सपना पूरा गर्दै चन्द्रागिरी हिल्स

सपना पूरा गर्दै चन्द्रागिरी हिल्स


24-handragiri-cable-car

प्राकृतिक हरियालीयुक्त सौन्दर्यको रसास्वादन, ऐतिहासिक तथ्यको जानकारी, एकै ठाउँमा उभिएर काठमाडौं उपत्यकाको सम्पूर्ण अवलोकन, मनै लोभ्याउने लहरै हिमशृङ्खलाहरूको दृश्यावलोकन, तीर्थाटन, प्राकृतिक रूपमै मौसमसँग लुकामारी खेल्ने चाहना र केबलकार चढ्ने इच्छा एकैपटक पूरा गर्ने चाहना राख्दै हुनुहुन्छ भने अब तपाईंको त्यो सपना पूरा भइसकेको छ भन्दा फरक नपर्ला । चाहनालाई यथार्थमा बदल्न तपाईंले केवल २–३ घन्टाको समय भने निकाल्नैपर्ने हुन्छ । हो, तपाईंका उपरोक्त रहरहरू नेपालको दोस्रो केबलकार चन्द्रागिरी हिल्स लिमिटेडले पूरा गर्न सुरु गरिसकेको छ, गत साउन २४ गतेबाटै ।

काठमाडौंको थानकोटस्थित प्रहरी चेकपोस्टबाट मात्र १३ सय मिटरको दूरीदेखि नै तपाईंका यी आकाङ्क्षाले मूर्तरूप पाउन थाल्नेछन् । चन्द्रागिरी हिल्स लिमिटेड (चन्द्रागिरी केबलकार) नामक संस्थाले यो व्यवस्था मिलाइदिएको हो ।

२.५ किलोमिटरको दूरीमा ११ थान पोलमा ४१ वटा केबलकार सञ्चालनमा छन् जसमा एउटा केबलकार मर्मतका लागि प्राविधिकले प्रयोग गर्ने गर्छन् र २ वटा सामान ओसार्न प्रयोग हुन्छन् भने ३८ वटा यात्रु ओसार्नका लागि । प्रत्येक केबलकारमा आठजना यात्रुले एकपटकमा यात्रा गर्न सक्नेछन् । यस हिसाबले एक दिनमा १२ हजारभन्दा बढी यात्रुले भालेश्वर मन्दिरको यात्रा गर्न सक्नेछन् । प्रत्येक दिन प्राविधिकले यात्रामा कुनै प्राविधिक समस्या नआओस् भनेर एकपटक चेकजाँच गरेपछि मात्र अन्यका लागि यात्रा खुला हुने बताउनुहुन्छ चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम राणा ।

२.५ किलोमिटरको यात्रा यात्रुको चाप हेरी ९ देखि १४ मिनेटमा पूरै हरियाली पहाडी वन छिचोल्दै पूरा गर्न सकिन्छ । यात्राको अन्तिम बिन्दु २५५१ मिटरको उचाइमा रहेको भालेश्वर मन्दिर हो जहाँमा मनले चिताएका धेरै इच्छामध्ये एउटा मात्र मागेमा पूरा हुने स्थानीयको विश्वास छ । पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्नुअघि यही स्थानमा गएर उपत्यकाको दृश्यावलोकन गरेपछि मोहित भएर जसरी पनि उपत्यका विजय गरिछोड्ने अठोट लिएको इतिहासमा पढ्न पाइन्छ । त्यहाँबाट उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, लहरै गणेश हिमाल, अन्नपूर्ण, सगरमाथाजस्ता हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । यसका अलावा चित्लाङ र अरू वरपर देखिने हरियाली पहाडी दृश्यहरूले मनलाई आल्हादित बनाउँछ ।
अग्लो स्थानमा रहेका कारण मौसमअनुसार एकैछिनमा घाम लाग्ने, तुरुन्तै पानी पर्ने, फेरि हुसुसु कुहिरो आउने, उत्तिखेरै लगलग कमाउने जाडो हुने र हिउँदका बेला हिउँ पनि पर्ने खालको प्राकृतिक विविधता त्यहाँ छ जुन प्राकृतिक वातावरणसँग एकै ठाउँमा बसेर लुकामारी र लडिबुडी गर्न अब धेरैतिर भौँतारिरहनुपर्दैन ।

गत साउन २४ गते भालेश्वर मन्दिरको प्राण प्रतिष्ठा गरेर ११ हजार पाँच सय यात्रुलाई निःशुल्क केबलकार चढाएपछि यसको अनौपचारिक उद्घाटन भएको महाप्रबन्धक राणा बताउनुहुन्छ । स्थानीयवासीको माग र भावनाको कदर गर्दै त्यहाँ कार्यरत कर्मचारीमध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय रहेका छन् । भालेश्वर मन्दिरकै छेउमा २५४७ मिटरको उचाइमा भ्युटावर निर्माण गरिएको छ जो हप्ता–दश दिनमै सञ्चालनमा आउने महाप्रबन्धक राणाको भनाइ छ । काठमाडौं उपत्यकामै रहेका कारण यहाँको वातावरण प्रदूषणबाट वाक्कदिक्क भएकाहरूले फुर्सदको एकै दिन भए पनि त्यहाँ जाँदा भरपूर आनन्द पाउनेछन् । साथमा लिएर गएका स–साना नानीहरू खेल्नका लागि विविध प्रकारका प्रशस्त खेलौना सामग्रीसहितको व्यवस्थित पार्क निर्माण गरिएको छ जसमा बच्चाहरू रमाउनका लागि कुनै शुल्क तिर्नुनपर्ने त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । प्राकृतिक वातावरणबीच कृत्रिम चौरको व्यवस्थित निर्माण पनि उत्तिकै दर्शनीय लाग्छ जहाँ यात्रुहरूले साना–साना भेटघाट, मनोरञ्जनमूलक कार्यक्रम गर्न सक्छन् जो निःशुल्क प्रयोग गर्न सकिन्छ ।

काठमाडौंको व्यस्त सहरबाट नजिकैको शान्त र रमणीय ठाउँलाई मध्यनजर गर्दै हरेक प्रकारका गोष्ठी, सेमिनार, बैठक गर्न दुई सयजनासम्म अटाउने साउन्डप्रुफ कन्फ्रेन्स हलको पनि व्यवस्था कम्पनीले मिलाएको छ । यसका साथै उचित मूल्यमा सफा र हाइजेनिक रेस्टुरेन्ट, फुडकोर्टको प्रबन्ध र बारको व्यवस्था पनि कम्पनीले गरेको हुनाले जुनसुकै खाना र पेयका पारखीहरू त्यहाँ पुग्दा निराश हुनुपर्ने छैन ।

भजन–कीर्तन, ब्रतबन्ध, विवाह आदि धार्मिक र सामाजिक कार्यक्रमहरू सञ्चालन गर्न त्यहाँ सत्तल उपलब्ध छ । ज्येष्ठ नागरिक, अपाङ्ग, सामाजिक सङ्घसंस्था र सर्वसाधारण हेरी–हेरीकन निःशुल्क, अर्धशुल्क र सशुल्क त्यो सत्तल प्रयोग गर्न सकिने महाप्रबन्धक राणाको कथन छ । सर्वसाधारणका लागि रु. ७ सय केबलकारको टिकटदर तोकिए पनि विद्यार्थी, ज्येष्ठ नागरिक र स्थानीयलाई कम्पनीले २५ र अपाङ्गलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । तर, सार्कस्तरीय पर्यटकका लागि ११३० र अन्य पर्यटकका लागि केबलकारको रेट प्रतिव्यक्ति २३३२ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

३६ हेक्टर क्षेत्रफल ओगटेको चन्द्रागिरी हिल्सले सो ठाउँ नेपाल सरकारसँग ४० वर्षका लागि लिजमा लिएको लिएको हो र अर्को ४० वर्ष नवीकरण गर्न सकिने प्रावधान भएको महाप्रबन्धक राणाको भनाइ छ । बैंकिङ क्षेत्रमा सफल व्यक्तित्वका रूपमा स्थापित चन्द्रप्रसाद ढकालको अध्यक्षतामा हेमराज ढकाल, कल्याण गुरुङ, अम्बिका पौडेल र नवराज नेपाल सञ्चालक सदस्य रहेको चन्द्रागिरी हिल्सले केवल केबलकार चढ्ने धोको मात्र पूरा गर्नेछैन । यसले पाँचतारे होटेलका सम्पूर्ण सुविधा भएको सय कोठाको बुटिक डिलक्स रिसोर्ट पनि डेढ वर्षभित्रमा सञ्चालनमा ल्याउनेछ । वातावरण प्रदूषणलाई ध्यानमा राख्दै मन्दिरदेखि रिसोर्टसम्मको एक किलोमिटरको दूरीमा यात्रुलाई ओसार्न गल्फ कार्टको व्यवस्था गरिने राणा बताउनुहुन्छ । राणा बताउनुहुन्छ, ‘हामीले यात्रुका लागि हर्स राइडिङको पनि व्यवस्था गर्दै छौँ । र, मन्दिरदेखि रिसोर्टछेउसम्म सात सय मिटर दूरीको जीप फ्लाइङ सञ्चालनमा ल्याउनेछौँ ।’ चन्द्रागिरी हिल्सको निकट भविष्यमै पूरा गरिने अर्को योजना हो– प्याराग्लाडिङ जुन मन्दिरको छेउमै रहेको फुडकोर्टबाट कहाँसम्म गर्न सकिन्छ यसको पनि अध्ययन भइरहेको कम्पनीका महाप्रबन्धक राणा बताउनुहुन्छ ।

– कृष्णप्रसाद पौडेल