अति भयो !- बबिता बस्नेत

अति भयो !- बबिता बस्नेत


आफ्नै पार्टीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिनैपर्ने वातावरण बनाइदिएपछि यो मुलुकमा जे-जे भयो त्यसलाई हेर्दा आफ्नो मुलुकप्रतिको देशभक्ति अगाध हुँदाहुँदै पनि पटक-पटक भन्न मन लाग्यो- हत्तेरी ! कस्तो देशमा जन्मिइएछ । अहिले यहाँ जे-जे भयो र भइरहेको छ त्यसमा हाम्रो जन्मभूमिको कुनै दोष नभए पनि धेरै मानिसलाई त्यस्तै लाग्यो । देश भताभुङ्ग पारेर व्यक्तिगत स्वार्थका लागि दौडिनेहरूको झुण्डका अनेक स्वार्थी मागहरू सुनिए । तर्राईका सभासद्ले ‘एक मधेस एक प्रदेश’लाई मुख्य नारा बनाउँदा लाग्यो उनीहरू देशलाई होइन प्रदेशका नाममा आफूलाई मात्रै माया गर्छन् त्यहीअनुरूप आफ्नो भलो चाहन्छन् । तर्राईका ‘नेता -‘ हरूले यसरी मधेसको बारेमा कुराहरू उठाए मानौँ मधेस यो मुलुकको नभएर अरू नै कसैको भाग हो जसलाई लिएर उनीहरूलाई मात्र चिन्ता छ, अरूलाई छैन । मुलुक अप्ठ्यारोमा परेको बेला यसप्रकारको बार्गेनिङको अर्थ के लाग्छ इतिहासले भोलि मूल्याङ्कन गर्ला नै, जब-जब सत्ता साझेदारीको कुरा आउँछ अनि मधेसका नेताहरूलाई मधेस भूमिको अगाध माया पलाएर आउँछ । समग्र देशका निम्ति नभएर एउटा क्षेत्रका निम्ति चिन्तित उनीहरूलाई जीउ-जीउ गर्दै सरकार बनाउन बाध्य हुनेहरूको सोच र व्यवहार पनि कम दु:खदायी छैन । यो मुलुकका हिमाली जनताको जीवन कति कष्टदायक छ या पहाडी जिल्लामा कति अभावबीच जनता जीवन गुजारिरहेका छन् भन्ने कुरा यहाँ कहिल्यै चर्चाको विषय बनेन । मधेस जहाँ अन्न फल्छ, जहाँ बाटोघाटो, मोटर-गाडी, शिक्षा-स्वास्थ्य सबै कुराको सुविधा छ, जहाँ पेटभरि खान र सुखी जीवन बिताउनलाई पहाडबाट मानिस बसाइँ सर्छन् त्यस्तो ठाउँलाई लिएर सत्ता बार्गेनिङ जारी छ । जब मानिसले देशका निम्ति नभएर आफ्ना निम्ति सोच्छ, यसप्रकारका पीडादायी परिस्थितिहरू दोहोरिरहन्छन् । मुलुकमा उत्पन्न लज्जास्पद अवस्थाका निम्ति तर्राईका नेताहरूलाई मात्रै दोष दिनु पनि उचित हुने छैन किनभने यसमा कुनै पनि पार्टी अछुतो रहेका छैनन् । नेपाली काङ्ग्रेस, एमाले, माओवादी र यी दलका ‘शिर्षस्थ’ भनिएका सबै नेतालाई हेर्दा यो मुलुकको भविष्य यस्तै होला भनेर अनुमान गर्न सक्ने अवस्था छैन । अन्य देशहरूमा यत्ति वर्षमा मुलुकलाई यहाँ पुर्‍याउने भनेर निश्चित नीति, कार्यक्रम र योजनाहरू हुन्छन् तर हामीकहाँ त टाढाको के कुरा गर्नु भोलिकै परिस्थिति के होला भनेर आज अनुमान गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्री को बन्ने भन्ने दौडमा यसबीचमा यहाँ भएका क्रियाकलापले विभिन्न क्षेत्रमा कार्यरत व्यावसायिक व्यक्तिहरू र सर्वसाधारणलाई अत्यन्त ‘ह्युमिलिएट’ गराएको छ, आफैंसँग खुम्च्याएको छ । र, पटक-पटक भन्न बाध्य पारेको छ, ‘हत्तेरी ! यो देशले कस्तो एकजना स्वार्थरहित नेतासमेत पाएन !’
हाम्रो देशका राजनीतिक दलहरूले संविधानसभामा जाने निर्णय गर्दा यो मुलुकमा एउटा ठूलो परिवर्तनको अपेक्षा गरिएको थियो । यस्तो परिवर्तन जहाँ प्रजातान्त्रिक मूल्य-मान्यताहरूले काम गरून् र राजनीतिक स्थायित्व भएर मुलुक आर्थिक क्रान्तितर्फ अगाडि बढोस् । संविधानसभाको चुनाव सरकार कसले बनाउने र सत्तामा को जाने, या बहुमतको सरकार कसले बनाउने भनेर त्यसप्रकारको अभ्यास गर्नका लागि थिएन । तर, संविधानसभा निर्वाचनपछि राष्ट्रपतिको चुनाव हुँदै धेरै कुरामा बहुमतीय गुणनलाई नै महत्व दिइयो, संविधानसभाको मुख्य काम संविधान निर्माणको पक्ष कमजोर हँुदै अन्य साना-मसिना कुराले महत्व पाउँदै गए । नेताहरू कहिले संवैधानिक नियुक्तिहरूमा अल्भिmए, कहिले तीभन्दा धेरै साना अल्भिmनै नपर्ने नियुक्ति र सरुवा-बढुवामा अल्भिmए, कहिले कसैलाई पदबाट हटाउन सक्रिय भए त कहिले कसैलाई राख्न । यसरी नै दुइ वर्षको समय बित्यो । यसबीचमा जसले बार्गेनिङ गर्न सक्यो उसैले प्रतिष्ठा त नभनौँ पद प्राप्त गर्‍यो, पद र प्रतिष्ठा फरक कुरा हुन्, पद पाउँदैमा त्यो व्यक्तिले प्रतिष्ठा पनि प्राप्त गर्छ भन्ने छैन तर कतिपय व्यक्तिहरूले बिनापद पनि प्रतिष्ठा प्राप्त गरिरहेका हुन्छन् । हाम्रो देशमा अब नेताहरूले प्राप्त गर्ने भनेको शायद पद मात्रै हो । अहिले जुनप्रकारको खेल यसबीचमा भयो र भइरहेको छ यस्तो प्रकारले जुनसुकै पद पाए पनि तिनीहरूले प्रतिष्ठा प्राप्त नगर्ने निश्चित छ । कुर्सीका कारणले वरिपरि सहयोगीहरू र साथमा सुरक्षाकर्मी वा त्यहीअनुरूपको सुविधा पाउनु प्रतिष्ठा होइन पद मात्रै हो । प्रतिष्ठा पाउनका लागि त उसले निश्चित मूल्य-मान्यताहरू अपनाउनुपर्छ, त्यहीअनुरूपको आफ्नो छवि बनाउनुपर्छ । ठूलो सङ्ख्यामा नेपालीको हत्या गरेरै नेपाली राजनीतिको मूल प्रवाहमा आउनुभएको भए पनि माओवादी अध्यक्ष प्रचण्डको सुरुसुरुमा जुन प्रतिष्ठित प्रकारको छवि थियो अब त्यो छैन, यसो हुनुमा यसबीचमा उहाँले पदका निम्ति देखाउनुभएको तदारुकता र आफ्नै बोली प्रमुख हो । सस्ता कुराहरूले मानिसको प्रतिष्ठामा व्यापक आँच ल्याउँछ यो राजनीतिमा मात्र नभएर जुनसुकै क्षेत्रका व्यक्तिमा लागू हुने कुरा हो ।
आफ्नाहरूसँग त यस्तै हो, हेर्दै जाऊँ भनेर चित्त बुझाइन्छ तर अन्तर्राष्ट्रिय समुदायका अगाडि भने नेपालीको शिर नराम्ररी झुक्यो । प्रधानमन्त्रीका लागि नेताहरूले गरेको हारालुछले एउटी गरिब आमाका भोका छोराछोरीले कति दिनदेखि खान नपाएर ओछ्यानपरेकी आमाको दूधबिनाको छाती लुछिरहेझैं महसुस गराएको छ । आखिर के छ यो देशमा जसका लागि यत्ति मरिहत्ते गरिरहेका छन् नेताहरू – यदि काम गर्ने, संविधान बनाउने या मुलुकलाई सही दिशातिर हिँडाउनका लागि यस्तो गरिँदै छ भने यी सब गर्नलाई सत्तामा पुगिरहनु नै पर्दैन, सत्तामा रहेरभन्दा नरही गर्ने कामहरू अहिले धेरै छन् । बाहिरै बसेर हिजोको सरकारलाई सहयोग गरेरै पनि यहाँ गर्न सकिने धेरै कुरा थिए । तर, आफ्नै पार्टीका नेताको सहयोग हिजोको सरकारलाई प्राप्त भएन । जो आयो उसैलाई सहयोग नगर्ने, बाहिर-बाहिर शान्ति र संविधानको नारा दिने भित्रभित्र के गर्दा ‘डिस्टर्व’ गर्न सकिन्छ भनेर योजना बनाउने अनि यो मुलुकको भविष्य कसरी राम्रो हुन्छ – भविष्यको के कुरा यहाँ त वर्तमान नै अन्योलपूर्ण छ । भोलि सरकार निर्माणकै विषयलाई लिएर हाम्रा नेताहरूले वैदेशिक हस्तक्षेप भयो भनेर ठूलो स्वर गरे भने आश्चार्य मान्नुपर्दैन, तर वैदेशिक हस्तक्षेप कसले निम्त्यायो भनेरचाहिँ उनीहरूले सोच्ने छैनन् । वास्तवमा यत्तिका समयसम्म मुलुकलाई अन्योलमा पारेर हाम्रा नेताहरूले यहाँ वैदेशिक हस्तक्षेपलाई खुला निमन्त्रणा गरिरहेका छन् । जुन स्वाभिमानी सबै नेपालीका लागि लज्जास्पद कुरा हो ।