
सिद्धान्ततः राजनीति समाजसेवा हो, राष्ट्र र समाजप्रति समर्पित सेवा नै राजनीति हो भन्न पनि सकिन्छ । समृद्ध मुलुकको राजनीति पारदर्शी हुन्छ र राजनीतिकर्मीहरू आफ्ना कर्तव्यप्रति स्पष्ट र इमानदार हुन्छन् । जीवन निर्वाहका निम्ति कुनै न कुनै काम हरेक नागरिकले गर्नुपर्ने हुन्छ र समृद्ध देशमा जीवनभरि राजनीति मात्र गरिरहने र राजनीतिबाहेक अन्य कुनै काम नगर्ने मानिस भेटिँदैनन् पनि । तर, अल्पविकसित मुलुकको कथा–व्यथा बेग्लै छ । हाम्रोजस्तो मुलुकका राजनीतिकर्मीहरूमा मूलभूत तीन साझा सोच रहेको पाइन्छ– ‘पहिलो, राजनीति गर्ने मानिसले केवल राजनीति मात्रै गरिरहनुपर्छ, दोस्रो, अन्य कुनै पेसा वा व्यवसायमा संलग्न मानिस राजनीतिक जिम्मेवारीका लागि उपयुक्त हुँदैनन् र, तेस्रो, राजनीति एउटा पेसा हो ।’
त्यसैले कुनै विषयको फाराम भर्नुपर्ने भयो र त्यसमा पेसा उल्लेख गर्नुपर्ने रहेछ भने ठूला–साना सबैखाले राजनीतिकर्मीहरूले सगौरव खाली ठाउँ भर्दै आफ्नो पेसा ‘राजनीति’ लेख्ने गर्दछन् । राजनीति आफैँमा कहिल्यै पेसा होइन र हुन पनि सक्दैन । तर, नेपालमा राजनीतिलाई एउटा पेसा या व्यवसाय बनाउने काम भइरहेको छ । नेपाली राजनीतिकर्मीमध्ये अधिकांशको पेसा वा व्यवसाय खोज्न थालियो भने भेटिँदैन, तर सम्पत्ति र तिनको जीवनस्तर कुनै पनि धनाढ्य व्यक्तिको भन्दा उच्चस्तरको पाइन्छ । नेपालका राजनीतिकर्मीहरूको स्थिति र मनस्थिति अध्ययन गर्दा उनीहरू कमाउन र सुखसयल हासिल गर्नकै निम्ति राजनीतिमा क्रियाशील भएका हुन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । आफ्नै जीवनमा परिवर्तन ल्याउन दृढचित्तले समर्पित राजनीतिकर्मीहरू जनताको जीवनमा परिवर्तन ल्याउनुपर्ने कुरासम्म त गर्छन्, तर व्यवहार भने भिन्न देखिन्छ ।
आत्मकेन्द्रित र स्वार्थकेन्द्रित राजनीतिले देशलाई गाँजेका बेला अपवादका रूपमा देखिएका छन् पर्वतका काङ्गे्रस नेता ऋषिकेश तिवारी । तिवारी जनताको जीवनमा परिवर्तन नल्याउने राजनीतिलाई अर्थहीन ठान्छन् र ‘गाउँमै कमाउने र गाउँमै रमाउने’ अभियानसित राजनीतिलाई जोड्न चाहन्छन् । गाउँलाई समृद्ध बनाउन सके सिङ्गै मुलुक समृद्ध बन्न सक्छ भन्ने दृष्टान्त स्थापित गर्न पर्वतको मुडिकुवालाई केन्द्र बनाएर तिवारीले सुरु गरेको उद्यमशीलता आमसमृद्धिपे्रमी र उद्यमशील व्यक्तिहरूको निम्ति आकर्षणको विषय बनेको छ ।
तिवारीले ‘सामाजिक उद्यमशीलता’ नामक एक पुस्तक पनि लेख्नुभएको छ । साना लगानीबाट स्थानीय स्रोत र साधनलाई उपयोग गरेर पनि मानिस कसरी उद्यमी बन्न सक्छन् भन्ने विषयलाई दृष्टान्तसहित पुस्तकमा समेटिएको छ । १६९ पृष्ठको उक्त पुस्तकमा उल्लिखित दृष्टिकोण र दृष्टान्तले ऋषिकेश तिवारीलाई बेग्लै कोटिको राजनीतिकर्मीका रूपमा दर्शाएको छ । देशको समस्यालाई बुझ्ने र समाधान खोज्ने उहाँको कला र काइदा अन्य राजनीतिकर्मीहरूको भन्दा नितान्त भिन्न छ, पुस्तकले यसै भन्दछ । ‘उद्यमी नबनेसम्म आर्थिक–सामाजिक समृद्धिको आधार पहिल्याउन सकिँदैन । त्यसैले सामाजिक रूपमै उद्यमशीलताको विकास गरी नयाँ शिराबाट विकासको प्रस्थानबिन्दु तय गरिनु आवश्यक छ, त्यसको केन्द्रबिन्दु गाउँ र त्यहाँ शदीयौँदेखि कृषि पेसालाई आफ्नो जीवन आधार मानिरहेका समुदाय हुनुपर्छ,’ तिवारीले लेख्नुभएको छ, ‘…युवा पुस्तालाई सामाजिक उद्यमी बनाउनु अपरिहार्य छ । सामाजिक उद्यमी बनाउने अभियान मूलतः सामाजिक उद्यमशीलतासँग जोडिएको सवाल हो ।
सामाजिक उद्यमशीलताले उद्यमीलाई नाफा आर्जन गर्न, सम्मानपूर्ण जीवन व्यतीत गर्न साथसाथै समाजमा विद्यमान समस्याहरूको पहिचान गर्न र तिनीहरूको समाधानका लागि अगुवाइ गर्ने हैसियत राख्दछ । यदि यो हैसियतमा गाउँका युवाहरूलाई पु¥याउन सकियो भने गाउँ छोडी टाढा–टाढा कमाइकै लागि विभिन्न देशमा कठिन, खतर्नाक र फोहोरी कामहरू गरी आफ्नो उत्पादनशील जीवन बिताउनुपर्ने बाध्यतालाई छोट्याउन सकिन्छ ।’
ऋषिकेशले लेखेका छन्, ‘सबैले हेक्का राख्नुपर्ने कुरा के छ भने आर्थिक रूपमा सबल हुँदै गएपछि राजनीतिक साखमा समेत सुधार आउन थाल्छ । मुलुक गरिब हुँदै गएपछि राज्यमा अराजनीतिक र कानुनी शासनमाथि अवरोध बढ्दै जाँदोरहेछ । त्यसैले अबको राजनीतिलाई विकास र समृद्धिको बाटोमा हिँडाउन जरुरी छ ।’
पुस्तकमा लेखकले आफ्नो धारणाअनुरूप पर्वतको मुडिकुवामा भएको प्रयोगलाई सचित्र वर्णन गरेका छन् । यसले ऋषिकेश तिवारीमा भएको देश निर्माणको ‘भिजन’ राम्रोसँग उजागर गरेको छ । स्थानीय स्रोत र साधनलाई उच्चतम उपयोग गरी उद्यमी बन्न चाहनेहरूले त यो पुस्तक पढ्नैपर्ने हुन्छ, राजनीतिकर्मीहरूले यसको अध्ययन गरे भने देश निर्माणको यात्रामा उनीहरू सहभागी हुनसक्ने सम्भावना पनि बढाउँछ । राजनीति व्यापार बन्दै गरेको र राजनीतिका लागि मात्र राजनीति हुने गरेको पृष्ठभूमिमा उपयोगी पुस्तक उपलब्ध गराएर ऋषिकेशले देशलाई स्मरणीय योगदान दिएका छन् ।
प्रतिक्रिया