मोरङमा नब्बे करोडको बुद्ध !

मोरङमा नब्बे करोडको बुद्ध !


big-buddha

(धरान) । सभामुख ओनसरी घर्ती मगरले जारी संविधानमा केही गुनासा आएकाले संविधान संशोधन गरेर मुलुकमा शान्ति स्थापना गर्ने बताएकी छिन् । मंगलबार सूर्योदय बुद्ध विहारद्वारा धरान–२० नम्बर वडाको छोटी मोरङ पूर्व–उत्तरको डाँडामा निर्माण शुरु हुन लागेको बिग थाउजन बुद्धको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै सभामुख घर्तीले स्थायी शान्तिको लागि समाजमा भएको असमानता धनी–गरिबबीचको खाडल, जातिजाति बिचको विभेद र महिला–पुरुषबीचको असमानतालाई समेत हटाउनुपर्ने धारणा अघि सारिन् । उनले मुलुकमा स्थायी शान्ति कायम गर्नको लागि संविधान कार्यान्वयन गर्न गाह्रो भएकाले सम्पूर्ण राजनैतिक दलहरु एक ठाउँमा उभिनुपर्ने समेत बताइन् । धार्मिक क्षेत्रले देशको पर्यटन क्षेत्रलाई जोडेको बताउँदै धरानमा बन्न लागेको सूर्योदय बुद्ध विहार पर्यटनको आकर्षक केन्द्र बन्नेमा आफु विश्वस्त रहेको सभामुख घर्ती मगरले दाबी गरिन् ।

धरान उप–महानगरपालिकाको संयोजकत्वमा निर्माण हुन लागेको सो बिग थाउजन बुद्धको मूर्ति १ सय ७५ फिट अग्लो हुने बताइएको छ भने बिग बुद्ध वरिपरि साना १० हजार बुद्ध मूर्तिहरु रहने कुरा शिलान्यास मुल समारोह समितिका अध्यक्ष प्रदिप थापाले जानकारी दिए । १० बिघा जमिनमा आगामी दुइ वर्षभित्र निर्माण हुने सो थाउजन बिग बुद्धको निर्माण लागत करिब ९० करोडको हुने बताइएको छ ।

शिलान्यास कार्यक्रममा थाइलैण्डका राजसंस्थाका वरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभन, सूर्योदय बुद्ध विहारका भन्ते मेधाङ्कर, हङकङ नेपाली महासंघका अध्यक्ष रीता गुरुङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
– मनिता चाम्लिङ