नेपालको सन्दर्भमा कम्युनिस्ट अभिशाप हो

नेपालको सन्दर्भमा कम्युनिस्ट अभिशाप हो


Ratnanidhi Regmi

– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

नेपाली पद्य फाँटमा रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ चर्चित नाम हो । साहित्येत्तर विधा ज्योतिषमा पनि उनको विशेष दख्खल देखिन्छ भने पुराना पत्रकार, शिक्षक, भाषा सम्पादनदेखि आयुर्वेदमा पनि बृहत् अध्ययन गरेका रेग्मी लामो समयसम्म वामपन्थी आन्दोलनमा पनि सक्रिय थिए ।

० कति वर्ष पुग्नुभयो ?
– ५१ वर्ष नाघियो । तर, आफूलाई यत्रो वर्ष सित्तैमा गएजस्तो लागिरहेको छ ।

० उपलब्धिविहीन ?
– पूरै उपलब्धिविहीन त नभनौँ, तर धेरै गर्न सकिएन ।

० काव्य फाँटमा त नाम चर्चित नै छ क्यार, होइन र ?
– अलिअलि त भइहाल्छ नि । तर आफूले सोचेजस्तो चाहिँ बिल्कुलै भएन ।

० त्यस्तो असन्तोष केमा लागेको छ ?
– यो उमेरमा धेरैवटा काव्य, महाकाव्य, निबन्ध आदि बनाउन सकिन्थ्यो, तर भ्याइएन । त्यसैमा मात्र मेरो असन्तोष हो ।

० समय छँदै सोच्नुपर्ने होइन र ?
– लामो समय राजनीतिमा लागियो, मुद्दा–मामिलामा अल्झिनुप¥यो, घरबास गयो, नोकरी र पढाइसमेत गयो । कालान्तरमा पाटीको बास भयो । अहिले त बाँच्न नै धौ–धौ छ, न लेख्न फुर्सद न त पढ्न नै फुर्सद ।

० त्यति हुँदा पनि यति धेरै विषय कसरी पढ्न सक्नुभएको छ त ?
– यी त व्यवसायमा आवश्यकता परेकाले अध्ययन गरियो । आधाउधि त अरू विषयमा पनि पढियो होला ।

० किन बढी महाकवि देवकोटामा केन्द्रित हुनुभएको नि ?
– नेपालमा अन्तर्राष्ट्रियस्तरमा पुग्नसक्ने तीनजना व्यक्तित्व जन्मे । धर्ममा सिद्धार्थ गौतम बुद्ध, साहित्यमा लक्ष्मीप्रसाद देवकोटा र राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला । यी तीनैजना सत्यवादी र निष्ठावान् व्यक्तित्व पनि हुन् । म यी तीनैजनालाई उच्च सम्मान गर्छु । तैपनि साहित्यमा मलाई देवकोटा मन पर्ने हुँदा लामो समय उनैका विषयमा लगाएँ । खर्च पनि निकै भयो । तर, अफसोच देवकोटा महाकाव्य लेख्न चाहेर पनि पाइनँ ।

० तपाईं त पुरानो कम्युनिस्ट, बहुदल आएपछि कम्युनिस्टहरू सत्ताको सत्तामा छन्, मद्दत गर्दैनन् र ?

– कम्युनिस्टहरूमा मानवता हुँदैन भन्थे, पहिले त म पत्याउँदिनथेँ । तर, पछिल्ला घटनाक्रमले के देखायो भने त्यो यथार्थ रहेछ । मालेदेखि बाबुरामजीसित गरी २४ वर्ष कम्युनिस्टमा खटियो । तर, उनीहरू सत्तामा रहँदा तँ कसरी बाँचेको छस् भनेर सोध्दा पनि सोधेनन् । ०५४ को बिरामीपछि डेराभाडा तिर्नसमेत धेरै गा¥हो प¥यो, पछि दुई वर्ष पात्रा र अरू ८–९ वटा पुस्तक छपाउँदा टाटै पल्टिएँ । केही वर्ष सार्वजनिक भवनमा पनि बसेँ, तर तिनै कम्युनिस्टहरूले पार्टीलाई समर्थन नगरेको निहुँमा निस्कन बाध्य पारे ।

० भनेपछि कम्युनिस्टहरू त गरिबका लागि काम लाग्दा रहेनछन् ?
– आजभोलि त मलाई कम्युनिस्ट नेपालका लागि अभिशापैजस्तो लाग्छ । यिनले हामीजस्ता सिर्जनशील मानिस कतिलाई घर न घाटको बनाए । असभ्य देशमा ज्यादा कम्युनिस्ट हुँदारहेछन् । सभ्य र विकसित समाजमा कम्युनिस्ट नै हुँदैनन् । कम्युनिस्टभित्र पक्षपात, भेदभाव, पूर्वाग्रह तथा निन्दा, हत्याजस्ता तल्ला तहका भावना मौजुदा हुँदारहेछन् । उनीहरूमा विखण्डनको भावना पछौटे समाजभन्दा बढी हुँदोरहेछ । यदि त्यस्तो हुन्नथ्यो भने जातीय राज्यको कुरा उठाउँदैनथे । उनीहरूको दिमाग कर्मकाण्डिया बाहुन र धामीझाँक्रीभन्दा पनि तल्लो श्रेणीको हुँदोरहेछ । बाहुनले त अझ काटमारै गर्दैन, त्योभन्दा पनि गएगुज्रेको यिनीहरू छन् ।

० अब व्यक्तिगत कुरा गरौँ, विवाहचाहिँ किन गर्नुभएन ?

– म कार्लमाक्र्सको दर्शनबाट अति प्रभावित व्यक्ति हुँ । बीपीले ‘म माक्र्सवादी हुँ, तर कम्युनिस्ट होइन’ भन्नुभएको कुराले मलाई असाध्यै छोयो । विश्वका माक्र्सवादीहरू प्रायः घरबार गर्नतिर लाग्दैनन् । घरबार र परिवारबाट व्यक्तिवाद जन्मन्छ भन्ने ठान्दछन् । भारतका केही माक्र्सवादीहरूसित मेरो सहकार्य पनि भयो । केही अमेरिकन र फ्रेञ्चसित पनि । माक्र्सवादबाट प्रभावित मानिसले घरबारको सोचाइ नराख्ने हुँदा मैले पनि राखिनँ ।

० तर, नेपालका कम्युनिस्टहरूका ठूला घर, जमिन, राम्रा–राम्रा तरुनी श्रीमती, मोटर, कार छन् नि ?
– नेपालमा कम्युनिस्ट छन् भन्यो भने विदेशीहरू हाँस्दारहेछन् । उनीहरू यहाँका कम्युनिस्टहरूलाई ठगभन्दा बढी ठान्दा रहेनछन् । मचाहिँ माक्र्सको खोल ओढेका कसाहीका रूपमा हेर्ने गर्छु । नेपालका कम्युनिस्टहरू केहीबाहेक कसाहीभन्दा पनि त्रूmर तथा हिंस्रक जत्था मात्र हुन् । आज देश गरिब बनाउने पनि तिनै हुन् ।

० आजको पत्रकारिता कस्तो लाग्छ ?
– कान्तिपुर, नागरिक, घटना र विचार साप्ताहिकलगायत केही पत्रिकाहरू पढ्ने गर्छु । राम्रै लाग्छन् ।

० नेपाली साहित्यको स्तर नि ?
– गएगुज्रेको हालतमा छ । मदन पुरस्कारै बिग्रिसक्यो । सङ्घ–संस्था कमाइखाने भाँडा भए । सबैतिर दलका गुण्डा मात्र छन् । एकेडेमीले कोटा सिस्टममा पुरस्कार दिन्छ । नाम प्रज्ञा भए पनि दलका कार्यकर्ता भर्ती केन्द्रजस्तो मात्र छ । नेपालीमा व्याकरण त कुरै छोडौँ, राम्रो शब्दकोशसमेत छैन ।

० अन्त्यमा केही भन्नु छ कि ?
– नेपाली भाषा साहित्यमा लागिरहन पाऊँ भन्ने ईश्वरसित प्रार्थना गर्दछु । घटना र विचार साप्ताहिकलाई धन्यवाद दिन चाहन्छु ।