डा. कोइरालालाई अर्कोपटक बनाउने आश्वासन, यसरी पुगे ‘परराष्ट्र’मा प्रकाश

डा. कोइरालालाई अर्कोपटक बनाउने आश्वासन, यसरी पुगे ‘परराष्ट्र’मा प्रकाश


Shekhar-Prakash

नेपाली काङ्गे्रसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाबाट अर्कोपटक परराष्ट्रमन्त्री बनाइने आश्वासन प्राप्त गर्नुभएको बुझिएको छ । प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै सम्भावित पराराष्ट्रमन्त्रीको रूपमा चर्चामा आउनुभएका डा. कोइरालालाई सभापति देउवाले सुरुमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पने सोच बनाउनुभएको थियो । तर, कोइराला स्वास्थ्यको जिम्मेवारी स्वीकार गर्न तयार हुनुभएन । देउवाले उहाँलाई परराष्ट्रमन्त्री नै बनाउने सोच पनि बनाउनुभएको हो, तर विभिन्न कारणवश यसपटक देउवाले डा. कोइरालालाई परराष्ट्रमन्त्री बनाउन सक्नुभएन ।

कोइराला परराष्ट्रमन्त्री बनेको अवस्थामा हिन्दूराष्ट्र पक्षधरहरूले पुठ पाउने र रिक्त राजदूत नियुक्तिका क्रममा उहाँ असहिष्णु बन्न सक्ने सम्भावनालाई हेरेर तत्काल उक्त जिम्मेवारी दिन अप्ठ्यारो परेको हुनसक्ने अनुमान पनि विश्लेषकहरूले गरेका छन् । तर, सभापति देउवा डा. कोइरालाप्रति सकारात्मक हुनुभएकैले उहाँले अर्कोपटक परराष्ट्रमन्त्री बनाउने आश्वासन दिनुभएको बताइन्छ । यद्यपि डा. कोइरालाले भने ‘विश्वास भएको भए अहिले नै बनाउन सक्नुहुन्थ्यो, विश्वास नहुँदा पछि पनि हुन्छ भनेर मैले कसरी पत्याउने’ भनी देउवालाई जवाफ फर्काउनुभएको बुझिएको छ । एक अर्को सूत्रले जनाएअनुसार कोइराला रामचन्द्र पौडेलको सिफारिसबाट आउन् भन्ने देउवाको चाहना भएको, तर पौडेलले शेखरको नाम सिफारिस नगरेको र शेखरले पनि पौडेलको सिफारिसबाट मन्त्री बन्ने इच्छा नदर्शाएकोले उहाँ मन्त्रिमण्डलमा नपर्नुभएको बुझिन्छ । महामन्त्री डा. शशाङ्क कोइरालाले समेत दीपक गिरीको नाम मन्त्रीका रूपमा सिफारिस गरेको, तर डा. शेखरको नाम नलिएको हुनाले पनि देउवालाई अप्ठ्यारो परेको हो ।

सम्भावित परराष्ट्रमन्त्रीका रूपमा डा. आरजु राणा देउवाको नाम पनि एक समय चर्चामा थियो । स्वयम् सभापति देउवाले यस विषयमा रुचि नलिनुभएको बताइन्छ । अन्ततः परराष्ट्रमन्त्री बन्ने अवसर जुझारु काङ्गे्रस नेता डा. प्रकाशशरण महतलाई मिलेको छ । धेरैतिरबाट धेरै प्रकारको दबाब आउन थालेपछि सभापति देउवाले कसैको कुरा नसुनी आफैँले डा. महतको नाम परराष्ट्रमन्त्रीमा प्रस्ताव गर्नुभएको बुझिएको छ । धेरैअघि परराष्ट्र राज्यमन्त्रीको अनुभव सङ्गालिसक्नुभएका डा. महत यसपटक मन्त्रिमण्डलमा जानेभन्दा पनि महामन्त्रीको जिम्मेवारी सम्हालेर पार्टी काममा बढी समय दिने पक्षमा हुनुहुन्थ्यो । मन्त्री बन्नका लागि भनेर उहाँले कुनै प्रकारले प्रयास पनि गर्नुभएको थिएन । अन्ततः परराष्ट्रमन्त्री बन्ने अवसर डा. महतलाई प्राप्त भएको छ । मन्त्रालय सम्हालेको सात दिन नबित्दै डा. महतले हेर्दा सामान्यजस्तो लागे पनि संवेदनशील र दूरगामी महत्वको निर्णय गरी विदेशस्थित राजदूतावासहरूलाई ‘नेप्लिज’ नभनी ‘नेपाली राजदूतावास’ लेख्न निर्देशन दिनुभएको छ । जुझारु तथा गतिशील मानिने डा. महतको कार्यकालमा परराष्ट्र मन्त्रालयभित्र र मन्त्रालयले गर्ने काममा समेत सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।