विकलाङ्ग पदमले दिए विज्ञानलाई चुनौती

विकलाङ्ग पदमले दिए विज्ञानलाई चुनौती


rp-pic

शारिरीक रुपमा अशक्त (विकलाङ्ग) नवलपरासीका पदम चौधरीले शरीर–विज्ञानलाई चुनौती दिँदै अनौठो कला प्रदर्शन गरेका छन् । नवलपरासी, अमरौट–५ का ३० वर्षीय चौधरीले अशक्त अवस्थामा पनि पानीमा हातखुट्टा नचलाई तैरने कला प्रदर्शन गरेका हन् ।

डैनहवा गाउँनिवासी चौधरीले नवलपरासीको सुनवलस्थित लोट्स रिसोर्टको स्वीमिङ पुलमा एक घण्टासम्म लगातार हात खुट्टा नचलाई तैरने अनौठो खेल प्रदर्शन गरेर सबैलाई आश्चर्यमा पारे । नेपालको झण्डा दुबै हातमा लिएर उत्तानो परी चोधरी पानीमाथि घण्टाभर तैरिएका थिए ।

सानै उमेरमा रोगका कारण दुबै खुट्टा गुमाएका पदमले हातखुट्टा स्थिर राखी पानीमा उत्रेर तैरिए । जिवित मानिस पानीमा क्रियाशील नभई माथि तैरनु विज्ञानलाई चुनौती भएको बताइन्छ ।

आफूले लामो साधनापछि यस्तो कलाको विकास गरेको पदम बताउँछन् । घरनजिकैको तुरिया खोला एवम् स्थानीय विभिन्न पोखरीमा दशक लामो साधनापछि उनले यो कला प्रदर्शन गरेका हुन् । कक्षा १२ सम्म अध्ययन गरेका चौधरी मौका पाए अब आफूले यो कला विदेशमा समेत प्रदर्शन गर्ने चाहना व्यक्त गरे । यसका लागि उनले सरकारी सहयोगको अपेक्षा गरेका छन् ।

चार बर्षको उमेरमा दुबै खुटटा गुमाएर विकलाङ्ग भएका पदमले घरदेखि आधा किमि पर रहेको स्कुल हातले टेकी घस्रिएर जाने गर्दथे । नौ कक्षासम्म पढेपछि पढाई छुटेको दुःखेसो पनि उनले गरे । शारिरीक विकलाङ्गताका बाबजुद फुटबल समेत खेल्ने उनी क्यारेम, कराते खेलमा समेत रुचि राख्छन् ।