प्रचण्डको भव्य स्वागत गर्ने भारतीय तयारी : संविधानको स्वागत गराउने प्रचण्डको चाहना

प्रचण्डको भव्य स्वागत गर्ने भारतीय तयारी : संविधानको स्वागत गराउने प्रचण्डको चाहना


prachanda-modi

छिमेकी मित्रराष्ट्र भारत भ्रमणका क्रममा केपी ओलीको भन्दा आफ्नो स्वागत भव्य रूपमा हुने सङ्केत पाएर पनि प्रधानमन्त्री प्रचण्ड पूर्ण रूपले प्रसन्न हुन नसकेको समाचार प्राप्त भएको छ । गत वर्ष भारतको सदाशयतापूर्ण सुझावविपरीत संविधानसभाको नाममा जारी गरिएको संविधानलाई अहिलेसम्म भारतले अन्तस्करणबाट स्वागत गरेको छैन । भारतबाट संविधानको स्वागत हुँदा मात्रै आफ्नो भ्रमण सफल र सार्थक हुने ठम्याइ प्रचण्डको छ । र, उनले आफ्नो भ्रमणको क्रममा भारतले नेपालको संविधानको स्वागत गरिदिए हुन्थ्यो भन्ने चाहना कूटनीतिक र अन्य विभिन्न च्यानलमार्फत प्रकट गरेका छन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासका कूटनीतिक तथा गैरकूटनीतिक प्रतिनिधिहरूसँग पनि प्रचण्डले आफूसँगै ‘संविधानको समेत भव्य स्वागत हुने’ व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् । तर, अहिलेसम्म यस सम्बन्धमा नयाँदिल्लीबाट प्रचण्डले आफ्नो इच्छाअनुरूपको जवाफ पाएका छैनन् । संविधानप्रति भारतको सहानुभूति र सद्भाव झल्कने सन्देश प्रकट हुने जवाफ मात्र प्रचण्डले अहिलेसम्म पाएका छन् ।

प्रचण्डले भ्रमणपूर्व नै मधेसी मोर्चाको माग र भावनाअनुरूप संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता होस् भन्ने चाहना सम्भवतः नयाँदिल्लीको थियो । यदि संशोधन प्रस्ताव दर्ता भइदिएको भए संविधानको स्वागत गर्ने मार्ग प्रशस्त हुन पनि सक्थ्यो । संशोधनमा दलीय सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि प्रचण्डले संसद्मा संशोधन प्रस्ताव दर्ता गराउन सकेनन् । त्यसैले केपी ओली भारत भ्रमणमा जाँदा स्वागत नगरिएको संविधान यथावत् रहेको अवस्थामा प्रचण्डले चाहे भन्दैमा भारतले कसरी स्वागत गर्न सक्ला भन्ने जिज्ञाशा उत्पन्न भएको छ । तथापि संविधान संशोधन प्रस्ताव दर्ता मात्र गरिएको भए पनि भारतबाट संविधानको स्वागत हुन सम्भव रहेको जानकारहरू बताउँछन् । यद्यपि प्रचण्डले नयाँदिल्ली पुगेर पनि भारतीय नेताहरूलाई नेपालको संविधानको पक्षमा खुलेर बोलिदिन जिद्दी गर्ने सम्भावना भने छ । बाह्रबुँदे सम्झौताको भावनाअनुरूप बनेको संविधानप्रति भारतको एउटा पक्ष सुरुदेखि नै सकारात्मक रहँदै आएको छ, तर भारतीय संस्थापनको भने नेपाली संविधानप्रति एकप्रकारको रिजर्भेसन रहेको छ । ओली नेतृत्वको सरकार विस्थापित भएर प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा नयाँदिल्लीमा एकप्रकारको प्रसन्नता अवश्य देखापरेको छ, तर यो प्रसन्नता नेपालको संविधानलाई जस्ताको त्यस्तै स्वागत गर्ने हदसम्मको भएको ठानिएको छैन ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण राजकीय हुने र नयाँदिल्लीमा प्रचण्डलाई अति भव्य किसिमबाट स्वागत गर्ने तयारी पनि भइरहेको छ । भारतमा प्रचण्डको भ्रमणलाई लिएर दुई साताअघिदेखि नै प्रचारबाजी भइरहेको छ । भारतका प्रभावी सञ्चारमाध्यमहरूले प्रचण्डको भ्रमणलाई उच्च महŒव दिएर प्रचार गरिरहेका छन् । सरकारी टेलिभिजन दूरदर्शनलगायत अन्य टेलिभिजन र राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूले प्रचण्डको अन्तर्वार्ता प्रसारण–प्रकाशन गर्ने क्रम सुरु गरिसकेका छन् । प्रचण्डलाई पनि ओलीलाई झैँराजकीय सम्मानका साथ राष्ट्रपति भवनमै राखिने भएको छ । प्रचण्डको इच्छाअनुरूप उनलाई हिमाञ्चल प्रदेशमा सञ्चालित एक जलविद्युत् आयोजना र अन्य केही औद्योगिक प्रतिष्ठानहरूको अवलोकन गराइने भएको छ ।

प्रचण्डको मागअनुसार उनको जन्मस्थल ढिकुरपोखरीमा भारत सरकारले सत्तरी करोड रुपैयाँलगानीमा एक ‘पोलिटेक्निक’ भवन निर्माण गरिदिने भएको छ । त्यस्तै करिब चार सय मेगावाट क्षमताको अरुण पहिलो आयोजनामा भारतले ३० प्रतिशत इक्विटी लगानी गरिदिने सम्भावना रहेको छ । दोस्रो चरणको हुलाकी मार्ग निर्माणसम्बन्धी सम्झौतामा पनि भ्रमणका क्रममा सम्झौता हुनसक्ने बुझिएको छ । पनौतीमा प्रहरी एकेडेमी निर्माण गर्ने र पूर्व–पश्चिम रेलवे निर्माणको लागि सर्वेक्षण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने जानकारी पनि प्राप्त भएको छ । यसबाहेक भूकम्पपीडितलाई दिइने सहयोग रकम वृद्धिका बारेमा पनि दुईपक्षीय सहमति हुनसक्ने प्रचण्डनिकटको सूत्रले जनाएको छ ।

नयाँदिल्लीमा प्रचण्डको भ्रमणलाई ‘भव्य’ बनाउने तयारी भइरहेको भए पनि काठमाडौंमा भने प्रचण्डको भ्रमणले कुनै उत्साह पैदा गरेको छैन । तथापि प्रचण्डको आत्मतुष्टिका निम्ति भने यो भ्रमण ‘सफल’ रहने देखिएको छ ।