अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिनुका अनेक कारणमध्ये एक ‘आर्थिक लाभ’सँग जोडिएको पनि पाइएको छ । प्राप्त जानकारीअनुसार एनसेल कम्पनीका मुख्य साझेदार मानिने आचार्य परिवारका एक सदस्य सचिनलाल आचार्यले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो एक काम गरिदिएबापत चार सय करोड (चार अर्ब) रुपैयाँ उपलब्ध गराइदिने वचन दिएका थिए । हालसम्म ‘थ्रीजी’ सेवा उपलब्ध गराइँदै आएकोमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई ‘फोरजी’ सेवा उपलब्ध गराउने अनुमति दिने सर्तमा आचार्यले प्रचण्डलाई घुसबापत उल्लिखित रकम दिने भनी प्रतिबद्धता जनाएका थिए ।
आचार्यको इच्छाअनुसार दूरसञ्चार प्राधिकरणले ‘फोरजी’ सेवामा जान अनुमति दिने सैद्धान्तिक निर्णय पनि दियो । तर, यस सम्बन्धमा अनियमितता भएको र ठूलै रकमको चलखेल हुने सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त निर्णय सम्बद्ध फाइल केही समयअघि नै नियन्त्रणमा लिएको थियो । लोकमानसिंह कार्कीका कारण मुखमै आइसकेको अर्बौं रुपैयाँ गुम्ने स्थिति भएकोले पनि कार्कीलाई पदमुक्त गर्ने निर्णयमा प्रचण्डलगायतका व्यक्तिहरू पुग्नुभएको बुझिएको छ ।
प्रतिक्रिया