‘हिंसाप्रेमीहरूको संवाद’

‘हिंसाप्रेमीहरूको संवाद’


resham-chaudhari

नेपालमा हिंसात्मक घटना गराएर राज्यद्वारा अपराधीको सूचीमा राखी ‘फरार’ भनिएको व्यक्तिसँग प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीमा भेटवार्ता गर्नुभयो । कुनै रेसम नामधारी चौधरी (जो कैलाली हत्याकाण्डका मुख्य योजनाकार हुन् र दिल्लीमै बसिरहेका रहेछन्) सँग भेटवार्ता गरिरहँदा सम्भवतः प्रचण्डले आफ्नो विगत सम्झिएको हुनुपर्छ । त्यसैले ती चौधरीलाई आफूसँगै मञ्चमा राखेर वार्तालाप गर्दा प्रचण्ड भावुक र गम्भीर मुद्रामा देखिनुभएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । माओवादीका नाममा नेपालमा निर्दोष नागरिक तथा सुरक्षाकर्मीको बीभत्स हत्या हुँदा ‘महान् क्रान्तिकारी घटना’ भएको ठान्नुहुने प्रचण्डमा कैलालीमा बर्बरतापूर्ण तरिकाले हत्या गरिएका सुरक्षाकर्मी र दुई वर्षीय बालकप्रति कुनै प्रकारको संवेदनशीलता रहेको ठानिँदैन, बरु उहाँको सहानुभूति राज्यद्वारा किटान गरिएको यिनै अपराधी रेसम चौधरीपट्टि रहेको विश्वास गरिन्छ ।

नयाँदिल्लीमा रेसम चौधरीसँग प्रचण्डले गरेको भेटवार्ताले देशभित्रका अन्य अपराधीहरूको मनोबल बढाएको मात्र छैन, राज्यको रक्षाका निम्ति अहोरात्र खट्ने सुरक्षाकर्मीको तेजोबधसमेत गरेको छ । राजनीतिक आवरणमा हुने आपराधिक क्रियाकलापको अन्त्य माओवादी हिंसात्मक युद्धको विसर्जनसँगै भएको ठानिएको थियो । कैलाली बीभत्स घटना र प्रधानमन्त्री प्रचण्डको व्यवहारले मुलुकमा प्रचण्डहरू क्रियाशील रहेसम्म राजनीतिक आवरणमा गरिने आपराधिक क्रियाकलापमा विराम नलाग्ने स्पष्ट सङ्केत गरेको छ । २०६३ को परिवर्तनअघि राजतन्त्रलाई सबै समस्याको जडका रूपमा प्रचार गरिन्थ्यो र राजतन्त्रको अन्त्यपछि समस्या समाधानको ढोका खुल्ने र फेरि कसैले हतियार उठाउनु नपर्ने दाबी गरेको पनि सुनिन्थ्यो । तर, कैलाली घटना र प्रधानमन्त्री प्रचण्डको व्यवहारले नेपालमा अनिश्चित कालसम्म राजनीतिक आवरणमा हिंसात्मक घटना भइरहने सङ्केतहरू दिएको छ ।

हिंसालाई राजनीतिको एउटा अभिन्न अङ्ग बनाउनेहरू ती जुनसुकै वाद–विचारका भए पनि एकै ठाउँमा हुन्छन् र कुनै पनि समय उनीहरूबीच सहकार्य हुनसक्छ भन्ने सन्देश पनि प्रचण्ड–रेसम संवादको घटनाले दिएको छ । आफैँ प्रधानमन्त्री भएका बेला त प्रचण्ड देशको कानुन आफूमातहतको प्रहरी सङ्गठन तथा अन्य सुरक्षा निकाय र सुरक्षाकर्मीको पारिवारिक सदस्यहरूमा पर्ने संवेदनशील असरसमेतको विचार नगरी आतङ्ककारी भूमिकाका व्यक्तिलाई भेट्दै हिँड्छन् भने सत्ताभन्दा बाहिर रहँदा प्रचण्डको गतिविधि कस्तो रहला, स्वतः अनुमान गर्न सकिन्छ । प्रचण्ड–रेसम भेटघाटलाई नेपालको शान्ति, स्थायित्व र विकासका पक्षपातिहरूले निकै गम्भीरताका साथ लिएका छन् ।