प्रदुषण बढाउने डिष्टिलरी बन्द गर्न माग

प्रदुषण बढाउने डिष्टिलरी बन्द गर्न माग


sugar-making

नवलपरासी । इन्दिरा सुगर्स एण्ड एग्रो इण्डष्ट्रिज गंगापुर नवलपरासीले डिष्टिलरी संचालनमा ल्याएपछि बढेको प्रदुषणले पीडित स्थानीयवासीहरु संगठित भई उद्योगअगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै डिष्टिलरी बन्द गर्नुपर्ने माग उनीहरूले दोहो¥याएका छन् । उद्योगले जथाभावी बगाउँदै आएको प्रदुषित पानी थुनेर संघर्षमा उत्रेका स्थानीयवासीहरू मागप्रति बेवास्ता गरिएपछि आन्दोलित हुनुपरेको प्रदुषणपीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवले बताए ।

उद्योगपतिले किसानको मागलाई बेवास्ता गर्दै दादागिरी देखाएपछि जनता विरोधमा उत्रेको स्थानीयको भनाई छ । यसअघि साउन २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय परासीमा उद्योगपक्ष र पीडित स्थानीवासीबीच हुने भनिएको छलफलमा उद्योगपक्ष उपस्थित भएन । उद्योगपति उपस्थित नभएकै कारण प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहबरमा हुने भनिएका कैयौं पटकका वार्ता असफल हुँदै आएको छ ।

विरोध जुलुसमा प्रदुषणप्रभावित क्षेत्र प्रतापपुर, गूठी सुर्यपुरा, गूठी परसौनी, पकलिहवा र नरसही गरि ५ गाविसका एक दर्जन बढी गाउँका १ हजार बढी स्थानीयवासी महिला, पुरुष सहभागी भए ।

जुलुस गूठी परसौनी गाविस–७ पिपरपाती बजार चोकबाट शुरु भई प्रतापपुर गाविस–६ बद्रीघाट परिक्रमा गर्दै पुनः पिपरपाती बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । उद्योगले वायु, जल, ध्वनी र माटो समेत प्रदुषित बनाएको छ ।

सिमावर्ती आधा दर्जन गाविसका स्थानियहरु ध्वनी प्रदुर्षण र दुषित पानीको मारमा पर्दै आएको नागरिकले यसपूर्व पनि चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको अवस्थामा कारखाना ब्यवस्थापनले सुनुवाई नगरेपछि उनिहरुले आन्दोलन थप अगाडि बढाएका हुन् । कारखाना ब्यवस्थापनले स्थानियको माग समयमै सम्बोधन नगर्ने हो भने आन्दोलनका चरण अझ सशक्त हुने बताइएको छ ।

– आरपी उपाध्याय