कलाकारितामार्फत समाज र राष्ट्रको सेवा

कलाकारितामार्फत समाज र राष्ट्रको सेवा


Chet Bahadur singh Raja

०५८ को चर्चित चेतनामूलक टेलिशृङ्खला ‘थोरै भए पुगिसरी’मा अभिनय गरी औपचारिक रूपमा कलायात्रा सुरु गरेका चेतबहादुर सिंह ‘राजा’ले यस पन्ध्रवर्षे अभिनय यात्रामा आफ्नो अलग पहिचान बनाइसकेका छन् । ०२७ मा बझाङमा जन्मिएका चेतले हालसम्म तीतो सत्य, फिरन्ते, मेरीबास्सै, यातना, उद्घाटनलगायत चौध–पन्ध्र टेलिशृङ्खला र लालसलाम, सहिद, देवयानी, दलाल, सुनपानीजस्ता फिचर फिल्ममा अभिनय कौसल देखाएका छन् भने सुनपानी उनी आफैँद्वारा निर्माण भएको चलचित्र हो । यसबाहेक विभिन्न म्युजिक भिडियोमा पनि उनले मोडलिङ गरेका छन् । मूलतः अभिनयको हास्यविधामा रुचि राख्ने चेतले कलाक्षेत्रमा पु¥याएको योगदानका लागि कलाक्षेत्रसँग सम्बन्धित अनेक पुरस्कार तथा सम्मान हासिल गरेका छन् । सरकारी सेवामा रहेर पनि कलाकारिताका साथै समाजसेवामा समेत सक्रिय चेत आफ्नो मिलनसार एवम् फरासिलो स्वभावका कारण मित्र–मण्डली एवम् कलाकर्मीमाझ सर्वप्रिय छन् । कलाकारिताको माध्यमबाट समाजमा चेतना फैलाउने र आफ्नो आदर्श पहिचान कायम गर्ने उनको उद्देश्य छ । जनप्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका सिंह कलाक्षेत्रमा थुप्रै सम्भावना र चुनौती रहेको र त्यस्ता चुनौतीलाई सम्भावनामा बदल्ने प्रयास गर्दै राष्ट्रसेवामा तल्लीन रहनु आफ्नो अहम् कर्तव्य रहेको बताउँछन् । प्रस्तुत छ, सकारात्मक सोचका धनी कलाकर्मी चेतस“ग गरिएको कुराकानी :

Chet Bahadur singh Raja 2

० तपाईं सरकारी कर्मचारी भएर पनि कला क्षेत्रमा लागिरहनुभएको छ, आफूलाई दुईमध्ये कुनै एउटा क्षेत्रबाट चिनाउनुप¥यो भने पेसाले तपाईं कलाकार भन्न रुचाउनुहुन्छ कि कर्मचारी ?
– म आफूलाई सगर्व कलाकार भन्न रुचाउँछु ।

० कलाकार बन्ने सोख किन र कहिलेदेखि जाग्यो ?
– कलाकारिताबाट मनोरञ्जन प्रदान गर्ने मात्र नभई शिक्षा र चेतना बाँड्न पनि सकिन्छ भन्ने जानेदेखि नै मभित्र कलाक्षेत्रमा लाग्ने चाहना जागेको हो । सानै उमेरमा मैले उक्त शिक्षा पाएको थिएँ ।

० अभिनयको तालिम पनि लिनुभएको छ ?
– लिएको छु । विभिन्न वर्कसप, तालिम कार्यक्रम, लिडरसिप तथा पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङजस्ता सिक्ने–सिकाउने क्रियाकलापमा संलग्न भएकाले मलाई आफ्नो काममा निकै टेवा पुगेको छ ।

० पहिलो फिल्म कुन ?
– लालसलाम ।

० नेपाली कलाक्षेत्रमा तपाईंलाई प्रेरित गर्ने कोही छन् ? कुन कलाकार मनपर्छ, किन ?
– छन् । सविन बास्तोलाले मलाई आफ्नो कर्ममा लाग्न निकै प्रेरित गरेका छन् भने हरिहर शर्मा, मिथिला शर्मा मलाई विशेष मनपर्ने कलाकर्मी हुन् ।

० कलाकर्मबाट कमाई पनि हुन्छ कि ? यहाँ त उल्टै आफ्नै खर्च हुन्छ, कलाकारको शोषण हुन्छ भनिन्छ, हो ?
– सम्पर्क र आफ्नो व्यक्तिगत क्षमताको आधारमा कमाई हुन्छ । जहाँसम्म शोषणको सवाल छ, यो कुरा व्यक्ति आफ“ैमा भर पर्छ जस्तो लाग्छ मलाई त ।

० तपाईं त कलकार मात्र नभई निर्माता पनि हुनुहुन्छ, अरूले मौका नदिएर आफैँ फिल्म बनाउँदै खेल्दै गरेको त होइन ?
– होइन, मेरो बुझाइमा कलाकारको अन्तिम पद भनेको निर्माता–निर्देशक नै हो । यसर्थ म फिल्म निर्माणतर्फ लम्किएको हुँ ।

० कतिपय व्यक्ति त मोजमजाका लागि मात्रै सिनेक्षेत्रमा लाग्दारहेछन्, तपाईं पनि त्यस्तै हो कि ?
– नितान्त होइन । म चलचित्रकर्मीको हिसाबले आएको हुँ, व्यापारी या सोख पूरा गर्ने हिसाबले होइन । व्यापारीले कमाउँछ मात्र, तर कलाकर्मीले त कलाकारिता र राष्ट्रियतालाई सहयोग गरिरहेको हुन्छ ।

० अहिलेसम्म काम गरेका फिल्म–टेलिफिल्म कुन–कुन हुन् र बढी सन्तुष्टि मिलेको फिल्म कुन हो ?
– थुप्रै टेलिफिल्म गरियो, तीमध्ये थोरै भए पुगिसरीबाट विशेष सन्तुष्टि मिलेको छ भने चलचित्रमा चाहिँ आफैँले निर्माण गरेको सुनपानीले सन्तुष्टि दियो ।

० कलाक्षेत्रका लागि समय कसरी मिलाउनुहुन्छ ?
– साथीभाइको सहयोगले बिदाको दिनलगायत बिहान–बेलुका सुटिङका लागि समय मिलाउँछु ।

० घरपरिवारबाट कत्तिको सपोर्ट मिलेको छ ?

– पूर्ण रूपमा सपोर्ट छ ।

० यस क्षेत्रमा लागेपछिको सबभन्दा अविष्मरणीय क्षण वा सन्दर्भ ?
– भरिया दाइ भन्ने लोकदोहोरी गीतको सुटिङको क्रममा कास्कीको घान्द्रुकमा बस्दा अनेक राम्रा–नराम्रा क्षणहरू नै अविष्मरणीय रूपमा रहेका छन् । त्यतिबेला मुलुकमा शान्ति स्थापना भइसकेको थिएन, घान्द्रुक पुग्नेबित्तिकै माओवादीले हाम्रो युनिटसँग चन्दा मागेर निकै सताए । पछि गायक विष्णु खत्रीले यो त गणतान्त्रिक गीत हो नि भनेर सम्झाएपछि सहयोग मिल्यो । उक्त सन्दर्भ अहिले पनि विशेष रूपले सम्झना आइरहन्छ ।

० थप केही …. ?
– आमनेपाली दाजुभाइ–दिदीबहिनी तथा चलचित्रसम्बन्धी सञ्चारकर्मी साथीहरूले नेपाली चलचित्र हेरिदिन मेरो आग्रह छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिनुपर्छ । साथै, राष्ट्र, राष्ट्रियता, लोकसंस्कृति र नेपाली चलचित्रलाई हृदयबाटै सबैले माया गर्नुपर्छ ।