भूपू गोर्खासैनिकको प्रशंसामा भारतका राष्ट्रपतिले के भने ?

भूपू गोर्खासैनिकको प्रशंसामा भारतका राष्ट्रपतिले के भने ?


makharji

राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा हालै नेपालको भ्रमण सम्पन्न गर्नुभएका छिमेकी मित्रराष्ट्र भारतका राष्ट्रपति प्रणव मुखर्जीले पोखरा भ्रमणका क्रममा भारतीय सेनाका नेपाली भूतपूर्व सैनिकलाई सम्बोधन गर्दै भूपूसैनिकका योगदानको चर्चा गर्नुभयो । भारतीय सेनामा रहेका नेपालीले भारतको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भूपूसैनिकको वीरताको राष्ट्रपति मुखर्जीले खुलेर प्रशंसा गर्नुभयो ।

पोखराजस्तो सुन्दर नगरीमा भारतीय सेनाका भूपूसैनिकहरूसँग भेटघाट र कुराकानी गर्न पाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति मुखर्जीले पछिल्लो दुई सय वर्षदेखि गोर्खा वीरहरू भारतमा सेवारत रहेको सन्दर्भ आफू तथा भारतकै लागि गौरवको विषय भएको भन्दै गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्यनिष्ठताका साथ सेवा गरेर असाधारण नाम कमाएको उल्लेख गर्नुभयो । भारतमा ३२ हजार गोर्खा सैनिक रहेका र लगभग एक लाख २६ हजार पूर्वसैनिक तथा उनका आश्रितले नेपालमा पेन्सनको लाभ लिइरहेको खुलासा गर्दै उहाँले सबै पूर्वसैनिक नेपाल र भारतबीचको मित्रताको आधारस्तम्भ रहेको बताउनुभयो ।

गत वर्ष नेपालमा आएको विनाशकारी भूकम्पका दौरान भएको क्षतिप्रति म भारतका समस्त जनताका तर्फबाट नेपाल र नेपाली जनताको लागि गहिरो समवेदना व्यक्त गर्दछु भन्दै सम्बोधन आरम्भ गर्नुभएका राष्ट्रपति मुखर्जीले भारत सरकार विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि पूर्ण रूपमा वचनबद्ध रहेको बताउनुभयो । भूपूसैनिकहरूलाई सम्बोधनका क्रममा भारत सरकारले बाँकी मद्दतका अलावा भूकम्पप्रभावित ६ हजार ८ सय ३२ पूर्वसैनिकको सहायताको निम्ति प्रतिपेन्सनर ३२ हजार रुपैयाँ पनि प्रदान गरेको उहाँको कथन थियो ।

पूर्वसैनिकको कल्याणका लागि भारत सरकार हरसम्भव प्रयत्न गर्नबाट कदापि पछि नहट्ने प्रतिबद्धता दर्शाउँदै उहाँले पेन्सनका अलावा भारतीय सेनाले पूर्वसैनिकका आकाङ्क्षामाथि पनि विचार पु¥याएको बताउनुभयो । गत वर्ष लगभग ६ करोड ५० लाख रुपैयाँ विभिन्न कल्याणकारी योजनाअन्तर्गत वितरण गरिएको भन्दै वृद्धावस्थमा भूपूसैनिकहरूको स्वास्थ्य अवस्थालाई ध्यान पु¥याउन नेपालमा पूर्वसैनिक कल्याणकारी स्वास्थ्य योजना लागू गर्नुको अलावा लगभग करोड नेपाली रुपैयाँ गत वर्ष उपचार सहायताको रूपमा वितरण गरिएको जानकारी दिनुभयो । भारतीय सेनाको दशवटा मेडिकल टिम पनि प्रतिवर्ष नेपालमा आइरहेको र अहिलेसम्म ६४ वटा एम्बुलेन्स विभिन्न भूतपूर्व सैनिक संस्थानलाई उपहारस्वरूप प्रदान गरिसकिएको राष्ट्रपति मुखर्जीको भनाइ थियो ।

सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘प्राचीनकालदेखि नै नेपाल र भारतबीच घनिष्ट एवम् बहुमुखी सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ । खुला सीमा तथा मैत्री सन्धिका कारण सबै नागरिक एक–अर्काको देशमा आतेजाते गर्न सक्छन् । नेपाली नागरिकले भारतमा सजिलैसँग व्यवसाय गर्न सक्छन् । दुई देशका नागरिकबीचको यो सम्बन्धले पारस्परिक सम्बन्धलाई अझ उचाइमा लगिरहेको छ । हाम्रा वीर सेवानिवृत्त सैनिकको दुवै देशको सुरक्षा तथा विकासमा महत्वपूर्ण योगदान रहेको छ ।’ उहाँले अगाडि थप्नुभयो, ‘मलाई यो बताउन पाउँदा खुसी लागिरहेको छ कि भारत सरकारको तर्फबाट तपाईं सबैको खुसियाली तथा कुशलताका लागि अत्यन्त धेरै कल्याणकारी योजनाहरू सञ्चालन गरिएका छन् । हाम्रो यो सोच यसबाट झल्किरहेको छ कि प्रतिवर्ष लगभग ३१ अर्ब नेपाली रुपैयाँको पेन्सन वितरण नेपालमा गरिँदै आएको छ । चालू आर्थिक वर्षमा लगभग ४० अर्ब रुपैयाँ एक ¥याङ्क एक पेन्सन तथा सातौँ सीपीसीअन्तर्गत वितरण गर्ने हाम्रो लक्ष्य छ ।’

pokhara