बीपी र गणेशमान

बीपी र गणेशमान


sn-karki

– स्वयम्भूनाथ कार्की

आत्मवृत्तान्तको किताबमा बीपीले ‘जी’ र तपाईंजस्ता आदरार्थी शब्द लगाएका पात्र निकै कम छन्् । यही निकै कम पात्रमध्ये गणेशमान पर्दछन् । बीपीसँग सकभर राय नबझाउने कथंकदाचित कुनै कुरामा राय बाझिए वा फरक सोच भए पनि त्यो चाँडै विसर्जन गरेर नेताको निमित्त समर्पण गर्ने गणेशमानको स्वभाव भएको चित्रण छ । परिच्छेद १९ मा यसको चित्रण छ, ‘गणेशमानजीको ठूलो गुण के छ भने जसलाई नेता मान्नुहुन्छ, उसलाई हरकिसिमको सहयोग दिनुहुन्छ, हरकिसिमको ।’ यो प्रसङ्ग डिल्लीरमण रेग्मीको साथीहरूलाई नोकरसरह व्यवहार गर्ने आदतको प्रमाणस्वरूप आएको छ । डिल्लीरमणले गणेशमानलाई ‘ल, चिया लिएर आ’, भनेर अराउँदा गणेशमानले केट्ली लिएर गएर चिया लिएर आएको उदाहरण उनले दिएका छन् । नेता मानेकोले ठूल्दाजु (मात्रिका)को लुगा धोएको कुरा पनि यसैको प्रमाणको रूपमा पेस गरेका छन् ।

बीपीले गणेशमानलाई अनमोल साथीको रूपमा आफूले अदव गर्न गरेको भनेका छन् । पहिलो भेट पनि धेरै नाटकीय तरिकाले भएको छ । बीपीले गणेशमानलाई भेट्न खोजेको, अनि गणेशमानले बीपीलाई भेट्न खोजेको हुँदाहुँदै पनि भेट हुन प्रसस्त समय लागेको छ । दुवैतर्पm कोसँग भेट्न को आउने भन्ने कुराले भेट टाढिएको छ । दुवैजनाको निमित्त कलकत्ता र वनारस पानी–पँधेरोजस्तै थियो । दुवै एक–अर्कालाई भेट्न चाहन्थे, सम्भवत देखादेख पनि भएको थियो । परिच्छेद ११ मा बीपी भन्छन्, ‘एकदम जिङ्रिङ्ग परेको कपाल लिएर साइकलमा बेतहासा हिँड्नुहुन्थ्यो । ऊ, गणेशमान भन्ने मात्र देखिन्थ्यो ।’ सङ्गठन बनिसकेको थिएन, बनाइने प्रयत्न हुँदै थियो । यस्तोमा पनि देवशंकरलाललाई बीपी र गणेशमान भेट्टाउन दर्जाको कुराले अप्ठ्यारो परेको थियो, कसलाई कसकोमा लैजाने भनेर । तीन–चार महिनाको पर्खाइपछि बीपीले नै बीचको बाटो निकाले देवशंकरलालकोमा नै भेट्ने भनेर । आखिरमा चित्तपुर रोडको एउटा पञ्जावी रेस्टुराँमा भेट भयो ।

बीपीले त्यसबेलासम्म भारतीय आन्दोलनहरूमा सक्रियता देखाएका थिए । नेपालको निमित्त केही गर्ने सोच मात्र भर्खरै पलाएको थियो । गणेशमान भने नेपालको जेलबाट भागेर भारत पसेका थिए, गणेशमानको यो जेलयात्रा राणाको विरोधकै कारणले थियो । यस्तोमा नेपालको निमित्त काम गर्ने सोच राख्नेले आफूलाई खोज्नुपर्छ, आफूले कस–कसले नेपालको निमित्त केही गर्ने सोच राखेका छन् भनेर खोज्दै हिँड्ने होइन भन्ने गणेशमानको सोच भएको भए पनि त्यो अनुचित थिएन । फेरि समातिने डर कायम रहेकाले गणेशमानलाई खुला गतिविधि गर्ने असजिलो भएको पनि हुनसक्छ । बीपी त्यसबेला डिल्लीरमण रेग्मीलाई इलाजको निमित्त राजेन्द्रबाबुसँग सिफारिस गर्ने हैसियतमा थिए । जे होस्, बीपी पहिलो भेटमै गणेशमानमाथि प्रभाव जमाउन सफल भए । यो भेटको प्रभावबारे गणेशमानको बीपीभन्दा म ठूलो भन्ने अहम् तोडियो । यो कुरा यस किताबमा मात्र छैन, गणेशमान स्वयम्ले धेरैपटक गर्व लिएर भनेका छन् । पहिलो भेट र बीपी गृहमन्त्री हुँदा उनीमाथि भएको खुकुरीदलको आक्रमणको सामनाले गणेशमानलाई हमेसा बीपीभक्त बनाइदियो ।

किताबमा बीपीले अप्रत्यक्ष रूपले आफ्नो साथ नआउन्जेल गणेशमानको हस्ती एक उत्साही युवकको मात्र भएको छनक दिएका छन् । चाहे डिल्लीरमण रेग्मीले ‘बीपीबाबु आउनुभयो जा चिया लिएर आ’ भनेर चिया बोकाएको प्रसङ्ग होस् वा भूमिगत भएर काठमाडौं बसेर पार्टी फण्ड जुटाउने प्रयत्न गर्दा गणशेमानको चिट्ठी काम नलागेको प्रसङ्ग पहिले गणेशमानको खासै मनितो थिएन भन्ने जनाउने प्रसङ्गहरू हुन् । यहाँतक कि काठमाडौंमा गणेशमानको नाम लिँदा त्यो त मूर्ख हो भनेर भन्थे भन्ने कुरा पनि बीपीले भनेका छन् । गणेशमानले बीपीको कुरामा ‘यसो होइन यसो..’ भनेका प्रसङ्गहरू छैनबराबर छन् । गणेशमानको यो कुरा मैले मानेँ भनेर बीपीले भनेका छैनन् । हुन त बीपीले अरूको कुनै कुरा मानेको प्रसङ्ग नै यस किताबमा भेट्न कठिन छ । नेहरू, जयप्रकाशहरूका कुरा भने त्यति काटेको भेटिन्न । तैपनि गणेशमानको बीपीप्रतिको आस्था र समर्पण भने हमेसा अटल रह्यो ।

आमचुनावको बेला बीपीले गरेको टिकट वितरणसँग चित्त नबुझेर मंगलादेवीले विद्रोही उम्मेदवारी दिइन् । त्यसबेला पनि गणेशमानको आस्था बीपीमा अटल रह्यो । यही आस्थाको हतियार बनाएर बीपीले मंगलादेवीको उम्मेदवारी फिर्ता गराए । तपार्इंले उम्मेदवारी फिर्ता नलिए म गणेशमानजीलाई तपार्इंको विरोधमा प्रचार गर्न लगाउँछु भनेर । यस्तो अटल आस्था विरलै देख्न पाइन्छ, नेताले जे भन्यो जे ग¥यो त्यसलाई शिरोपर गर्ने, आफ्नो विचारलाई स्थान दिएन भने पनि, आफ्ना परिवारसँग नै विरोध गर्नुपर्ने भयो भने पनि स्वीकार गर्ने । किताबको धेरैजसो भागमा गणेशमान केवल बीपीभक्त भएको छनक छ । गणेशमानले बीपीकोे प्रशंसा गरेका प्रसङ्गहरू छन् । साँच्चै भन्ने हो भने बीपीलाई टेवा दिने, उनको कामलाई सफल बनाउने हरेक काम गणेशमानले गरेका छन् । तैपनि बीपीले अध्यक्ष पद छोड्दा त्यो पद त मैले पाउनुपर्ने भन्ने गणेशमानको दाबी अस्वीकार गरिएको छ सुवर्णशमशेरलाई अध्यक्ष बनाउन । त्यस प्रसङ्गमा बीपी–गिरिजाले गणेशमानलाई भोट दिएको तैपनि सुवर्णशमशेर अत्यधिक मतले विजयी भएको कुरा उल्लेख गर्दछन् ।

झलक्क हेर्दा किताबमा गणेशमान बीपीको प्रतिछायाजस्तो देखिए पनि योग्यता, क्षमतामा कम भने थिएनन् । मातृकाको मन्त्रिमण्डलमा सामेल हुन सक्नु गणेशमानको व्यक्तित्वको खुवी भएको कुरा बीपीले स्वीकार गरेका छन् । मध्यस्थता गर्न सक्ने गणेशमानको खुवीको प्रशंसा पनि छ । के.आई. सिंहसँग मध्यस्थतामा गणेशमानको नेतृत्व–क्षमता देखिएको छ । यस्ता प्रसङ्ग धेरै पनि हुन सक्थे होला, वा बीपीले उल्लेख गरेका पनि हुन सक्छन् जो टेपको सम्पादनमा छुटेका वा छुटाइएका हुन सक्छन् । रञ्जनाको साहुसँग एक लाख रुपैयाँ लिएर भारतमा सोसलिस्टहरूलाई मद्दतस्वरूप पठाउन गणेशमानकै योगदान भएको कुरा किताबमा उल्लेख छ । त्यो जमानामा एक लाख भनेको रकम चानेचुने थिएन, हजार नै धेरै ठूलो रकम हुने गर्दथ्यो । किताब रेकर्ड गराएको समयसम्म पनि गिरिजालाई पार्टीको काममा विराटनगर जान एक सय खर्च दिएको कुरा किताबका सङ्कलक गणेशराज शर्माले भूमिकामा उल्लेख गरेका छन् । गणेशमानको अनुपस्थितिमा बीपीको धेरै कुरा अधुरो रहने थियो तैपनि कताकता बीपीले आफूप्रतिको आस्थाको फाइदा लिएको छनक भने पर्दछ ।