एमाले बचाउ -देवप्रकाश त्रिपाठी

एमाले बचाउ -देवप्रकाश त्रिपाठी


माओवादीले जुन दलमा आँखा लगाउँछ त्यो दल हेर्दाहेर्दै सङ्कटग्रस्त एवम् नाजुक हालतमा पुग्छ भन्ने तथ्यको पुनर्पुष्टि भएको छ । नेपाली काङ्गे्रसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् एमालेपट्टि फर्किएको माओवादी आँखा एमालेमै टाँसिएको छ र सम्भवत: एमालेमा खेलेर मात्र आफ्नो राजनीतिक भविष्य सुरक्षित एवम् सुदृढ हुनसक्छ भन्ने ठम्याइ रहिन्जेल माओवादीले एमालेभित्र छिराएको हात बाहिर ल्याउने स्थिति छैन । गिरिजाप्रसाद कोइराला जीवित छँदा माओवादीले आफ्ना पक्षमा उहाँको उच्चतम उपयोग गरेको हो, काङ्गे्रसभित्र असन्तुष्टि पैदा भए पनि विवाद र तनावको स्थितिचाहिँ सिर्जना भएन । कोइरालाको निधनपश्चात् पनि माओवादीले काङ्गे्रसभित्र आफ्नो पहुँच स्थापित गर्ने प्रयास नगरेको होइन । तर, माओवादीका सवालमा काङ्गे्रस नेतृत्व एकमत एवम् एकताबद्ध रह्यो, कुनै नेताको बर्ुइ चढेर काङ्गे्रसमा सयर गर्न सक्ने अवस्था रहेन । त्यसपश्चात् माओवादीको दृष्टि (कु) एमालेमा सरेको छ र सोही पार्टीमा केन्दि्रकृत हुन पुगेको छ । एमालेभित्र वामदेव गौतमलाई ‘उल्लीबिल्ली’ पारेपछि माओवादीले अध्यक्षको भूमिकामा रहेका झलनाथ खनालसँग विशेष सम्बन्ध स्थापित गरेको छ र उक्त सम्बन्धलाई मजबुत तुल्याउन ‘चिनियाँ सिमेन्ट’को अधिकतम प्रयोग भएको देखिएको छ । कटवाल प्रकरणले झलनाथसँग बन्दाबन्दैको माओवादी सम्बन्धलाई नाजुक मोडमा पुर्‍याएको थियो । त्यसबेला झलनाथबाट धेरै ठूलो धोखा पाएको ठान्ने माओवादी नेतृत्वले लामो समयसम्म झलनाथसँगको संवाद, सहमति या सम्झौतालाई महत्व दिएन । बरु खनाल उनीहरूबाट बारम्बार आलोचित र उपेक्षित भइरहे । तर, गिरिजाप्रसादको देहावसानपश्चात् उत्पन्न परिस्थितिले माओवादीलाई खनालसँगको नाता कसिलो बनाउँदै लैजान बाध्य तुल्याएको छ र माओवादीको यही बाध्यता एमालेका निम्ति महासङ्कटको स्रोत कारण बन्न पुगेको छ ।
गिरिजाप्रसाद कोइरालाको कालखण्डमा काङ्गे्रस पार्टी उहाँको चाहनाविपरीत जानसक्ने अवस्थामा थिएन, काङ्गे्रसले नीतिप्रधान होइन नेताप्रधान नियति भोग्दै आएको थियो । ‘कोइरालालाई समातेपछि सबै कुरा हुन्छ’ भन्ने आमधारणा
थियो र प्रचण्डले पनि यही बुझेर कोइरालासँग सम्बन्ध विकास गर्नुभएको थियो । कोइरालाको अवसानले काङ्गे्रसभित्र माओवादी चलखेललाई शिथिल एवम् प्रभावहीन तुल्याएको छ । मधेसकेन्दि्रत दलहरू माओवादी दृष्टिमा अभरपर्दो रहेका, काङ्गे्रस वैचारिक तथा सैद्धान्तिक रूपले एकताबद्ध हुँदै गएको र एमालेभित्रको बहुमत पक्ष पनि वैचारिक ढङ्गले नै टाढाको दूरीमा रहेको हुनाले झलनाथ खनालसँगको मित्रता माओवादीका निम्ति बाध्यता बनेको निष्कर्ष निकाल्न सकिन्छ । खनाल एमालेभित्रका ‘हार्डलाइनर’ उर्फ’अतिवामपन्थी निकटका नेता’का रूपमा चिनिनुहुन्छ । पार्टीभित्रको वैचारिक मतान्तरमा सदा नयाँ जनवादी क्रान्तिका पक्षमा वकालत गर्दै आउनुभएका खनाल विश्वमा प्रचलित लोकतन्त्रका हिमायती मानिनुहुन्न । मदन भण्डारीको नेतृत्वमा पार्टीले प्रभाव विस्तार गर्दै लगेपछि क्रमश: भूमिकाहीन एवम् प्रभावहीन हुँदै जानुभएका खनालको राजनीतिक हैसियत दुइ वर्ष अघिसम्म नराम्रोगरी खस्किएको थियो । जनवादका पक्षधर सीपी मैनाली पार्टीबाट बाहिरिनुभएको तथा पार्टीमा बहुदलीय जनवादका विरुद्ध जानसक्ने अवस्था र ल्याकत नभएकोले खनाल शिशिर यामको जुकाझैं सुशुप्त र सङ्क्षिप्त हुनुभएको थियो । तर, दुइ वर्षअघि माधव नेपालले पदत्याग गरेर पार्टीको जिम्मा लगाएपछि खनालको राजनीतिक हैसियत मात्र एकाएक बढेन, पार्टीमा अनुदारवादीहरू बलियो हुने स्थिति पनि बन्यो । खनालको नेतृत्वपछि एमालेमा लोकतन्त्रवादीहरूलाई कमजोर तुल्याउने प्रयास हुँदै आएको छ । खनालको अभियानलाई माओवादी र उत्तरको छिमेकीले साथ दिइरहेका छन् । लोकतन्त्रको आधारभूत मूल्य-मान्यताभन्दा अनुदारवादी साम्यवादी धारसँग निकट खनाल, माओवादी र उत्तरको छिमेकीले बेलाबखत गर्ने लोकतन्त्रको व्याख्यामा अन्तर भेटिँदैन । यी तीनैथरी ‘वेस्ट मिनिस्टर’ प्रणाली भनिने उदार लोकतन्त्रका विरुद्ध छन् ।
एमालेले बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएको हुनाले खनाल तत्काल पार्टीको मार्गदर्शक सिद्धान्त नै बदल्न सक्ने हैसियतमा हुनुहुन्न । तर, उहाँको अन्तरात्माले बहुदलीय जनवादको अवधारणालाई आजसम्म स्वीकार गर्न सकेको पनि देखिँदैन । बरु खनाल मदन भण्डारीको कद होच्याउन र उहाँद्वारा प्रतिपादित सिद्धान्तको प्रभावलाई विस्थापित गर्न सूक्ष्म तथा कटिबद्ध भएर क्रियाशील रहनुभएको महसुस हुँदै आएको छ । सीधै मदन भण्डारी र बहुदलीय जनवादलाई उपेक्षा प्रकट गर्ने ल्याकत नभएर झलनाथले आफूमा विद्यमान अप्रकट आक्रोश र उपेक्षा विद्या भण्डारीमाथि पोख्ने गर्नुभएको ठानिन्छ । खनालले विद्याप्रति दर्शाउनुभएको अप्राकृतिक एवम् अमानवीय व्यवहारले पनि उहाँको नियत पक्षको उजागर गर्दै आएको हो । विद्या भण्डारीप्रति खनाल यतिसम्म निर्दयी र कठोर एवम् निर्मम देखिँदै आउनुभएको छ कि भण्डारी रक्तक्यान्सरबाट पीडित भई उपचाररत रहनुहुँदा स्वास्थ्यस्थितिबारे चासो राख्ने सामान्य मानवीय शिष्टता पनि खनालले दर्शाउनुभएन । खनालको यसप्रकारको उपेक्षापूर्ण व्यवहार विद्याका प्रति नभएर मदन भण्डारी र बहुदलीय जनवादको अवधारणाप्रति नै हो भन्ने अर्थमा मानिसहरूले बुझदै आएका छन् । माओवादीले पनि एमालेको बहुदलीय जनवादको अवधारणाप्रति विमति जनाउँदै आएको छ । यही कारणले पनि खनाल र माओवादीलाई निकट तुल्याएको विश्वास गर्न सकिन्छ ।
लोकतन्त्र सुदृढ एवम् संस्थागत तुल्याउने गन्तव्यप्रति सरोकारविहीन उत्तरतर्फको छिमेकी नेपालमा राजतन्त्रको विस्थापनपश्चात् चिन्तित छ र ऊ यहाँ स्थायी एवम् भरपर्दो मित्रशक्तिको खोजीमा रहिआएको तथ्य कसैबाट लुकेछिपेको छैन । बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउँदै संसदीय प्रजातान्त्रिक अभ्यासमा जुटेको एमाले, नेपाली काङ्गे्रस र मधेसकेन्दि्रत दलहरूप्रति विश्वस्त हुनसक्ने सम्भवत: चीन ठान्दैन । माओवादी अगुवाइको सुदृढ वामपन्थी शक्तिलाई नेपाली राजनीतिमा चिरस्थायी बनाउन सक्दा मात्रै नेपाल-चीन सम्बन्ध सुरक्षित र सुदृढ एवम् लाभदायी हुनसक्छ भन्ने विश्वास चिनियाँ पक्षमा रहेको देखिन्छ । खनाल, प्रचण्ड र अब नारायणमान बिजुक्छेसमेतको गठबन्धनले नेपाली राजनीतिमा चिनियाँ चासोलाई उजागर गरेको छ । प्रचण्ड, झलनाथ, नारायणमान र चीनको दक्षिणतर्फको छिमेकी राष्ट्र भारतप्रतिको दृष्टिकोणमा समेत करिब समानता भेटिन्छ । उल्लिखित चार पक्षबीचको अघोषित सान्निध्यको एउटा आधार ‘भारतप्रतिको दृष्टिकोण’ पनि हो भन्न सकिन्छ ।
यी र यस्तै कारणले नेपाली राजनीतिमा नयाँ धु्रवीकरणको क्रमारम्भ मात्र गरेको छैन, धु्रवीकरण प्रक्रियालाई दु्रत ढङ्गले फराकिलो एवम् गहिरो तुल्याउँदै लगेको पनि देखाउँछ । राजनीतिक गन्तव्यमा स्पष्ट मानिएका नेपाली काङ्गे्रस र नेकपा माओवादीको बीचमा नेकपा एमाले समाजवादउन्मुख संसदीय प्रजातान्त्रिक अभ्यासमा क्रियाशील रहेको महसुस देशवासी तथा अन्तर्राष्ट्रिय समुदायले पनि गर्दै आएका थिए । प्रजातन्त्र र समाजवादलाई एकैसाथ देशोपयोगी साधनका रूपमा उपयोग गर्न प्रयासरत एमालेलाई पूर्ण परिपक्वता हासिल हुनु अगावै माओवादी प्रभाव र उत्तरी सक्रियताले बिथोल्ने खतरनाक सम्भावना बढेको छ । मदन भण्डारी प्रतिपादित बहुदलीय जनवाद एमालेको विशिष्ट परिचय हो र यसबाट स्खलित हुँदा एमालेले आफ्नो मार्गदर्शन सिद्धान्त मात्र गुमाउने छैन, मौलिक पहिचान र विश्वसनियताको विघटन हुने पनि देखिन्छ । यतिबेला एमालेभित्र उत्पन्न विवाद र तनावको कारण ‘प्रधानमन्त्री’ या ‘सत्ता’भन्दा बढी सिद्धान्त, विचार र गन्तव्य नै हो । एमाले लोकतन्त्रका पक्षमा उभिने या कथित सर्वहाराको अधिनायकत्वका पक्षमा भन्ने अवस्था जुन झलनाथ खनाललाई शिखण्डी बनाएर माओवादीले सिर्जना गरिदिएको छ, यसले एमालेलाई इतिहासमै सर्वाधिक सङ्कटग्रस्त तुल्याएको छ । माओवादीसँग झलनाथको गठबन्धन हुनबाट माधव-केपी पक्षले जोगाएपछि प्रजातान्त्रिक गठबन्धन बन्न नदिन झलनाथ खनाल डट्नुभएको छ र माओवादीबाट उहाँलाई प्राप्त जिम्मेवारी पनि यही नै हो । बहुदलीय जनवादप्रति प्रतिबद्धता भइदिएको भए खनालबाट यस किसिमको आत्मघाती कदम चालिन सम्भव थिएन, जुनसुकै स्तरको असन्तुष्टिका बीच पनि उहाँ एमाले र लोकतन्त्रको हितका पक्षमा उभिने स्थिति बन्न सक्दथ्यो । विचार, गन्तव्य र सिद्धान्तमा आएको विचलनले झलनाथलाई माओवादीको निकट पुर्‍याएको छ । झलनाथ-माओवादी निकटताको अधिकतम लक्ष्य भनेको एमालेको विभाजनबाहेक केही हो भने खनाल समूहको माओवादीमा विलयसम्म मात्र हुनसक्छ । यसअघि शालीन र भद्र एवम् उदार मानिएका खनालको रूप पछिल्लो समयमा अस्वाभाविक ढङ्गले फेरिएको छ । फेरिएर उहाँ आक्रामक, अभद्र, अनुशासनहीन, अराजक र अराजनीतिक एवम् अविवेकी किसिमले प्रस्तुत हुन थाल्नुभएको छ । खनालमा यसअघि कहिल्यै नदेखिएको निडरता र आत्मविश्वास पनि उहाँले अहिले प्र्रदर्शन गरिरहनुभएको छ । सत्ताइस वर्षअघि -२०३९) को विशिष्ट अवस्थामा विशेष कारणवश पार्टीको महासचिव बनाइनुभएका झलनाथ खनाल उक्त जिम्मेवारी प्राप्त गरेपछि अत्यन्त उत्साही र खुसी हुनुपर्नेमा उहाँ आत्तिनुभएको, पक्राउ परिने र मारिने डरले आतङ्कित हुनुभएको स्मरण आज पनि खनालका समकालिक नेताहरू गर्दै छन् । पार्टीभित्र कायर, डरपोक र अल्छी नेताको छवि बनाउनुभएका खनालमा एकाएक देखापरेको रहस्यमयी परिवर्तनको उद्घाटन एमालेलाई विघटन या विभाजन गराएर मात्र हुने सम्भावना छ । एमालेका सच्चा हिमायतीहरूले समयमै विशेष तत्परता नलिने हो भने एमाले अब एकीकृत पार्टीका रूपमा जीवित रहन मुस्किल हुँदै गएको छ । एउटा अतिवादी विचारसहित राजनीतिमा उदय भएको शक्ति पनि कसरी लोकतन्त्रका पक्षमा परिपक्व भूमिका निर्वाह गर्ने अवस्थामा पुग्न सक्छ भन्ने यथार्थको विश्व दृष्टान्त बन्दै गएको एमाले विघटन या विभाजन भएमा त्यसको क्षति सिङ्गै प्रजातान्त्रिक आन्दोलन र देशले समेत व्यहोर्नुपर्ने छ ।