सचिव चयन गर्न पनि मन्त्री छान्नजत्तिकै गाह्रो !

सचिव चयन गर्न पनि मन्त्री छान्नजत्तिकै गाह्रो !


गृह मन्त्रालयमा

प्रचण्ड प्रधानमन्त्री बनेको महिना दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाएपछि अर्थ र गृह मन्त्रालयमा सचिवहरूमध्ये कसको चयन होला भन्ने चासो प्रकट भएको छ । सबैभन्दा महत्वपूर्ण मानिने उल्लिखित मन्त्रालयहरूको जिम्मेवारी पाउन राजनीतिकर्मीहरूमा जुनस्तरको होडबाजी हुने गर्दछ त्यहीस्तरको होड कर्मचारीहरूमा नदेखिए पनि रुचि भने सबै सचिवहरूले राख्ने गरेको पाइन्छ । व्यक्तिको इच्छाभन्दा विभागीय मन्त्रीको रोजाइ र मन्त्रीसँग सम्बन्धित दलको प्रमुख नेताको इच्छामा सचिवहरूको चयन हुने गर्दछ ।

केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका शक्ति बस्नेतले सचिवको हैसियतमा आफ्नो कोही मानिस नपाइएपछि नारायणगोपाल मलेगुबाट नै काम चलाएका थिए भने तात्कालिक अर्थमन्त्री विष्णु पौडेलले चाहिँ पहिले काङ्गे्रसनिकट भनी चिनिएका लोकदर्शन रेग्मीलाई एमालेको सङ्गठित सदस्यता लिन स्वीकार गराएपछि अर्थ मन्त्रालयको सचिव बनाएका थिए । रेग्मी डा. रामशरण महत अर्थमन्त्री भएकै बेला अर्थ मन्त्रालयको सचिव बन्न चाहन्थे, तर डा. महतले सुमन शर्मालाई रोजेपछि रेग्मी क्रूद्ध भएको र एमालेको सङ्गठित सदस्यता लिएरै भए पनि अर्थसचिव हुने रहर पूरा गरेको बताइन्छ ।

एमाले नेता विष्णु पौडेलले अहिले लोकदर्शन रेग्मीलाई गृहसचिव बनाउन चाहेको र त्यसनिम्ति पौडेलले काङ्गे्रस सभापति शेरबहादुर देउवासमक्ष रेग्मीको नाम सिफारिस गरेको पनि बुझिएको छ । गृह मन्त्रालयमा श्रीधर सापकोटाको चयन हुनु उपयुक्त हुने कतिपयको धारणा रहेको पाइएको छ भने केहीले चाहिँ मधु रेग्मी र मोहन सापकोटाको नाम अघि बढाएका छन् । मधु रेग्मी, मोहन सापकोटा र लोकदर्शन रेग्मीको पारिवारिक पृष्ठभूमि काङ्गे्रस भएकोले उनीहरूमध्ये एकलाई नै गृहसचिव बनाइनुपर्छ भन्ने मत काङ्गे्रसका एकथरी नेताहरूको रहेको छ भने कतिपयले कानुनी पृष्ठभूमि र स्वच्छ छविका श्रीधर सापकोटा नै गृहका लागि उपयुक्त हुने जिकिर पनि गरिरहेका छन् ।

हाल आपूर्ति मन्त्रालयमा रहेका श्रीधरले गृह मन्त्रालय प्राप्त नगरेमा उनको जिम्मेवारी कुन मन्त्रालयको हुने हो स्पष्ट हुन सकेको छैन । तर, लोकदर्शन रेग्मीले गृहको जिम्मेवारी नपाएको अवस्थामा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्न सक्ने सम्भावना छ । अर्थ मन्त्रालयमा हाल अख्तियारका सचिव शान्तराज सुवेदीलाई सरुवा गरी लैजाने सोच अर्थमन्त्री कृष्णबहादुर महराले बनाएका छन् । महराकै प्रयासमा सचिव बनाइएका सुवेदीलाई वर्षमान पुन अर्थमन्त्री हुँदा अर्थसचिवको जिम्मेवारी दिइएको थियो । माओवादीनिकट मानिने सुवेदीले हालै मात्र अर्थशास्त्रमा विद्यावारिधिसमेत गरेकाले पनि माओवादीको रोजाइमा उनै परेका छन् ।