सीके राउतका कार्यकर्ता प्रहरी नियन्त्रणमा

सीके राउतका कार्यकर्ता प्रहरी नियन्त्रणमा


hathcadi

स्वतन्त्र मधेश अभियान भन्दै युवाहरुलाई प्रशिक्षण दिइरहेको अवस्थामा डा. सीके राउतका २२ कार्यकर्ता पक्राउ परेका छन् । नवलपरासीका एसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । एसपी चौधरीका अनुसार देश टुक्राउने नियत झल्किने पम्पलेटसहित प्रशिक्षण लिने–दिने कार्य गरिरहेको जानकारी पाएपछि नवलपरासीको रामग्राम–३ स्थित रोयल होटलमा प्रहरी टोली पुगेको थियो । प्रहरी देख्नसाथ भाग्न खोज्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । यस किसिमको प्रशिक्षणले देशमा अस्थिरता जाग्न सक्ने भएकोले पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा स्वतन्त्र मधेश गठबन्धन नवलपरासीका संयोजक मदन यादव, उपाध्यक्ष बालगोविन्द चौधरी, स्वतन्त्र मधेश गठबन्धन रुपन्देहीका संयोजक भुपेन्द्र यादव, दिपक शाह, कन्हैया राजभर, दिलिप यादव, रुदल हरिजन, ओमप्रकाश पासी गरि २२ जना कार्यकर्ता रहेका छन् । हाल सबैलाई थप अनुशन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष दीपुकुमार साह लगायतका सयभन्दा बढी सदस्यहरु सदभावना पार्टीमा प्रवेश गरेका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित एक कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सदस्यता कार्ड तथा फुलमाला र अबिर लगाई उनीहरुलाई स्वागत गरेका थिए । मधेश आन्दोलनको क्रममा फोरम लोकतान्त्रिकले मधेशका लागि कुनै महत्वपूर्ण कार्य नगर्नुको साथै मधेशको मागलाई सम्बोधनका लागि पहल समेत नगरेको आरोप लगाउँदै पार्टी परित्याग गरेको कार्यक्रममा साहले आरोप लगाए । सदभावना पार्टीले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष महतोले अझै पनि मधेशको माग सम्बोधन नभएको बताउँदै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे । जिल्ला अध्यक्ष रामबाबु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सञ्चार राज्यमन्त्री सुरिता साहसहितको उपस्थिति रहेको थियो ।