महरासँग किन डराए प्रचण्ड ?

महरासँग किन डराए प्रचण्ड ?


prachanda-mahara

प्रधानमन्त्री प्रचण्डले आफ्नो सर्वाधिक विश्वासपात्र भएकोले कृष्णबहादुर महरालाई महत्वपूर्ण मानिने अर्थ मन्त्रालयको जिम्मेवारी दिएको विश्वास गरिन्छ । तर, बाहिर विश्वास गरिएभन्दा वास्तविकता भिन्न रहेको पाइएको छ । माओवादी सूत्रबाट प्राप्त जानकारीअनुसार प्रचण्ड महरालाई कुनै पनि दृष्टिले विश्वासयोग्य मान्नुहुन्न, आफ्ना गुप्त रणनीतिक योजना बनाउँदा पनि उहाँले महरालाई सामेल गर्ने गराउनुभएको छैन । उपराष्ट्रपति भूमिकाका नन्दकिशोर पुन, वर्षमान पुन, सभामुखको जिम्मेवारीमा रहेकी ओनसरी घर्ती, सुपुत्र प्रकाश दाहाल र मन्त्री जनार्दन शर्मा प्रभाकरलाई मात्र आफ्ना गुप्त बैठकहरूमा प्रचण्डले सहभागी गराउने गर्नुभएको छ । उपप्रधानमन्त्रीसमेत रहेका कृष्णबहादुर महराका पक्षमा एकथरी सांसदहरू भएकोले मात्र प्रचण्ड महरासँग झस्किनुभएको होइन, पछिल्लो समयमा मित्रराष्ट्रहरूसँग बलियो सम्बन्ध बनाएको र आफूविरुद्ध अख्तियारमा रहेको मुद्दा तामेलीमा पठाउन सफल भएकोले महराप्रति प्रचण्ड सशङ्कित हुनुभएको बुझिन्छ । बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्य किरण आफूबाट अलग्गिएपछि प्रचण्डले अब महरा पनि बेग्लै समूह लिएर छुट्टिने शङ्का आफ्ना निकटवर्तीहरूसँग प्रकट गर्न थाल्नुभएको छ ।

हुन पनि कुनै कारणवश निर्धारित समय (चैत मसान्त २०७३) भन्दा पहिले नै प्रचण्ड सत्ताच्यूत हुनुभयो र माओवादीबाट नै कसैले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो भने त्यस्तो अवस्थामा महरा प्रधानमन्त्री बन्न सक्ने प्रबल सम्भावना छ । यो पक्षलाई समेत विचार गरेर हुनसक्छ प्रचण्डले महरासँगको सम्बन्धमा दूरी कायम गर्न थाल्नुभएको छ । दूरी कायम भएकै कारण अख्तियारप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन आयोजना गरिएको कुनै पनि बैठकमा प्रचण्डले महरालाई सहभागी गराउनुभएको थिएन । जनार्दन शर्मा, नन्दकिशोर पुन, वर्षमान र ओनसरी घर्तीहरूलाई प्रचण्डले महरासँग ‘होसियार तथा सचेत रहन’ भन्दै आउनुभएको छ । कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे महराले संसद् सचिवालयमा दर्ता भइसकेपछि मात्र थाहा पाउनुभएको थियो । प्रचण्डले भारत, कृष्णबहादुर महरा र काङ्गे्रसका युवा नेता डा. अमरेशकुमार सिंहले महाअभियोगको प्रस्तावबारे कुनै सूचना नपाउन् भनी निकटवर्तीहरूलाई सचेत गराएकै कारण पार्टीको महासचिव र अर्थमन्त्रीसमेत रहेको नेता महराले महाअभियोग ल्याइने कुराको सुइँकोसम्म पाउनुभएको थिएन । यस घटनाले प्रचण्ड र महराबीच थप दूरी बढाएको छ । लोकमान प्रकरणकै कारण माओवादी पुनः विभाजित भयो भने पनि कुनै आश्चर्य नमाने हुने भएको छ ।