानीबाट केन्द्र चलाउन तत्काल १० देखि १५ मेगावाटको जलविद्युत् आयोजना बनाउने योजना बनाएका छन् । केन्द्रको गतिविधिमा निरन्तर निगरानी राख्नु सबैको कर्तव्य पनि हो, तर यो केन्द्र मागी खान खोलिएको होइन भन्ने पुनका स्पष्ट योजना र त्यागले पुष्टि गरेकाले दानको सम्पूर्ण रकम पारदर्शी ढङ्गले उपयोग हुने कुरामा भने कुनै आशङ्का गर्ने ठाउँ छैन ।

हामीलाई आसेपासे, आफन्त, भ्रष्ट र गुण्डाहरूलाई विभिन्न बाहनामा अर्बांै राज्यकोषबाट स्वाहा पार्ने राजनीतिज्ञहरूले केन्द्रलाई सहयोग नगरेकोमा रिस स्वाभावले नै उठ्छ । विदेश वा स्वदेशमा हुँदा प्राकृतिक विपत्मा वा बिरामीको उपचारका लागि सानोतिनो सहयोग गर्ने गर्छौं, तर उल्लेखनीय योगदान गर्न नसकेकोमा हामीमध्ये धेरैलाई चिन्ता लाग्ने गर्छ । सकेको योगदान गर्ने इच्छा पनि हुन्छ, तर कसरी अनि कति गर्नेजस्ता अनेक प्रश्नले अल्मलिने गर्छौं । अमेरिकाबाट फर्केर २४ वर्षदेखि योगदान गर्दै आएका ६० वर्षे पुनलाई उनको कामको प्रशंसा गर्नेहरूले मात्र नभई देशलाई माया गर्ने सबै नेपालीले सकेको सहयोग गर्नुपर्छ । हाम्रो मातृभूमिको विकासमा सहभागी बन्ने सुनौलो अवसरको सदुपयोग गरौँ ।
mahabirpunus
अमेरिका, फिनल्यान्ड, स्वीडेनजस्ता विकसित देशहरूले विज्ञान प्रविधिमा अत्यन्त ठूलो लगानी गर्ने गर्छन् र त्यही प्रविधि बेचेर धनी बनेका छन् । नेपालमा भने पुनले भनेझँै अत्यन्त थोरै रकम निकासा हुने भएकाले विज्ञान तथा प्रविधि मन्त्रालय र विज्ञान प्रविधि प्रतिष्ठान सबैले हेला गरेको र राजनीतिक भागबन्डामा कसैलाई नपुग्दा जागिर दिइने ठाउँजस्तो भएको छ । नेपालका वैज्ञानिक र जेहेनदार व्यक्तिहरू अवसरको खोजीमा बिदेसिने डरलाग्दो स्थिति छ । विकसित देशहरूले पनि नेपालबाट दक्ष जनशक्ति छानी–छानी लग्ने गरेका छन् । पुनले भनेजस्तै आविष्कार केन्द्रले नेपालमा बसेर नै देशका लागि उपयोगी हुने कुरा आविष्कार गर्न सिर्जनशीलहरूलाई सहयोग गर्नुपर्छ ।

तत्काल रकेट, हवाईजहाज र आणविक हतियार बनाउन केन्द्रको स्थापना गरिएको होइन र त्यो दिशामा पुग्नुपूर्व गर्नुपर्ने कैयौँ काम हामीसँग ताँती लागेर बसेका छन् । नेपालमा सियोसमेत बन्दैन भन्दै हुर्किएको पुस्ता अब परिवर्तन चाहन्छ । किसानले अत्यधिक उत्पादन गरेका दूध, दही, साग, सब्जीजस्ता कृषिजन्य वस्तुहरूको उचित भण्डारण र लामो समयपछि प्रयोग गर्न मिल्ने गरी प्रशोधन र प्याकिङ गर्ने विधिजस्ता सानो कुरामा समेत विदेशीको भर पर्नुपर्ने अवस्था छ । हाम्रा भ्रष्ट र अक्षम शासकहरूले सजिलो तर घातक बाटो अपनाएका छन् । अर्थात् विज्ञान प्रविधिमा झारो टार्नेबाहेक उल्लेखनीय केही नगर्ने, तर ४०औँ लाख श्रमिकलाई सस्तो श्रम बेच्न पठाउने, भएको कलकारखाना बन्द गराउने, कृषिप्रधान देशमा आवश्यक पर्ने साना उपकरणहरू आयात गर्ने लाजमर्दो अवस्था छ ।

कृषिप्रधान देशमा कृषिजन्य वस्तुसमेत आयात गर्नुपर्ने दयनीय अवस्थाको अन्त्य गर्दै कृषिलगायतका निर्यातमुखी उद्योगहरूमा आवश्यक पर्ने प्रविधिको विकास गर्न केन्द्रले सहयोग गर्नेछ । तर, सबैभन्दा दु:खको कुरा नेपालका कैयौँ समस्याको समाधान भाषण र दस्ताबेजमा मात्र नेताहरूले गर्ने गरेका छन् । यही कारणले लोकतन्त्रको नाममा लुटतन्त्र चलाइरहेका नेताहरूलाई पाठ सिकाउन डा गोविन्द केसी, महावीर पुनलगायतका अभियन्ताहरूको आवश्यकता पर्छ । नेपाललाई एउटा विकसित देशको हाराहारीमा पुर्‍याउन र रोजीरोटीका लागि ४०औँ लाख नागरिक सस्तो श्रमिक भएर बिदेसिने क्रम रोक्दै नेपालमा रोजगारको अवसर सिर्जना गर्न केन्द्रले भूमिका अवश्य खेल्नेछ । तसर्थ, नेपाल सम्पन्न र विकसित भएको हेर्न चाहने देश–विदेशमा बस्ने प्रत्येक देशभक्त नेपाली नागरिकले उनीहरूलाई सहयोग गर्नुपर्छ ।

शक्तिराष्ट्र्रहरूले विभिन्न देशमा भ्रष्टचार कति हुन्छ भनेर अध्ययन र प्रतिवेदन निकाल्ने पैसाले भ्रष्टाचार नियन्त्रण गर्न उपयोगी हुने प्रविधि भित्र्याउन सहयोग गर्ने हो भने पनि भ्रष्टाचार घट्ने निश्चित छ । संयुक्त राष्ट्रसङ्घमार्फत शक्तिराष्ट्रहरूले विश्वभरि भ्रष्टाचार न्यूनीकरण गर्न सकिने प्रविधिको विकास सजिलै गर्न सक्छन्, तर गरिब र द्वन्द्वग्रस्त देशहरूमा अत्यन्त जटिल समस्याको रूपमा रहेको भ्रष्टचार नियन्त्रण गर्न उनीहरूले धेरै चासो दिएका छैन । सम्भवत: उनीहरूले यी मामलामा भविष्यमा पनि सहयोग गर्ने छैनन् किनकि शक्तिकेन्द्रहरूले चलाउने एनजीओ आईएनजीओमा समेत भ्रष्टाचार हुने गरेको पाइन्छ । नेपालमा खोलिने आविष्कार केन्द्रले भविष्यमा भ्रष्टाचारलाई निरुत्साहित गर्न सहयोगी हुने प्रविधिको विकास गर्न सक्छ । भ्रष्टाचार नियन्त्रण हुनेबित्तिकै नेपालको आधा समस्या आफैँ समाधान हुन्छ ।

आजको अन्तरनिर्भर विश्वमा अमेरिका, चीनजस्ता देशलाई उछिनेर सतप्रतिशत आत्मनिर्भर हुने दिशामा तत्काल जानुपर्छ भन्ने किमार्थ होइन, तर भविष्यमा हुने सम्भावित द्वन्द्वले नेपालजस्तो गरिब देशलाई ठूलो क्षति पुर्‍याउने निश्चित छ । अहिले उत्पादन गर्न लाग्ने मूल्यभन्दा सयौँ गुना धेरै तिरेर प्रविधि आयात गर्न हामी बाध्य छौँ । तसर्थ दीर्घकालीन हितलाई मध्यनजर गर्दै सम्भव हुने नेपाललाई आवश्यक प्रविधिको उत्पादन र निर्यात गरेर धन आर्जन गर्नुपर्छ । आविष्कार केन्द्रको यो लक्ष्य प्राप्त गर्न नदिने देशी–विदेशी षड्यन्त्रलाई जनताले मिलेर परास्त गर्नुपर्छ ।

पुनले २४ वर्षदेखि मरिमेटेर काम गर्दा पनि सोचेजस्तो योगदान गर्न नसकेको बताएका छन् । पक्कै पनि उनीजस्ता इमानदार र देशभक्त व्यक्ति सत्तामा हुने हो भने सम्पूर्ण राज्य संयन्त्र र जनतालाई परिचालन गरेर २४ वर्षमा गरिएका काम २४ हप्तामा नै गर्न सकिन्छ । सरकारले विज्ञान क्षेत्रमा प्राथमिकताका साथ पर्याप्त लगानी गरेको छैन, तर कुनै दिन अन्य देशमा जस्तै विज्ञानमा लगानी गर्ने सरकार पक्कै आउनेछ भनेर मुख मिठ्याएर बस्ने सुविधा हामीसँग अब छैन, किनकि ०७ सालदेखि हामीले पर्खिबसेको त्यो दिन अझै आएको छैन । तसर्थ देश र जनताका लागि काम गर्ने पुन, डा. केसीलगायतका अभियन्ताहरू आफैँ राजनीतिमा पसेर फोहोर सफा गर्न तयार छैनन् भने पनि उनीहरूले जनतालाई इमानदार राजनीतिज्ञलाई मात्र सत्तामा पुर्‍याउनका निम्ति सचेत बनाउनैपर्छ ।

सम्पर्क : महावीर पुन, फोन नम्बर ९८४१५९२३६१
[email protected]