प्रज्ञामा बीपी कोइरालाको साहित्यबारे विमर्श

प्रज्ञामा बीपी कोइरालाको साहित्यबारे विमर्श


about BP

प्रजातान्त्रिक समाजवादका प्रणेता तथा प्रसिद्ध साहित्यकार बीपी कोइरालाको साहित्यिक पक्षमाथि राजधानीमा विमर्श गरिएको छ । उनको १०२औँ जन्मजयन्तीको सन्दर्भ पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग एवम् बीपी कोइराला स्मृति ट्रष्टद्वारा संयुक्त रुपमा मङ्गलबार आयोजित ‘बीपी कोइरालाका साहित्यबारे युवा स्रष्टा राजनीतिकर्मीहरुको बुझाइ’ विषयक उक्त गोष्ठीमा बोल्दै साहित्यकार तथा एमाले नेता प्रदीप नेपालले ‘बीपी महान् चिन्तक, सफल साहित्यकार तर असफल राजनीतिज्ञ’ भएको जिकिर गरे । उनले थपे, ‘बीपी जसरी साहित्यमा खुल्नुभएको छ, त्यति राजनीतिमा खुलेको पाइँदैन । जसले गर्दा नेपाली राजनीति धेरै पछाडि धकेलिएको हो । आजको पुस्ताले बीपीलाई पुनः जीवित गराउनु जरुरी देखिन्छ ।’

नेपाली काँग्रेसका नेता तथा साहित्यकार बलदेव शर्मा मजगैँयाले युवा राजनीतिकर्मीहरुमा पनि बीपीका साहित्य अध्ययन गर्ने बानी रहेको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै भने, ‘नेताहरुले आफ्नो विचार लाद्नुअघि धेरै पटक बीपी सोच्नु पर्छ ।’ उनले बीपीका साहित्यहरु मार्गदर्शक र उत्पे्ररक रहेको बताए ।

आख्यानकार डा. धु्रवचन्द्र गौतमले बीपी विराट व्यक्तित्व भएको उल्लेख गर्दै भने, ‘यस्ता व्यक्तिका बारेमा यसरी नै अनेकन कोणबाट चर्चा हुने गर्छ । आज जसरी उहाँका बारेमा विविध पाटोबाट चर्चा गरियो, यो अत्यन्त सकारात्मक छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बीपी कोइराला विशेष क्षमता र प्रतिभा भएका राजनेता भएको चर्चा गर्दै उहाँको साहित्यिक र राजनीतिक पृष्ठभूमि एउटै भएको दावी विचार व्यक्त गरे ।

उपकुलपति डा. विष्णुविभु घिमिरेले बीपीलाई सिद्धान्तको बोक्रा छोडाएर मात्रै बुझ्न नसकिने विचार व्यक्त गर्दै भने, ‘फराकिलो विचारबाट मात्रै बीपीलाई प्रस्ट ठम्याउन सकिन्छ ।’

प्रज्ञा–प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भनिन्, ‘साहित्य र राजनीतिको अन्तरसम्बन्धबारे केलाउनु नै यो कार्यक्रमको उद्देश्य हो ।’ उनले जोड दिइन्, ‘राजनीति एउटा शक्ति भएजस्तै साहित्य पनि अर्को विशिष्ट शक्ति हो । दुवै शक्तिको संमिश्रणबाट मात्रै प्रभावशाली शक्ति संभव छ, जसले समाजलाई परिवर्तन गर्ने ताकत राख्छ ।’
कार्यक्रममा बीपीपुत्र एवम् ट्रष्टका कार्यवाहक अध्यक्ष श्रीहर्ष कोइराला, सदस्य पुरुषोत्तम बस्नेतले पनि बीपीको साहित्यिक पाटोमाथि यथेष्ट प्रकाश पारेका थिए ।

यसैगरी स्रष्टासमेत रहेका नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरे, माओवादीका लेखनाथ न्यौपाने, एमालेका गरिमा शाह, नेपाली काँग्रेसका धर्मेन्द्रविक्रम नेम्बाङ र पत्रकार धर्मेन्द्र झाले बीपीको साहित्यिक व्यक्तित्वका बारेमा आआफ्ना धारण प्रस्तुत गरेका थिए । उनीहरुले बीपी राजनीतिमा जसरी साहित्यमा पनि अत्यन्त प्रभावशाली प्रतिभा भएको उल्लेख गरेका थिए । कवियत्री सन्ध्या पहाडीले सहजीकरण गरेको कार्यक्रममा मजगैँयाद्वारा लिखित उपन्यास ‘बौन्स्री’को युवा नेताहरुले संयुक्त रुपमा विमोचन गरेका थिए भने विमोचित कृतिमाथि डा. नारायण चालिसेले समीक्षात्मक टिप्पणी गरेका थिए ।