तरुण दलमा वृद्धहरूको भिडन्त

तरुण दलमा वृद्धहरूको भिडन्त


tarun

नेपाली काङ्गे्रसको प्रभावकारी भ्रातृ संस्था नेपाल तरुण दलको नेतृत्व लिन युवाहरूबीच भन्दा वृद्धहरूका बीच चर्को प्रतिस्पर्धा सुरु भएको छ । भगिनी संस्थाहरूलाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्न काङ्गे्रसका बूढा नेताहरूबीच उत्पन्न भिडन्तको स्थितिले तरुणहरूबीचको प्रतिस्पर्धालाई ओझेलमा पारिरहेको छ । शीर्षस्थ नेताहरूबीचको प्रतिस्पर्धाका कारण अधिवेशनको मिति निर्धारण हुँदै पटक–पटक सर्दै गरेको छ र पछिल्लोपटक आगामी कात्तिक २७, २८ र २९ गते गर्ने गरी अधिवेशनको तिथि तोकिएको छ । तरुण दलको यस अधिवेशनमा आयोजक समितिमा रहनेहरूलाई अध्यक्षको उम्मेदवार बन्न बन्देज लगाइएको छ । पैंतालीस वर्ष उमेरसम्मका व्यक्तिले मात्र तरुण दलको नेतृत्व लिन पाउने वैधानिक व्यवस्थाका कारण कतिपय इच्छुकहरू स्वतः बाहिरिएका छन् भने आयोजक समितिमा रहेकाहरूलाई समेत बन्देज गरिँदा नेतृत्वको सङ्कट पर्ने सम्भावना देखिएको छ । तरुण दलमा कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्ने विषयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल अहिलेसम्म अनिर्णीत छन् । नेता खुमबहादुर खड्का भने अध्यक्षमा कर्ण मल्ल, उपाध्यक्षमा मीनकृष्ण महर्जन र महासचिवमा रोशन यादवलाई चयन गर्नेबारे परामर्शमा रहेको बुझिन्छ । कर्ण मल्ल डडेल्धुरा काङ्गे्रसका सभापति हुन् र उनी अत्यन्त जुझारु एवम् प्रभावकारी युवा नेताका रूपमा काङ्गे्रसभित्र स्थापित छन् ।

नेविसङ्घ र महिला सङ्घमा झैँ तरुण दलमा पनि च्याँखे थाप्ने तयारी अर्का नेता कृष्णप्रसाद सिटौलाबाट भइरहेको छ । सिटौलाले कालिकोटका नारायण भट्टराईलाई अगाडि सार्ने योजना बनाएका छन् । पार्टीको संस्थापन पक्षका भनेर चिनिएका युवा नेताहरू जन्मजय तिमिल्सिना, नागेश्वर यादव, पदम पालुङ्गा र कर्ण मल्ल अध्यक्षको उम्मेदवार बन्न इच्छुक देखिएका छन् भने रामचन्द्र पौडेलको पक्षबाट बहुचर्चित नेतृ लक्ष्मी खतिवडा, मेदिनी सिटौला र टेकराज पौडेलमध्ये एकलाई उम्मेदवार बनाइने सम्भावना छ । अध्यक्ष बन्न दामोदर कोइरालासमेत इच्छुक भए पनि उमेरहदका कारण उनी उम्मेदवार बन्न नपाउने भएका छन् । अन्ततः लक्ष्मी खतिवडा र कर्ण मल्लबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।