प्रचण्डले गरे नेपाली सेनाको प्रशंसा

प्रचण्डले गरे नेपाली सेनाको प्रशंसा


army-1

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्यहरु लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वशान्ति स्थापनार्थ गरेका कार्यहरुको प्रशंसा गरेका छन् । नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन नेपाल सरकारले पुर्ण सहयोग गर्ने दृढता पनि उनले व्यक्त गरेका छन् ।

समसामयिक विषय तथा नेपाली सेनासम्बन्धी जानकारी लिने उद्धेश्यले आइतबार जङ्गी अड्डाको निरीक्षण भ्रमणमा पुगेका प्रधानमन्त्री दाहालले नेपाली सेना राज्यको अन्तिम शक्तिको रुपमा रहेको हुंदा आईपर्न सक्ने जस्तोसुकै चुनौतिहरुलाई पनि सामना गर्न सक्ने गरी तयार रहनुपर्ने कुरामा जोड दिए । महाभूकम्पमा नेपाली सेनाले पु¥याएको योगदानले नेपाली सेना जनतामाझ सम्मानित भएको उनको कथन थियो ।

निरीक्षण तथा अवलोकन कार्यक्रमको आरम्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राख्दै इतिहासका अनेक कालखण्डमा अनेकौं चुनौतीका बाबजुद देशको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको संरक्षण गरी नेपाललाई अक्षुण्ण राख्ने जिम्मेवारी समस्त नेपाली र विशेषगरी नेपाली सेनाको भएको तथा नेपाली सेना व्यवसायिक तथा गैरराजनीतिक संस्थाको रुपमा स्थापित रहेको अनि रहिरहने कटिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमकै दौरान सम्बन्धित विभागका रथीहरुले वर्तमान वस्तुस्थितिको जानकारी गराउनुका साथै नेपाली सेनाको इतिहास, विकासक्रम, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यहरु र भावी कार्यदिशासम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा उपस्थित रक्षामन्त्री बालकृष्ण खाँडले आफ्नो मन्तव्यको क्रममा नेपाली सेनाले स्थापना कालदेखि नै भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि पु¥याउंदैं आएको योगदानको प्रशंसा गर्नु हुदैं नेपाली सेनालाई अझ सशक्त र आधुनिक बनाउंदैं सेनाको क्षमतालाई थप अभिबृद्धि गर्नु पर्ने कुरामा जोड दिए भने बलाधिकृत रथी बलदेव राज महतले समापन मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, भौयितक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी, रक्षासचिव श्रीधर सापकोटा, प्रधानमन्त्री कार्यालय तथा रक्षा मन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीहरूको उपस्थिति रहेको थियो ।

army