कृष्णप्रसाद कोइराला : अदभूत व्यक्तित्व

कृष्णप्रसाद कोइराला : अदभूत व्यक्तित्व


SN Karki

– स्वयम्भूनाथ कार्की

जहानियाँ राणाशासन नै एक मात्र यस्तो प्रणाली थियो जसमा राजाको वंश परम्पराको समानान्तर प्रधानमन्त्रीको परिवार परम्परामा शक्ति हस्तान्तरण हुन्थ्यो । सामान्यतया राजसंस्थामा एकै पिँढीमा दुईले गद्दी आरोहण गर्दा पहिलोको अन्य सबै उत्तराधिकारी नभएको अवस्था हुनुपर्ने हुन्छ । तर, राणहरूको जहानियाँ शासनमा भने रोलक्रम राखेर एक पिँढी नसकिउन्जेल अर्को पिँढीमा उत्तराधिकार जाँदैन थियो । यही जहानियाँ शासनका अन्तिम प्रधानमन्त्री श्री ३ मोहनशमशेरले सिंह दरबारमा बीपीलाई सोधे, ‘अनि, तिमीहरूले गाथ–गादी ताक्न खोजेका होइनौ ?’ परिच्छेद २५ मा बीपी भन्छन्, ‘यहाँ सरकारै राज होइबक्सिन्छ । तर, हामीलाई नागरिक अधिकार चाहिन्छ’ भन्ने जवाफ दिए । तर कृष्णप्रसाद कोइरालाको पुर्पुरोमा अलग्गै कुरा लेखिएको थियो । आफ्ना तीन भाइ छोरा मात्र होइनन् सालीका छोरासमेत श्री ३ बस्ने गरेको सिंहदरबारमा बसेर नेपालको बागडोर समाउन पुगे । परिच्छेद ५ मा बीपी यो नाता यसरी बताउँछन्, ‘अनि मेरो सानिमा, आमाकी बहिनी, उहाँ आउनुभएको थियो हाम्रो घरमा । उहाँले यति रमाइलो मान्नुभयो कि म यही घरमा बिहा गर्छु भन्न थाल्नुभयो– कोसँग भने सुशीलको पिता बोधप्रसादसँग, मान्नुभएन बिहा गर्नुभयो ।’

पुस्तकमा कृष्णप्रसाद कोइरालाका अद्भूत व्यक्तित्वका प्रसस्त उदाहरण छन् । चन्द्रगञ्जबाट विराटनगर फर्कंदा विराटनगरका बडाहाकिम कर्णेल जितबहादुर केसीले उनलाई गिरफ्तार गर्नु भन्ने आपूmलाई आएको आदेश अटेर गरेर आफ्नै घोडामा मुग्लान भगाए । कृष्णप्रसादको सम्मोहन यस्तो देखिन्छ कि चन्द्रशमशेरले यो कुरा थाहा पाएको भए कर्णेल साहेवको सम्पूर्ण खानदानको कस्तो दुुर्गति हुन सक्थ्यो त्यो बडाहाकिमको जिम्मेवारी सम्हालेका कर्णेल साहेवलाई थाहा नहुने कुरै भएन । पिताजी सपरिवार बनारस गएपछि बीपीका काका गोर्खामा हाकिम भएकै अवसरमा समातिए, बीपीकी आमाको बाजे पनि समातिए । कसै गरेर उनीहरू भाग्न सफल भए । सबै भागेर बनारस पुग्दा ४५ जनाको डफ्फा भयो । कृष्णप्रसादले बनारसको ठठेरी बजारमा दुई ठूला चोक र करिब २०–२५ कोठा भएको घर घर लिएर राख्नुपरेको प्रसङ्ग परिच्छेद ३ को अन्ततिर छ ।

यस्तैमा जंगबहादुरको परिवारसँग सम्बन्धित बाबुसाहेबले आफ्नी बहिनीको पैसा दिएर खेतीपाती गर्न जमिन किन्न प्रेरित गरे । जमिन किनेर कमाइ खाने तर जमिन भने आफ्नो भाञ्जाकै स्वामित्वमा रहने गरेर भागलपुरको टेढीमा त्यो जमिन लिइयो । चन्द्रशमशेरबाट सताइएका कृष्णप्रसादलाई आड दिन बाबुसाहेब आइपुगे जसलाई बीपी जंगबहादुरको परिवारसँग सम्बन्धित भनेर सम्झन्छन् । मातृकाबाबुको पढाइको जिम्मा लिन सप्तरीका डाक्टरले साथ लैजान्छन् सर्त गरेर कि छोराजस्तो राख्छु, पढ्नलाई महिनाको पन्ध्र रुपैयाँ दिन्छु । यसरी जेठा छोरा दरभंगामा बसेर पढ्छन् । मातृकाबाबु पनि पिताजीको भाइलाई पढाउने जिम्मेवारी केही घटाउन आपूmले पाउने महिनाको पन्ध्र रुपैयाँबाट चार रुपैयाँ भाइलाई नियमित पठाउँछन् । त्यसबेलाको यो चार रुपैयाँको कत्रो मूल्य थियो त्यो परिच्छेद ५ मा बीपी भन्छन्, ‘अब त्यही चार रुपैयाँबाट फिस पनि तिर्थे, कपी, इन्स्टुमेन्ट बक्स, साबुन इत्यादि पनि किन्थे । लुगा म रेडिमेड किन्थेँ गान्धी आश्रममा गएर ।’

पिताजी कृष्णप्रसाद

छोरा हरिहर हैजाले मर्दा कात्रो किन्नेसम्म हविगत नभएको अवस्थामा कोल्हापुरको महाराजकोमा कृष्णप्रसाद पुगे । परिच्छेद १७ मा बीपी त्यो कुरा सम्झन्छन् । ‘महाराजले एउटा पुरानो दरबार खाली गरेर बस्न दिएछ, उसको नयाँ दरबार बनेपछि पुरानो दरबार खाली नै थियो । काला संगमरमरहरू छन् दरबारमा । सारा मिलिटरीहरूले दरबारमा सैल्युट गर्ने । उहाँ भने सद्धे लुगाफाटो छैन । खानलाई सारा फ्रुटका जुसहरू, फलपूmलहरू, मासुहरू आइरहेका छन् ।’ महाराजकी दिदी हर्ताकर्ता रहिछन् । उनको विवाह ग्वालियरको राजकुमारसँग भएको थियो, पछि राजा त्यही भयो भनेपछि ती दिदी विजयाराजे सिंन्धिया पो थिइन् कि भनेर लख काट्न सकिन्छ । उनी सिकारमा जानुभन्दा पहिले कृष्णप्रसादलाई सोधपुछ गर्थिन् के चाहियो भनेर । त्यसैअनुसार बँदेल, हरिण इत्यादि मारेर ल्याउँथिन् । बिस्कुटहरू पनि विदेशी आउँथे । यसलाई कृष्णप्रसादको अद्भूत व्यक्तित्वको सम्मोहन नै भन्न सकिन्छ ।

चन्द्रशमशेरले उठीबास लगाएका कृष्णप्रसाद भीमशमशेरका छोराले कनिङ भनेर भन्दा त्यसमा ठाडै प्रतिवाद गरेर मैले क्लेभरको अर्थमा भनेको हो भन्न बाध्य बनाउँछन् । दशैँमा टीका थाप्न जाँदा जुत्ता फुकालेर जानुपरेको रनाहामा पद्मशमशेरलाई हाक्काहाकी जुत्ता फुकालेर आउनुपर्ने भए म आउँदिनँ भन्न भ्याउँछन् । यी सब रोचक प्रसङ्ग परिच्छेद १९ मा आएका छन् । आफ्नो गिरफ्तारीबाट बच्न भागेर भारत पसेका कृष्णप्रसादलाई चन्द्रशमशेर आयुर्वेदिक दबाई पठाइदिन्थे, नेपालमा प्रकाशित किताबहरू पठाइदिन्थे । यति मात्र होइन, कृष्णप्रसादको दासत्व मोचन गर्ने सल्लाह मानेर दासत्व मोचन गरेपछि तिमीलाई कस्तो लाग्यो भनेर सोधी पनि पठाएका थिए भन्ने कुरा बीपीले आत्मवृत्तान्तमा भनेका छन् । कृष्णप्रसादको जीवनमा यस्ता विरोधाभाषका कुराहरू घामछायाजस्तो निरन्तर देखापरिरहेको पाइन्छ ।

महिला समितिमा आफ्नी रानीलाई संरक्षक बस्न दिने चन्द्रशमशेर कृष्णप्रसादले भरियाका फाटेका लुगाको पार्सल पठाउँदैमा किन त्यतिसाह्रो रिसाए कि ४५ जनाको डफ्फा नै मुग्लान पस्न बाध्य भयो भन्ने शङ्का गर्न त सकिन्छ, तर जितबहादुर कर्णेलले उनलाई भगाएको पनि ऐतिहासिक तथ्य हो । कृष्णप्रसादले भन्सार ठेक्कामा लिएको पनि प्रमाणिक कुरा हो । यस्तो अद्भूत जीवन र व्यक्तित्व देखापर्छ कृष्णप्रसादको । उनको यही अद्भूत व्यक्तित्वको छत्रछायामा हुर्केका उनका दीर्घजीवी छोरा–भतिजाहरू सबै नै नेपालको प्रधानमन्त्री भए । थप अद्भूत कुरा के छ भने राणाका छोरा भतिजाहरू प्रधानमन्त्री हुन्, उनीहरूसंँग राज्यको समग्र शक्ति थियो, तर कृष्णप्रसादका छोरा–भतिजा प्रधानमन्त्री हुन त्यो शक्ति थिएन । केवल प्रजातन्त्रको शक्तिले मात्र यो सम्भव भयो । तसर्थ यो संयोगलाई राणाहरूको जहानियाँ शासनकै प्रक्रिया भन्न भने मिल्दैन । तर, एक अद्भूत संयोग भने हो कि नेपालमा प्रजातन्त्र वा लोकतन्त्र छ भनिएको कालको ठूलो हिस्सामा भने प्रधानमन्त्रीको पद उनकै छोरा भतिजाको आसपास रहेको छ ।