
– मोतीराज बम
पहिलोपटक देखेको हुँ मैले
सिंहदरबार गेट ।
गाउँबाट काठमाडौं आउँदा
बाटोमा,
मकै पोलिरहेका वृद्ध आमाहरू देखेँ
भारी बेकिरहेका वृद्ध बाहरू देखेँ
सपनाको पिठ्यूँझोला बोकेर
सुदूर यात्रामा निस्किएका
लामका लाम युवाहरू देखेँ
काठमाडौं पुगेपछि त आफ्नै आँखाले
विशाल सिंहदरबारको गेट देखेँ ।
गेटमा गेटपास माग्नेहरूको लाम देख्दा
लाग्यो, गाउँ मभन्दा पहिला नै आइपुगेछ काठमाडौं ।
गाउँमा,
चामलको लाम
नुनको लाम
मलखादको लाम
यसरी नै त लाग्थ्यो ।
औसत लोगो लगाएका मान्छेहरू भने
बेरोकटोक भित्र छिर्छन्
उनीहरूलाई उल्टै स्यालुट गर्छन् सुरक्षाकर्मी ।
मैले सुनेको छु
यही विशाल गेटभित्र
जालजस्तै योजना बुन्छन्
त्यही जालमा
कोही आफैँ पर्छन् कोही अरूलाई पार्छन् ।
गेट बाहिर
वर्षौंदेखि
नेपाल पालमुनि छ
बस्तीमा बाढी पस्यो
हुरीले छाना उडायो
भुइँचालोले त जरै उखेल्यो धरहराको
कोही वास्ता गर्दैन, कोही मतलब राख्दैन ।
गेटभित्र त
कोही लोगो लगाएका
कोही झन्डा हल्लाएका
कोही ब्रिफकेस बोकेर
अग्ला अग्ला भवनको सिँढी उक्लँदै गरेका
निकै सभ्य समुन्नतजस्ता देखिने
सुकिला मान्छेहरूको भीडमा
हाम्रा चन्द्रे काका पनि रहेछन् ।
चुनाव जितेर आएपछि चन्द्रे काका त
माननीय चन्द्रविक्रम भएछन्
माननीय चन्द्रजंग भएछन्
माननीय चन्द्रशमशेर पनि भन्दा रहेछन् कता–कता ।
ओ हो !
यति परिवर्तनशील सिंहदरबार ?
यति सिर्जनशील सिंहदरबार ?
यति चामत्कारिक सिंहदरबार ?
सिंहदरबारको,
यो गेटसँग भेट भएपछि त
अच्चम्म सुसंस्कृत हुँदोरहेछ मान्छे
मैले चन्द्रे काकाको ओजस्वी अनुहार हेरेर मनमनै भने
पख् डाँका फर्केर आउलास्
गाउँमै विचार गरौँला ।
प्रतिक्रिया