महावीरको अभियानमा प्रवासबाट सहयोग

महावीरको अभियानमा प्रवासबाट सहयोग


mahabir-pun

नेपाली जनशक्ति र साधन–स्रोत जुटाएर आवश्यक प्रविधि देशभित्रै निर्माण गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र खोल्न नेतृत्व गरेका महावीर पुनको अभियानमा विदेशमा रहेका नेपाली विद्यार्थीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । अध्ययनका लागि स्वीडेनमा रहेका नेपाली विद्यार्थीले चन्दा सङ्कलन गरी एक लाख १२ हजार बीस रुपैयाँउपलब्ध गराएको स्टकहोल्म (स्वीडेन)बाट सुमन बरालले जानकारी दिएका छन् ।

देश–विदेशमा रहेका नेपाली युवा यतिबेला नेपालमा मौलाएको भ्रष्टाचार र बेथितिबाट वाक्क भएका छन् । नेपालमा सुशासन र समृद्धिको कामना गर्ने तमाम युवाका निम्ति आशाको केन्द्र बन्न पुगेका महावीरले साँच्चै नामअनुसारको काम गर्न लागेको भन्दै अध्ययनार्थ प्रवासमा रहेका विद्यार्थीले उनीप्रति कृतज्ञताका साथ धन्यवाद अर्पण गरेका छन् । थोपा–थोपा मिलेर समुद्र बन्छ भनेजस्तै पुनको महाअभियानका लागि जनताको सहयोगबाट आवश्यक रकम उठ्ने आशा व्यक्त गर्दै राष्ट्रिय आविष्कार केन्द्र खुल्ने आशामा रहेका नेपाली युवाहरूको एक समूहले विदेश बस्ने करिब ४० लाख नेपालीले एक दिनको कमाइ मात्र सहयोग गरे पनि ठूलो सहयोग जुट्ने सुझाव दिएका छन् । यसै सिलसिलामा अध्ययन, व्यवसाय, पेसालगायतका कारणले स्वीडेनमा बसोबास गर्ने नेपालीले राष्ट्र विकासको बृहत् अभियानमा साथ दिने उद्देश्यले उल्लेखित रकम सङ्कलन गरी पठाएका हुन् ।

रकम सहयोग गर्नेहरूमा माल्मो, स्वीडेननिवासी घनश्याम कउचा, प्रकाश घिमिरे, सुधन रेग्मी, श्याम थापा, लोकेन्द्र खड्का, कमल भुजेल, नलराज केसी, युवराज भट्टराई अर्जुन राणा र सुमन बराल छन् । यसैगरी स्टकहोल्मनिवासी प्रमोद अर्याल, विकास सुब्बा योङहाङ, अर्जुन श्रेष्ठ, सुवास अधिकारी, हरिचन्द्र तामाङ, अशोक खड्का, मनोज सुवेदी, कृष्णराज केसी, शिव रिजाल, राम बराल, गंगाप्रसाद घिमिरे, दिनेश श्रेष्ठ र रामबहादुर गुरुङले पनि महावीरको अभियानमा सहयोग उपलब्ध गराएर समृद्ध नेपाल निर्माणको अभियानमा प्रतिबद्धता दर्शाएका छन् ।