मनमोहनसँग चर्चमा

मनमोहनसँग चर्चमा


harihar-birahi-2

– हरिहर विरही

म भोलिपल्ट स्कुटर चढेर नक्साल गएँ, सोभियत सूचना केन्द्रमा । केन्द्रका निर्देशकले बताए, ‘तपाईंलाई हाम्रो सरकारले मे दिवसको अवसरमा पाहुनाका रूपमा निम्त्याउन खोजेको छ, तपाईंको सहमति प्राप्त भएपछि विस्तृत कार्यक्रम आउँछ, के तपाईं जान सम्भव छ ?’

मैले खुसी व्यक्त गर्दै सहमति जनाएँ । त्यसैबेला डा. काशीराज उपाध्याय (प्राकृतिक चिकित्सक) कोठामा पस्नुभयो । कुरैकुरामा थाहा भयो, नेपालबाट तीनजना पठाउने रहेछ, मनमोहन अधिकारी, डा. काशीराज र म । अर्थात् एकजना राजनीतिक, एकजना सामाजिक र एकजना सञ्चार क्षेत्रसम्बद्ध । रुस जानेहरूप्रति सरकारको अनुदार नीतिका कारण रसियन राजदूतावासले पनि चोरबाटो बनाएको रहेछ ।

मे दिवसमा निम्ता गर्नका लागि ट्रेड युनियनजस्तो देखिने कुनै संस्था चाहिने । तर, पञ्चायतकालमा त्यस्तो संस्था स्थापना गर्न सम्भव थिएन । त्यसैले सम्भवतः यस्तै प्रयोजनका लागि मौरीपालक सङ्घ नामक संस्था दर्ता गरेर राखिएको रहेछ । त्यसबेला रूस समर्थक मानिनुहुने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अग्रसरतामा दर्ता भएको उक्त संस्थाको अध्यक्ष थिए, ईश्वरीचन्द्र शर्मा ज्ञवाली । रूसले त्यो संस्थालाई तीनजना प्रतिनिधि पठाउन सिफारिस गर्ने र त्यसले हामी तीनजनाको नाम पठाउने तय भएको रहेछ । मैले जिज्ञासा राखेँ, ‘सरकारले मलाई विशेष पासपोर्ट दिँदैन होला, साधारण पासपोर्टमा सोभियत सङ्घको नाम हुँदैन अनि भिसा कसरी मिल्छ ?’

उक्त सूचना केन्द्रका हर्ताकर्ता अरविन्द रिमालले भने, ‘चुपचाप साधारण पासपोर्ट बनाइहाल्नुस् । अरू व्यवस्था हामी मिलाउँछौं ।’

म तुरुन्त सिंहदरबार पुगेँ, परराष्ट्र मन्त्रालय । पासपोर्टसम्बन्धी निर्णय गर्ने अधिकारी यादवकान्त सिलवालले भने, ‘यी रसियनहरूले हैरान पारे । हुँदाहुँदा एउटा राम्रो पत्रकारलाई पनि कम्युनिस्ट बनाउने भए । निम्ता ल्याउनुस् अनि मात्र राहदानी दिन्छु, निम्ता नभई म दिन सक्दिनँ ।’

मैले उनीहरूले लिखित रूपमा केही नदिने रहेछन् भन्दै पासपोर्ट भए पठाउने ग्यारेन्टी गरेको बताएँ ।

उनले भने, ‘यो हामीलाई थाहा छ । उनीहरूले लिखित रूपमा केही दिँदैनन् र दिल्ली हुँदै एरोफ्लोट (रसियन वायुसेवा) बाट पठाउँछन् । आफ्नो देशको प्रगति देखाएर हाम्रोजस्तो देशका मानिसमा कम्युनिस्ट व्यवस्थाप्रति आस्था जगाउने रसियाको एउटा रणनीति हो यो । त्यसैले औपचारिक निम्ता नभएसम्म कम्युनिस्ट देशमा जान पासपोर्ट दिन मिल्दैन ।’

म जिल्ल परेँ । निराश भएर सिलवालको कोठाबाट बाहिर निस्किएँ ।

त्यसबेला परराष्ट्रमन्त्री थिए, शैलेन्द्रकुमार उपाध्याय । कम्युनिस्ट पृष्ठभूमि भएका उनी उदारवादी पञ्च मानिन्थे । बेलाबेलामा उनका अन्तर्वार्ता र विचार छापिरहने भएकोले उनीसँग राम्रै सम्बन्ध थियो । परराष्ट्रमन्त्री बनेलगत्तै उनले मलाई आफ्नो घरमा बोलाएर डिनर पनि ख्वाएका थिए ।

म उनको कोठामा पसेँ र समस्या बताएँ । उनले तुरुन्तै फोनबाट सिलवाललाई बोलाएर भने, ‘उहाँलाई म राम्ररी चिन्दछु । पासपोर्ट बनाइदिनुस्, केही फरक पर्दैन । कम्युनिस्ट देशमा घुम्न जानेहरू समर्थक भएर मात्र होइन, विरोधी भएर पनि फर्किन्छन् । उहाँ के हुने हो, के थाहा ? केही दिन मस्को जाँदैमा उहाँ कम्युनिस्ट बन्नुहोला जस्तो मलाई त लाग्दैन । तपाईं चिन्नुहुन्न, उहाँ कट्टर काङ्ग्रेस हो नि !’

सिलवाल फर्किएपछि उपाध्यायले प्रशासन यन्त्रको आलोचना गर्दै भने, ‘के गर्ने, यिनीहरू दरबारले नभनी केही गर्दैनन् । मन्त्रीहरू त देखौवा मात्र हुन् । मन्त्रिमण्डल दरबारको कठपुतली मात्र हो । हेरौँ, तपार्इंको काम भइहाल्छ कि ?’

म फेरि सिलवालकहाँ पसेँ । उनले ६ वटा फोटोसहित फारम भरेर दर्ता गर्न र एक सातापछि आउन भने । यसरी पास पोर्ट बन्यो, २२ अप्रिल १९८७ (२०४४ वैशाख ९) मा ।

पासपोर्ट बनेको जानकारी दिएपछि रसियन राजदूतावासले डाक्यो । तीनैजना जम्मा भयौँ । पासपोर्ट दियौँ । फारम भ¥यौँ । मनमोहनजी र काशीराजजीले पहिले नै पासपोर्ट बनाइसक्नुभएको रहेछ ।

मनमोहनजीले आफूले पासपोर्ट बनाउँदाको कथा सुनाउँदै भन्नुभयो, ‘मैले त राजासँग हुकुम प्रमाङ्गी गराएर पासपोर्ट बनाएको हुँ । मलाई टीबी लागेको थाहा पाएपछि चिनियाँ राजदूतले तपार्इं पासपोर्ट बनाउनुस्, म इलाजको लागि पेकिङ पठाइदिन्छु, सबै खर्च हामी व्यहोरौँला भनेका थिए । तर, पासपोर्ट कसरी बनाउने ? मैले राजासँग भेट मागेँ । राजाले स्वास्थ्य सोधे ।

‘मैले स्थास्थ्य ठीक नभएको बताएपछि उनले म प्रधानमन्त्रीलाई भनिदिन्छु, सरकारले उपचार गराइदिन्छ भनेका थिए । अनि मैले सरकारी खर्चमा उपचार गराउँदा मान्छेले के सोच्लान् भनेर राजाको अफर अस्वीकार गर्दै भने– सरकार, अहिले चाइनिजहरूले इलाज गराइदिन्छौ“ भनेका छन् । उनीहरूले फोकटमा गराइदिन्छन् भने देशको खर्च किन गर्ने ? बरू मलाई पासपोर्ट बक्सियोस्, उनीहरूले राम्ररी इलाज गराइदिएनन् भने म सरकारलाई भनौँला । यसरी राजालाई नै भनेपछि चीन जाने अनुमतिसहितको पासपोर्ट पाएको हुँ ।’

तर, पासपोर्ट पाइसकेपछि चिनियाँ दूतावासले वास्ता नगरेकाले उहाँले रुसी राजदूतावाससँग कुरा गर्नुभएछ । राजदूतले अब जाने टोलीमा तपाईंलाई पठाएर सबै व्यवस्था मिलाइदिन्छु भनेपछि उहाँले अफगानिस्तानमा रसियन हस्तक्षेपबारे पहिले जारी गरेको वक्तव्यविपरीत अर्को वक्तव्य दिनुभएको रहेछ । उहाँ भन्नुहुन्थ्यो, ‘त्यसबेला अफगानिस्तान सरकारलाई रसियन सेनाले सहयोग नगरेको भए अमेरिकी साम्राज्यवादीले कब्जा गर्ने थिए । रसियन सेना अफगान सरकारकै अनुरोधमा पसेको हो नि ।’

साधारण पासपोर्टमा रूसको नाम उल्लेख नहुने भएकाले राजदूतावासले राहदानीमा भिसाको छाप नलगाएर छुट्टै कागजमा भिसा दिने चलन रहेछ । भिसाको दुई प्रति कागजमध्ये एउटा मस्को प्रवेश गर्ने बेलामा त्यहाँको अध्यागमनमा दिने, अर्को फर्किने समयमा दिने । काठमाडौंबाट शानेवानिको विमानबाट दिल्ली र त्यहाँबाट एरोफ्लोटबाट मस्को । विमानस्थलमा हाम्रो पासपोर्टमा कुनै छाप लगाइएन । अर्थात् रूस गए–आएको पासपोर्टमा कुनै चिह्न हुने भएन । पुलिसभन्दा चोर बाठो । खाने मुखलाई जुँगाले छेकेन ।

मस्को विमानस्थलमा तीनजना रसियन कर्मचारी लिन आएका थिए । त्यसमध्ये बिरा नामकी एउटी दोभाषे सुरुदेखि अन्त्यसम्म हाम्रो साथ रहिन् । डा. काशीराजले सुरुमै उनको नामाकरण गरिदिनुभयो, विराङ्गना ।

मनमोहनजीले विमानस्थलबाट निस्कनासाथ बिरालाई भन्नुभयो, ‘मेरो यात्राको उद्देश्य घुमफिरभन्दा इलाज हो । काठमाडौंबाट राजदूतले रिपोर्ट पठाएकै होलान्, तैपनि सम्बन्धित मानिसलाई याद गराइदिनु है ?’

हामीलाई क्रेमलिन नजिकैको होटेल ‘स्पुतनिक’मा राखिएको थियो, जहाँ ३५ देशका प्रतिनिधि थिए । कोठामा पुगेको केहीबेरमा आयोजकहरूले सबैलाई एउटा–एउटा ब्रिफकेस दिए, जसमा बाक्लो ओभरकोट, टोपी तथा ट्रेड युनियनसम्बन्धी पुस्तिका र लकेटहरू थिए । मिखाइल गोर्वाचोभको पेरेस्त्रोइका र ग्लास्नोस्तको नीतिले विश्वको ध्यान आकर्षित गरेको थियो । त्यसको केही अघिमात्र भ्लादिभोस्तक नामक ठाउँमा गरेको पुनर्निर्माण र खुलापनसम्बन्धी नीतिको व्याख्याले गोर्वाचोभ संसारभर चर्चित थिए । उनले हिम्मतसाथ कम्युनिस्ट पद्धतिलाई लोकतान्त्रीकरण गर्ने अभियान चलाएका थिए ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार मस्कोमा एक दिन हामी तीनैजनालाई त्यहाँको एउटा पुरानो तर भव्य चर्चमा लगियो । विशाल परिसरमा रहेको उक्त चर्चमा प्रार्थना गर्न आउने स्थानीय र विदेशीको ताँती थियो । तर, चर्चको स्याहारसम्भारप्रति राज्यले ध्यान नदिएको प्रस्ट देखिन्थ्यो । बिराले बताइन्, ‘पहिलेपहिले यहाँ स्थानीय मानिस धेरै आउँदैन थिए । त्यसैले सरकारले यसका लागि धेरै बजेट नछुट्याएकाले यस्तो उपेक्षितजस्तो देखिएको हो । राष्ट्रपति मिखाइल गोर्वाचोभको नयाँ नीतिपछि यसतर्फ आकर्षण बढेको छ । अब झन् राम्रो हुन्छ होला ।’

बिराले नै मोमबत्ती ल्याएर दिई । हामी चर्चभित्र गएर मोमबत्ती बालेर शिर झुकाई प्रार्थनामा सामेल भयौँ । होटेल फर्किएपछि ठट्यौली स्वभावका डा. काशीराजले मनमोहनजीलाई व्यङ्ग्य गर्दै भन्नुभयो, ‘क्या हो कामरेड, हाम्रो देशको महान् कम्युनिस्ट नेता विदेश आएपछि चाहिँ चर्चमा गएर प्रार्थना गर्ने ? जनतालाई धर्म नमान भनेर भड्काउने अनि आफूचाहिँ पूजा गर्ने ! यो त भएन नि । पितृभूमिमा चाहिँ जे गरे पनि हुन्छ ? माक्र्सले धर्मलाई अफिम भनेका थिए, तर गोर्वाचोभले माक्र्सलाई नै बाइकट गर्नेजस्तो देखियो नि ? कम्युनिस्टलाई पनि आखिर धर्म चाहिने रहेछ भन्ने शिक्षा कम्युनिस्टहरूको मक्कामदिनाले नै दियो ।’

यो सुनेर नेपाली वाम आन्दोलनका शिखर व्यक्तित्व अधिकारीले किञ्चित सङ्कोच मान्दै र अलिकति हाँस्दै भन्नुभयो, ‘के गर्ने, जस्तो देश उस्तै भेष गर्नुप¥यो नि । निम्ता गरेको ठाउँमा गएर अतिथिले यो गर्छु यो गर्दिनँ भन्न हुँदैन । उनीहरूले सबैका लागि राखेको कार्यक्रममा जान्नँ भन्नुभएन… तर कम्युनिस्ट सत्ताले पनि वैभवपूर्ण चर्चलाई सुरक्षित राखेर आफ्नो देशको इतिहास, संस्कृति, परम्पराको रक्षा गरेको रहेछ । कम्युनिस्ट पार्टीले शासन गरेको यतिका वर्षपछि पनि प्रार्थना गर्न र मोमबत्ती बाल्न यति धेरै मानिस आउनु विचारणीय छ । राजनीतिक सत्ता फेरिँदैमा संस्कार कहाँ मर्दोरहेछ र ?’
birahi-dai

(वरिष्ठ पत्रकार विरहीको पुस्तक ‘आगो निभेको छैन’बाट ।)