मधेसकेन्द्रित दलप्रति दाहाल लचक

मधेसकेन्द्रित दलप्रति दाहाल लचक


Puspa Kamal Dahal

प्रधानमन्त्री पुष्पकमल दाहालको सन्निकट भारत यात्राको चर्चा जोडस्वरले हुन थालेको छ । आफ्नो भारत यात्राअघि नै उनी संविधान संसोधन गरी मधेसवादी दलहरुलाई खुशी तुल्याउन चाहन्छन् भन्ने अनुमान केही दिनयता हुँदै आएकोमा उक्त अनुमानलाई प्रधानमन्त्री स्वयम्ले मंगलबार पुष्टि गरिदिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार संचारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा पेश गर्ने र निर्वाचनसम्बन्धी कानुनहरु तयार गरेर मात्रै आफू भारत भ्रमणमा निस्कने बताए । ‘‘स्थानीय निकायको निर्वाचनसम्बन्धी कानुन एवम् मधेसी मोर्चामा आवद्ध दलहरुको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव पेस गरेर भारत भ्रमण गर्ने तयारीमा छु’’, उनले भने । राष्ट्रिय आवश्यकता तथा मुलुकको चाहनालाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आफू प्रतिवद्ध रहेको उनको भनाई थियो ।

संविधान संशोधनको विषय र निर्वाचनको सम्बन्धमा मधेसकेन्द्रीत दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्ने भएकाले आफूले विशेष जोड दिएको प्रस्ट्याउँदै प्रधानमन्त्री दाहालले मुलुकको आन्तरिक एकतालाई मजबुत बनाउने यही नै प्रमुख उपाय भएको तर्क गरे । आफूलाई प्रधानमन्त्री पद चुनौतीपूर्ण र जोखिमपूर्ण रुपमा प्राप्त भएको पनि उनले बताए ।

संविधानसभाबाट संविधान जारी गर्नु जस्तै स्थानीय निकायको निर्वाचन आफू र आफ्नो नेतृत्वको सरकारको लागि महत्वपूर्ण एवम् चुनौतीपूर्ण रहेको भन्दै उनले एमाले नेतृत्वको सरकारले निर्वाचन गर्न नचाहेको निष्कर्षमा पुगेपछि मात्रै सरकार परिवर्तन भएको अभिव्यक्ति दिए । उनले भने, ‘केपी ओलीले प्रधानमन्त्री पदमा रहँदा नै स्थानीय निकायको निर्वाचन गर्न सकिन्न भनेपछि म सरकार परिवर्तन गर्ने निष्कर्षमा पुगेँ ।’