
नेकपा एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेस र मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्री बन्नुभएका माओवादी अध्यक्ष प्रचण्डलाई छिमेकी मित्रराष्ट्र भारतले उच्च महत्त्व दिने भएको छ । भारतसँग बारम्बार निहुँ खोजिरहने सरकार ढालेर प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई हरतरहले सहयोग पुर्याउन भारत तत्पर भएको छ । नेपालमा खड्ग ओली नेतृत्वको सरकार विस्थापित भएपछि नेपालसँगको सम्बन्धलाई उचाइमा पुर्याउन र मित्रवत् बनाउन कुनै कसर बाँकी नराख्ने सोचमा भारत रहेको पाइएको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीमा स्वागत गर्न पनि भारत हतारिएको छ । नयाँदिल्लीस्थित एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री प्रचण्डलाई भदौ ३० गते बिहीबार (सेप्टेम्बर १५) इन्द्रजात्राको दिन दिल्लीमा भव्य स्वागत गरिने भएको छ । उहाँ भदौ ३० गते नै काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । नयाँदिल्लीमा प्रचण्डको स्वागत अत्यन्तै भव्य रूपमा गर्ने योजना भारतले बनाएको बुझिएको छ । यस्तो स्वागत नेपालबाट भारतको भ्रमणमा यसअघि गएका कुनै पनि प्रधानमन्त्रीको भन्दा भव्य हुने सूत्रहरूले जनाएका छन् ।
भदौ ३० गते नयाँदिल्लीमा प्रचण्डको भव्य स्वागत भए पनि त्यस दिन अन्य कुनै महत्त्वपूर्ण कार्यक्रम राखिएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँलाई दिवाभोज दिनुहुने कार्यक्रम छ भने मोदीसँग उहाँको विशेष बैठक भदौ ३१ गते (१६ सेप्टेम्बर) हुनेछ । सोही दिन अन्य महत्त्वपूर्ण बैठकहरूमा भाग लिने कार्यक्रम पनि प्रचण्डको रहेको छ । प्रचण्ड भारतको हिमाञ्चल प्रदेशमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाहरूको अवलोकन भ्रमणमा पनि जानुहुने भएको छ । प्रचण्डले इच्छा राखेका कारण ती आयोजना अवलोकनको कार्यक्रम राखिएको समाचार सूत्रले जनाएको छ । भदौ २ गते हुने उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डको भ्रमणको विस्तृत कार्यक्रम तय हुने बताइएको छ ।
भारतको भ्रमणमा जानुअघि नै प्रचण्डले मधेसी मोर्चासम्बद्ध दलहरूले उठाएका मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउनुहुने भएको छ । प्रचण्डको प्रस्ताव मधेसी मोर्चाको मागअनुरूप हुने र त्यसमा सहमति जुटाउन उहाँले एमालेको नेतृत्वसँग पनि बैठक गर्नुहुने बुझिएको छ । ज्ञातव्य छ, एमालेले वर्तमान संविधानमा मधेसी मोर्चाका लागि भनेर कुनै प्रकारको संशोधन गर्नुपर्ने अवस्था र आवश्यकता नरहेको ठहर गरेको छ । संविधान संशोधन हुन एमालेको सहमति भएन भने सरकारको प्रस्ताव अलपत्र पर्न सक्ने देखिन्छ । एमालेबाहेक बाँकी सबै दलहरू एकातिर भएको अवस्थामा संविधान संशोधन हुने सम्भावना त छ, तर एमालेको बिमतिबेगर हुने संशोधनको राजनीतिक अर्थ र ओज कति रहला यो सोचनीय छ ।
भारत भ्रमणमा जानुअघि प्रचण्डले नेपालमा जनसरोकारसँग सम्बन्धित केही विषयमा व्यापक कारबाही अघि बढाउने हुनुभएको छ । प्राप्त जानकारीअनुसार उहाँले कालाबजारीविरुद्धको अभियानलाई तेजीका साथ सञ्चालन गर्नुहुने भएको छ । काठमाडौं उपत्यकाबाट कालाबजारीविरुद्धको छापामारी अभियान छापामार शैलीमा सञ्चालन गर्ने तयारी प्रचण्डले गरिसक्नुभएको छ । यसले मूल्यवृद्धि र कालाबजारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास प्रचण्डले गर्नुभएको छ । यसबाहेक जनसरोकारका अन्य विषयमा पनि विशेष अभियान सञ्चालन गर्ने तयारी प्रचण्ड गर्दै हुनुहुन्छ । नेपालमा केही जनप्रिय काम गरेर भारत जाने र भारतमा केही महत्त्वपूर्ण सम्झौता गरेपछि नेपालमा ‘वाहवाही’ पाउने अपेक्षा प्रधानमन्त्री प्रचण्डले गर्नुभएको बुझिएको छ । भारतको चारदिने भ्रमण सकेर प्रचण्ड असोज २ गते आइतबार काठमाडौं फर्कनुहुने बताइएको छ ।
प्रतिक्रिया