चीन भ्रमणप्रति पूर्वराजा सचेत

चीन भ्रमणप्रति पूर्वराजा सचेत


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई चीन भ्रमणको लागि निमन्त्रणा प्राप्त भएको तीन महिना बितिसक्दा पनि उहाँले भ्रमणका विषयमा ठोस निर्णय लिन नसक्नुभएको जानकारी प्राप्त भएको छ । करिब चार महिनाअघि पूर्वयुवराज्ञी हिमानीबाट चीनको भ्रमण भएलगत्तै उहाँलाई चीनबाट सरकारीस्तरमै निम्ता प्राप्त भएको बताइन्छ । आफूलाई अनुकूल हुने समयमा चीनको भ्रमण गर्न निमन्त्रणा पाएको भए पनि भारतसँगको सम्बन्ध र समझदारीलाई दृष्टिगत गरी पूर्वराजाबाट चीन भ्रमणको तिथि तय गर्न हतार नभएको बताइन्छ । राजाका कतिपय हितैषीहरूले भारतमाथि भर नपर्न सुझाव दिँदै तत्काल चीनको भ्रमणमा जानु उपयुक्त हुने राय दिने गरेको बुझिएको छ । तर, पूर्व श्री ५ ज्ञानेन्द्रले त्यसप्रकारका सुझावलाई गम्भीरतापूर्वक नलिनुभएको निर्मलनिवासको एक सूत्रले जनाएको छ ।

गत वर्ष संविधान जारी भएपछि नयाँदिल्लीबाट अपर्झट निम्त्याइँदा पूर्वराजा ज्ञानेन्द्र रातारात दिल्ली पुग्नुभएको थियो र उत्साहसहित स्वदेश फर्कनुभएको थियो । दिल्ली भेटवार्ताको अहिलेसम्म सकारँत्मक परिणाम नदेखिएकोले राजालाई चीन भ्रमण गर्न उहाँका हितैषीहरूले सुझाव दिएका त छन् तर चीनले चाहिँराजाका पक्षमा के गर्न र गराउन सक्छ भन्नेबारेमा केही बताउन सुझावकर्ताहरूले सकेका छैनन् । स्मरणीय छ, पूर्व श्री ५ ज्ञानेन्द्र कुनै आन्दोलन या जनचाहनाका कारण राजसंस्था विस्थापित भएको स्वीकार गर्न सक्नुहुन्न । जसले विस्थापित गरिदिएको हो उसैले स्थापित गर्न सक्छ भन्ने विश्वासमा उहाँरहनुभएको बताइन्छ । त्यसैले पूर्वराजाले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आउनुभएको छ । तथापि आगामी तीन महिनाभित्र राजाको चीन भ्रमणबारे ठोस निर्णय हुन सक्ने अनुमान जानकारहरूले गरेका छन् ।