पुरुष घरेलु हिंसाको सिकार बनेपछि…

पुरुष घरेलु हिंसाको सिकार बनेपछि…


– मुक्तिनाथ भुसाल

प्रहरी नायव उपरीक्षकका रूपमा अर्घाखाँची प्रवेश गर्नुभएका नवरत्न पौडेलले पदभार सम्हालेपश्चात् प्रस्तुत गर्नुभएका केही उदाहरणीय कार्यको जिल्लामा सकारात्मक चर्चा हुने गरेको छ । घरभित्रै कैदी जीवन बिताएका सन्धिखर्क नगरपालिका–२ निवासी भोजबहादुर जीसीको गत वैशाखमा गरिएको उद्धारका लागि सर्वसाधारणले उहाँको मुग्धकण्ठले प्रशंसा गरेका छन् । राजनीतिक संयन्त्र र त्यसैको इसारामा चल्न बाध्य बनेको कर्मचारीतन्त्रभन्दा बाहिर उठेर प्रजिअ र डीएसपीजस्ता राष्ट्रसेवकहरूले उक्त केशमा देखाएका आँट तथा सुझबुझपूर्ण कारबाहीबाट प्रभावित केही युवाहरू थप सामाजिक कार्यमा हौसिए पनि हालका दिनमा उनीहरू अभिभावकविहीन बनेका गुनासोका साथै थोरबहुत विकृतिले समेत प्रश्रय पाएको अनुभूति हुन थालेको छ ।

सन्धिखर्क नगरपालिका– १० पकले निवासी ३९ वर्षीय गोपाल अर्याल पागल नभए पनि उनलाई पागल घोषित गराएर अतीतमा गरिएको चरम घरेलु हिंसाको अपराधबाट छुटकारा पाउने दुस्प्रयासमा सम्बन्धित घरपरिवार लागिपरेको बुझिएको छ । घरपरिवारको निर्मम कुटाइबाट बायाँहात लुलो गराई ज्यान बचाउन अर्याल ०७२ चैतमा सन्धिखर्क आएका थिए । त्यसैक्रममा मनोपरामर्शकर्ता तेजेन्द्र पाण्डे, सहयोगी बीसीलगायतका युवाहरूले उनलाई करिब एक महिनाजति रेखदेख गर्दा उनी पागल नभई घरेलु हिंसामा परेका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए । त्यसपश्चात् पङ्क्तिकारसहितको एक समूह पीडित गोपाललाई साथमा लिएर उनको घरमा पुग्दा बुबा तथा कान्छो भाइका परिवार घरमा र जेठा दाजु जागिरको लागि पाल्पा जिल्लामा रहेको बुझियो । साथै घरपरिवारले तिनलाई काँडेतार र फलामे साङ्लाले बाँधेर भीरबाट पल्टाइदिएकोसम्मका दृष्टान्त र सो कार्यमा प्रयोग भएका सामग्रीहरू पीडित गोपालले सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

कुनै पनि मानिस स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ र गलत काम गर्नेलाई कानुनसम्मत दण्ड दिने अधिकार राज्यलाई मात्र सुरक्षित रहेको बुझाइका साथ मौखिक र लिखित उजुरी प्रजिअ सुरेन्द्र पौडेलसमक्ष पेस गरिएको थियो । जसको फलस्वरूप गत जेठ ४ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले च.न. १८४० को पत्रद्वारा मनोपरामर्शकर्ता तथा महिला बालबालिका कार्यालयलाई साथमा राखी दुवै पक्षलाई रोहवरमा राखी छलफल गराएर आवश्यकीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची पठाइएको पत्र १५७५ नं. मा दर्ता भए पनि हालसम्म उक्त युवकले न्याय पाउने गरी कुनै प्रगति नभएको बुझिएको छ । यसै प्रसङ्गमा मनोपरामर्शकर्ता पाण्डेलाई केशको बारेमा जिज्ञासा राख्दा पीडितलाई भन्दा पनि पीडितको अभिभावकहरूलाई प्रहरीको तर्फबाट संरक्षण गरिएको तथा प्रशासनको पत्रमा लेखिएअनुसारका प्रक्रिया पूरा नगरिएको बताएका छन् ।

Hinsa

पीडित गोपाललाई हिंसाबाट मुक्ति दिलाउने उद्देश्यबाट नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष तथा प्रेस चौतारीका अध्यक्ष हिमबहादुर जीसी लेकाली एउटा ठूलै समूहका साथ यसै साता जिल्ला प्रहरी कार्यालयमा पुगेका र उच्चपदस्थ व्यक्तिहरूले गोपाल अर्याल पागल भएको कारण अलिकति रकम जुटाएर निजलाई काठमाडौं पठाइदिन सुझाव दिएको बुझिएको छ । सदरमुकाम सन्धिखर्कमा न्यायका लागि भौँतारिएका उक्त युवकलाई गत साता पत्रकार लेकालीले करिब दश दिन आफ्नो घरपरिवारसँग राखेका थिए । लेकालीका अनुसार उक्त युवक पागल नभएको, तर चरम घरेलु हिंसामा परेको बुझाइमा विश्वस्त रहेका छन् । श्री जनता कृष्ण उमावि पकलेका प्राचार्य ईश्वरीप्रसाद भुसालसँग उनका बारेमा जिज्ञासा राख्दा गोपाललाई पागल भन्न त मिल्दैन, तर घरायसी बेमेलका कारण केश मिलाउन कठिनाइ बनेको छ र यसका लागि प्रहरीले नै उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने बुझिएको छ । जसका लागि पनि प्रनाउ पौडेलले यस मामलामा गम्भीरता अपनाउनु उपयुक्त देखिन्छ ।

यसैगरी, केही दिनअघि रतनमारे जिप दुर्घटनामा १२ जनाले अकालमा ज्यान गुमाएसँगै यातायातका साधनप्रति प्रहरीको बढ्दो निगरानी प्रशंसनीय भन्नुपर्छ । गत शुक्रबार बाध्यात्मक परिस्थितिका कारण एउटा ट्याक्सीद्वारा जिल्लाको चाक्ला पुग्ने क्रममा ट्याक्सीचालकले आफ्ना मालिकलाई टेलिफोन गरी आज धेरैका लाइसेन्स र बिलबुक प्रहरीले मागेर लगिदिएको कारण मिलाएर कागजात ल्याइदिन मालिकलाई जानकारी गराएका थिए । यसरी सवारीसाधनको बिलबुक र लाइसेन्स लिएपछि तत्कालै राजस्व काट्ने वा पर्चा दिने दायित्व प्रहरीको होइन र ? यसप्रति पनि प्रनाउ पौडेलको ध्यान पुग्नु उपयुक्त होला ।
यस्तै, अर्घाखाँची जिल्ला रेमिट्यान्सले धानिएको जिल्ला भएको कारण सदरमुकाममा बसोबास गर्ने महिलालाई विकृति–विसङ्गति तथा ठगीबाट बचाउन अलग्गै रणनीति अवलम्बन गरिनु आवश्यक देखिन्छ । रोजगारीका लागि परदेश गएका युवाका चेलिबेटी तथा परिवारलाई अनेक प्रलोभन र गुमराहमा पारेर अस्मिता लुट्ने तथा अनेकौँ वहानामा सम्पत्ति हडप्ने प्रयासमा सक्रिय गिरोहलाई पनि कानुनको दायरामा ल्याउनु उपयुक्त देखिन्छ । लजका एउटै कोठा दिनमा तीनपटकसम्म भाडा लगाएर रकम असुल्नेहरूसमेत सक्रिय रहेको परिवेशमा आफ्नो कार्यकालमा अनुकरणीय कार्य गर्ने अठोट पाल्नुभएका जोसिला डीएसपी पौडेलले स्थानीय सचेत तप्कासँग समन्वय गरी कर्तव्य निर्वाह गर्न पछि पर्नुहुँदैन भन्ने विवेकशील स्थानीयवासीको सुझाव छ ।