पूर्वराजा उत्साहित

पूर्वराजा उत्साहित


gye

खड्ग साट्ने समारोहमा सहभागिता जनाउँदा प्राप्त भव्य स्वागतबाट उत्साहित पूर्व श्री ५ ज्ञानेन्द्र विजयादशमीको अवसरमा विभिन्न शक्तिपीठहरूमा पूजाअर्चनाका निम्ति सरिक हुनुहुने भएको छ । प्राप्त जानकारीअनुसार महाअष्टमीका दिन पूर्व श्री ५ बाट नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, सङ्कटा, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे नक्साल भगवतीबाट सुरु हुने शक्तिपीठ दर्शन शोभा भगवती र रक्तकालीलगायतका निकट मन्दिरहरूमा पैदल यात्राबाट टुङ्गिनेछ ।

यसैगरी, निर्मलनिवास दरबारमा यसपटक सर्वसाधारणका लागि दशैँको टीका दिउँसो ४ बजेबाट सुरु हुने बताइएको छ । त्यसअघि शाही नातेदारहरूलाई टीका लगाउने कार्यक्रम रहेको निर्मलनिवास सूत्रले जनाएको छ । कात्तिक ४ गते राजधानीमा हुने विराट हिन्दू सम्मेलनलाई पूर्व श्री ५ ज्ञानेन्द्रबाट प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पशुपतिको वनकालीमा हुने उक्त विराट हिन्दू सम्मेलनमा विश्वभरका हिन्दू प्रतिनिधिको सहभागिता रहनेछ । पूर्वराजाको समुपस्थितिमा बिहान ११ बजे उद्घाटन कार्यक्रम हुने बताइएको छ । सो सम्मेलनमा पूर्वराजालाई श्री ५ महाराजाधिराजकै रूपमा आमन्त्रण गरिएको आयोजकहरूले जनाएका छन् । नारायणहिटीबाट बाहिरिए पनि संसारभरिका हिन्दूहरूको एक मात्र सम्राट भएकोले उहाँलाई श्री ५ महाराजाधिराजकै रूपमा आमन्त्रण गरिएको उनीहरूको भनाइ छ । त्यस अवसरमा पूर्व श्री ५ बाट विशेष मन्तव्य प्रकट हुने बताइएको छ ।

उता, पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसरमा हिमानी ट्रष्टका लागि नातेदार तथा आफन्तहरूले भारी मात्रामा सहयोग गरेका छन् । जन्मदिनको अवसरमा गत हप्ता सोल्टी होटेलमा आयोजित रात्रिभोजमा आफन्त, नातेदार तथा हिमानी ट्रष्टका पदाधिकारीहरू गरी साढे तीन सयजनाको उपस्थिति रहेको थियो । आफन्तलाई निमन्त्रणा दिँदा पूर्वयुवराज्ञीबाट आफूलाई कुनै प्रकारको उपहार नल्याउन अनुरोध गर्दै बरु भूकम्पमा भत्किएको ठिमीस्थित गणेशको मन्दिर जीर्णोद्धार गर्न हिमानी ट्रष्टलाई सहयोग गर्न आग्रह गरिएको थियो । उक्त आग्रहअनुरूप आफ्ना पति पूर्वयुवराज पारसलगायत सबै नातेदार तथा आफन्तहरूले ट्रष्टलाई सहयोग गरेको बुझिएको छ । हिमानी र पारस अलगअलग बसे पनि पछिल्लो समय सम्बन्धमा निकटता आउन थालेको स्रोतले बताएको छ । पति–पत्नीबीच संवाद प्रारम्भ हुनुलाई शाही परिवारभित्र सकारात्मक रूपमा लिइएको छ । तथापि कुन दिन कुन शीर्षकमा यिनले ‘उपद्रव’ मच्चाउने हुन् भन्ने त्रासबाट भने पूर्वराजपरिवार अझै मुक्त हुन सकेको छैन ।

gyenendra