बीपीका नजरमा पिताजी कृष्णप्रसाद

बीपीका नजरमा पिताजी कृष्णप्रसाद


SN Karki

– स्वयम्भूनाथ कार्की

मानवले केही स्वभाव जन्मजात पाएको हुन्छ, केही पुख्र्यौली परम्परामा आउँछ अनि एक ठूलो भाग शैशवकाल र बाल्यकालमा भोगेका भोगाइबाट आउने गर्दछ । शैशवको स्मरण त सामान्यतया कसैलाई रहन्न, तर बाल्यकालको स्मरण भने कुनै न कुनै रूपमा आउने गर्दछ । समान परिस्थितिमा एकै परिवारमा पालिएका एकै बाबुआमाका सन्तानमा पनि स्वभावमा जुन अन्तर देखापर्ने गर्दछ त्यो त्यही जन्मजात स्वभावको असर हो । जन्मजात स्वभावको अनुमान गर्न नसके पनि कसैको व्यक्तित्व अध्ययन गर्नुपर्दा त्यसमा आमाबाबु, शैशव र बाल्यकालको परिस्थितिले धेरै तथ्यहरू दिन्छ । किशोर अवस्थाका भोगाइ, शिक्षादीक्षा, तालिम आदि कुराहरूबाट निर्मित व्यक्तित्व तथा क्षमता बुद्धिको होइन ज्ञानको श्रेणीमा पर्दछ जो मानवले जीवनपर्यन्त हासिल गरिरहेको हुन्छ । जन्मजात तथा पुख्र्यौली कारणबाट प्राप्त बुद्धि भने जीवनपर्यन्त एकनास रहन्छ । त्यसैले बीपीको अध्ययनमा पिताजी कृष्णप्रसादका विभिन्न आयामहरू खोतल्न आवश्यक हुन्छ ।

यो लेखमालामा सन्दर्भ सामग्रीको रूपमा केवल ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’ मात्र लिइएको छ । केवल यसैमा आधारित भएर मात्र बीपीलाई बुभ्mने यो प्रयत्न केवल एकै कितापमा मात्र आधार हुनका दुई कारण छन् । पहिलो कारण बीपीले यो पुस्तक अभिलेख रहोस् भनेर गराएको रेकर्डमा आधारित छ, अनि दोस्रो बीपीको सम्पूर्ण व्यक्तित्व निर्माण कसरी भएको रहेछ भन्ने तथ्य यति प्रचुर मात्रामा अन्यत्र एकै स्थानमा पाउन सकिन्न । अपवादबाहेक सन्तानले आफ्नो बाबुलाई आफ्नो आदर्शपुरुष मान्ने गर्दछन्, अवचेतनमा आफूलाई बाबुकै आदर्शमा ढाल्ने कोसिस गर्दछन्, यो प्रकृतिको नियम हो । यसमा बीपी अपवाद थिएनन् । बीपीको सम्पूर्ण अस्तित्व निर्माण हुँदा उनको आदर्श पुरुषको खाका कस्तो थियो त्यसको जवाफ यस पुस्तकमा पाइन्छ । कृष्णप्रसाद कोइरालाका अन्य पक्ष पनि होलान् तर एक सन्तानले देखेको बाबुको प्रतिरूपकै आधारमा उनलाई हेर्ने प्रयत्न गरिएको छ । शुरुमै बीपी पिताजीलाई विलक्षण भनेर भन्छन् र कारण दिन्छन्, ‘त्यसबखत उहाँको कुनै पृष्ठभूमि थिएन, गाउँबाट आउनुभएको थियो । यी सबै गर्नका लागि कसरी प्रेरणा पाउनुभयो उहाँले ?’

यस पुस्तकमा आएका धेरै कुराहरू र अन्यत्र उल्लेख कुराहरूमा विवाद गर्न सकिने बुँदाहरू पनि छन् । तर, यी कुराहरू बीपीले बालापनदेखि नै आफन्तका मुखबाट सुनेका, देखेको भोगेको कुरालाई त्यसै आधारमा बुझेका हुनाले यी कुराको सत्यापन गर्न आवश्यक छैन । किनभने यी सबै कुराले बीपीको व्यक्तित्व निर्माणमा उपयोग भइसकेको छ र अहिले यो सत्य हो वा होइन स्थापित तथ्यले भइसकेको काम उल्टाउने होइन । दुम्जाका प्रभावशाली ब्राह्मण परिवारको सदस्य कृष्णप्रसाद कोइराला वालिग भएपछि पहाड छोडेर मधेस लागे । संस्कृत र फारसीको अध्ययन त पारिवारिक पृष्ठभूमि र परम्पराले गरेकै थिए, काठमाडौं बस्दा ब्रिटिस लिगेसनको एउटा मद्रासी क्लर्कलाई ट्युटर राखेर अङ्ग्रेजी सिके । व्यापार गरे, देशभरका भन्सार अड्डा ठेक्कामा लिए । कोलकातामा पनि अफिस खोले, जे काम गरे त्यसमा सफल भए ढुङ्गा छुँदा हीरा र माटो छुँदा सुन भयो । आसपास परेका सबैले मान्ने मान्छे भए । त्यस जमानामा लाखौँको कमाइ गरे, दुम्जाका एक बाहुन युवकको यो प्रगतिको कथा दन्त्यकथाभन्दा कम छैन । यस्तैमा उनले आफ्ना लागि मात्र कमाएर पुग्दैन अरूको निमित्त पनि गर भन्ने आसयको आकाशवाणी सुने ।

बीपीको बुझाइमा पिताजी धार्मिक प्रवृत्तिका त थिए, तर कर्मकाण्डी होइनन् । त्यसैले क्रान्तिकारी थिए, गान्धीजीसँग विचारधारा मात्र मिलेको होइन अनुहार व्यवहार पनि मिलेको जस्तो बीपीलाई लाग्दथ्यो भन्ने कुरा परिच्छेद १५ मा छ । बीपीले कर्मकाण्डी नदेखे पनि कोलकाताको ठनठनिया कालीमन्दिरमा कालो र रातो टीका लगाएर काली स्तवन स्तोत्र गरेको सुनेर स्वामी विवेकानन्दको भाइले लिएर गएर अनुशीलन भन्ने आतङ्कवादीको सङ्गठनमा लगाइदिएको कुरा त्यही परिच्छेदको अन्ततिर गरेका छन् । नेपाल छोड्नुभन्दा पहिला कोलकाताको रेन्किन टेलर्सको लुगा तथा कोलकातामै बनेको ब्रिटिस बनोटको जुत्ता लगाउने पिताजीलाई बीपीले सोखिन भन्छन्, तर सोख नदेखाउन लुगा खुजमुज्याएर र जुत्तामा धुलो लगाएर लाउने गरेको प्रसङ्ग पनि छ । आकाशवाणीपछि हनुमानदासलगायतका सहयोगी साथीहरूले मनाही गर्दागर्दै विराटनगरमा अस्पताल र स्कुल खोलेको कुरा पनि बीपी भन्दछन् । यिनको बुझाइमा पिताजीले विराटनगरको स्थापना गरेका हुन्, कालीमन्दिर बनाएका हुन्, साथै सिराहमा चन्द्रगञ्जबजार पनि स्थापना गराएका हुन् ।

पिताजी कृष्णप्रसाद

चन्द्रशमशेरकी रानीको संरक्षकत्वमा कालिदासकी पत्नीको अध्यक्षतामा गठित महिला समितिको सचिवको रूपमा बीपीकी आमा थिइन् । यस्तोमा चन्द्रगञ्जबाट कृष्णप्रसादले चन्द्रशमशेरलाई भरियाको मैलो फाटेको लुगाको पार्सल उपहार पठाए । फर्केर विराटनगर जाँदासम्ममा ठेक्कामा हिनामिना गरेको भनेर पक्राउ पुर्जी पुगिसकेको थियो । जसलाई विराटनगरका बडाहाकिम कर्णेल जितबहादुर केसीले पहिले आफ्नै घोडा दिएर कृष्णप्रसादलाई सपरिवार मुग्लान भगाएपछि मात्र जारी गरे । बडाहाकिमले राणा सरकारलाई यो धोका गरेर साथीलाई मद्दत गरेको कुरा सहजै पचाए । तर, कृष्णप्रसादको सम्पूर्ण सम्पत्ति जफत भयो, यहाँसम्म कि कोलकाताको व्यापार पनि शायद खोसियो । किनभने घाँटीमा नाङ्लो पसल लिएर गल्ली, ट्राममा समान बेचेर गुजारा गर्नुपरेको कपी किन्न नसकेर अखबरको कपी बनाएर छोरालाई पढाउन परेको कठिन अवस्थामा पनि कोलकाताको त्यो व्यापार देखिएन ।

लुगाको पार्सल देखेर सम्पूर्ण खानदानको नै मुग्लानबास गराउने चन्द्रशमशेरलाई मुग्लानबाटै दासत्व उन्मूलन गर्न दबाब दिएको कुरा पनि परिच्छेद १५ मा छ । चन्द्रशमशेरले दासत्व उन्मूलन गरेपछि काजी रत्नमानमार्पmत यो दासत्व मोचन तिमीलाई कस्तो लाग्यो भनेर सोधेको प्रसङ्ग पनि छ । चन्द्रशमशेरले कृष्णप्रसादलाई आयुर्वेदिक औषधि र नेपालमा प्रकाशित किताबहरू नियमित पठाउने गरेका पनि रहेछन् । एकपटक कृष्णप्रसादले अब नेपाल आउन पाऊँ भनेर चिट्ठी लेखेको तर हुलाकमा नखसाई फर्केको कुरा पनि रोचक छ । चन्द्रशमशेर मरेपछि भीमशमशेरले कृष्णप्रसादलाई नेपाल बोलाए र सोधे– तिमीलाई फेरि पुनस्र्थापना हुन कति–के चाहिन्छ ? उनले केही चाहिन्न भने । त्यसरी फुक्कादाम भएका कृष्णप्रसाद नेपाल आएपछि फेरि आफ्नै बलमा कारोबार गर्न मात्र होइन राम्रो कमाउन पनि सफल भए । पिताजीको यो चामत्कारिक रूपले बीपीको व्यक्तित्व निर्माणमा धेरै असर गरेको छ, आपूmमा त्यसको ठूलो प्रभाव परेको कुरा बीपीले शुरुमै भनेका छन् ।