कल्याणको कब्जामा करोडको गाडी

कल्याणको कब्जामा करोडको गाडी


kalyan-shrestha-2

सर्वोच्च अदालतको न्यायाधीश पदमा रहिन्जेल अवकाशप्राप्त प्रधानन्यायाधीशहरूले सुविधाको नाममा गाडी लिएर जानु उपयुक्त नहुने भन्दै उफ्रिपाफ्री गर्ने कल्याण श्रेष्ठले प्रधानन्यायाधीशबाट अवकाश पाएको ६ महिना बितिसक्दा पनि सर्वोच्च अदालतको गाडी फिर्ता गरिदिएका छैनन् । उनले जापानमा बनेको प्राडो जीप (जसको बजार मूल्य करिब डेढ करोड रुपैयाँ छ) लिएर आफैँसँग राखेका छन् । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवा–सुविधा दिने भनेर निर्णय गरेकोमा उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका तात्कालिक न्यायाधीश भरत उपे्रतीसहितको इजलासले ‘कानुन बनाएर मात्र सेवा–सुविधासम्बन्धी निर्णय लिन’ आदेश दिएको थियो । तर, अहिलेसम्म विशिष्टहरूको सेवासम्बन्धी कानुन संसद्मै अड्किएको छ, पारित हुन सकेको छैन ।

अदालतको फैसलापछि पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठलगायतले आफूबाट प्रयोग भएको गाडी सर्वोच्च अदालतलाई फिर्ता दिएका थिए । तर, दामोदर शर्मा, रामकुमार साह र कल्याण श्रेष्ठलगायतले भने अदालतको गाडी फिर्ता गरेनन् । शर्मा र साहले चालीस लाखभन्दा कम मूल्यका गाडी लिएर गएका भए पनि कल्याणले चाहिँकरिब डेढ करोड मूल्यबराबरको जापानी जीप कब्जामा लिएर राखेका छन् । सर्वोच्च अदालतको प्रधानन्यायाधीशबाट अवकाश प्राप्तहरूमध्ये सबैभन्दा भ्रष्ट मानिने कल्याण श्रेष्ठले डेढ करोडको जीप कब्जा गर्नुलाई उनको चरित्रअनुसार स्वाभाविक भएको पनि कतिपयले ठानेका छन्, तर कतिपयले भने उक्त गाडी तत्काल सर्वोच्च अदालतले फिर्ता लिनुपर्ने भन्दै त्यसनिम्ति पहल गरिनुपर्ने बताएका छन् । सर्वोच्च अदालत परिसरमा अझै पनि कल्याण श्रेष्ठको गन्ध आउने गरेकोले अदालतबाट गाडी फिर्ता लिन पहल हुने ठानिएको छैन ।