हिन्दूराष्ट्रका निम्ति विहङ्गम गोष्ठी गरिँदै

हिन्दूराष्ट्रका निम्ति विहङ्गम गोष्ठी गरिँदै


khum-bahadur-khadka

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का हिन्दूराष्ट्र स्थापना महाअभियानलाई अघि बढाउन पुनः जुर्मुराउनुभएको छ । गत वर्षको मङ्सिरमा अस्वस्थ भएयता खड्का आराम गर्दै हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको छ र स्वास्थ्यमा भएको उल्लेख्य सुधारसँगै खड्का हिन्दूराष्ट्र स्थापनाका निम्ति आन्दोलनको तयारी गर्दै हुनुहुन्छ । उहाँको अगुवाइमा आगामी मङ्सिर १५ गते बुधबार राजधानीको प्रज्ञा भवन, कमलादीमा विहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठीको आयोजना गरिने बुझिएको छ र उक्त गोष्ठीमा प्राप्त सुझावका आधारमा भावी कार्ययोजना तर्जुमा गरिने भएको छ । सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको आयोजनामा गरिने विहङ्गम गोष्ठीमा बीपी कोइरालाका सच्चा अनुयायी, हिन्दूराष्ट्र स्थापनाका अभियन्ता तथा समर्थकहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, साधुसन्त, महन्थ र धर्मगुरु तथा आध्यात्मक चिन्तक एवम् बुद्धिजीवीहरूलाई सहभागिताका लागि आमन्त्रण गरिने आयोजकहरूले बताएका छन् ।

नेपाली काङ्गे्रसको आगामी महासमिति बैठकमा नेता खड्काले हिन्दूराष्ट्र स्थापनाको पक्षमा निर्णय लिन प्रस्ताव राख्ने योजना बनाउनुभएको बुझिएको छ । स्मरणीय छ, नेपाली काङ्गे्रसको केन्द्रीय कार्यसमिति, महासमिति र महाधिवेशनमा हिन्दूराष्ट्र या धर्मनिरपेक्षताको विषयलाई लिएर अहिलेसम्म औपचारिक या अनौपचारिक छलफल र निर्णय भएको छैन । तात्कालिक काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइरालाको व्यक्तिगत निर्णयका आधारमा नेपाललाई धर्मनिरपेक्ष बनाइएको थियो । अब एउटा प्रजातान्त्रिक प्रक्रियाद्वारा त्यस विषयमा निर्णय लिने सम्भावना बढेको छ र त्यसको अगुवाइ खुमबहादुर खड्काबाट हुँदै छ । खड्काको यस अभियानमा अर्का नेता डा. शेखर कोइरालाको पनि सक्रिय साथ रहने जानकारी प्राप्त भएको छ । डा. शेखरबाहेक अन्य केही नेताहरू पनि हिन्दूराष्ट्रका पक्षमा दृढतापूर्वक उभिने अपेक्षा नेता खड्काले राख्नुभएको छ ।

हिन्दूराष्ट्रविरोधी नेताका रूपमा काङ्ग्रेसभित्र विमलेन्द्र निधिलाई लिइन्छ । धर्मनिरपेक्षतालाई महान् उपलब्धि भएको दाबी गर्ने निधि महासमितिको बैठकले हिन्दूराष्ट्रका पक्षमा निर्णय लिएपछि कस्तो निर्णयमा पुग्ने हुन् जिज्ञाशाको विषय बनेको छ । ज्ञातव्य छ, काङ्गे्रस महासमितिका सदस्यहरूमध्ये दुईतिहाइभन्दा बढी हिन्दूराष्ट्रको पक्षमा भएको विश्वास गरिन्छ । महासमितिको निर्णय र निर्देशनपश्चात् काङ्गे्रस नेतृत्व हिन्दूराष्ट्रको पक्षमा उभिन बाध्य हुने निश्चित छ । काङ्गे्रसको यस्तो निर्णयले मुलुकको राजनीतिमा कस्तो प्रभाव पार्ने हो आमजिज्ञाशाको विषय बन्ने देखिएको छ ।