तरुण दलको चौथो महाधिवेशनको चहलपहलले सिँगारियो पोखरा

तरुण दलको चौथो महाधिवेशनको चहलपहलले सिँगारियो पोखरा


tarun

झण्डै एक दशकपछि कात्तिक २७ गतेदेखि पर्यटकीय सुन्दर नगरी पोखरामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशन शुरु हुँदै छ । माछापुच्छ«े हिमाल र फेवतालको रमणीय दृष्य त छँदैछ तर कांग्रेसजनले यतिखेर सुन्दर नगरी पोखरालाई बेहुली सिँगारेजस्तै गरी सजाएका छन् । पटक–पटक घोषणा हुँदै स्थगन भइरहेको तरुण दलको महाधिवेशन यसपटक पनि स्थगित हुने अनुमान धेरैले काटेका थिए । नेपाल तरुण दलका संस्थापक अध्यक्ष बालकृष्ण खाणलाई नेपालगञ्जको कांग्रेस महासमिति बैठकबाट उक्त जिम्मेवारी सुम्पिएर नेपाली तरुणलाई प्रजातान्त्रिक बनाउने अभियान अनुरुप यतिखेर चौथो महाधिवेशन हुने तयारी भइरहेको छ । संस्थापक अध्यक्ष खाणलाई महाधिवेशन गर्न निर्देशन समितिको संयोजक तोकेपछि यस पटक महाधिवेशन हुने पक्का भएको छ । महाधिवेशन हुने निश्चित भएपछि सयौको सख्यामा तरुणहरुले उम्मेदवारी घोषणा गरेका छन् । भावी तरुण दल कस्तो र कसरी हाँक्ने भनेर आ–आफ्ना योजना र विचार पनि राख्न थालिएको छ । यसै प्रसंगमा महाधिवेशनमा अल्प संख्यक पिछडा वर्गबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका तरुण नेता धनबहादुर छन्त्याल (लक्ष्मण) र खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका जुझारु तरुण नेता एवं महाधिवेशन स्वंसेवक एवम् युवा परिचालनका संयोजक सुरजजंग राणासँग महाधिवेशनका विषयमा गरिएको संक्षिप्त कुराकानी :

खाण दाइको पालामा जस्तै तरुण बन्नुपर्छ
– धनबहादुर छन्त्याल ‘लक्ष्मण’ (के.स.उम्मेदवार)

laxman-chhantyal

० लक्ष्मणजी अब त महाधिवेशन सर्दैन होला नि होइन ?
– यो त अब सवाल नै रहेन, महाधिवेशन सर्ने कुरा असम्भव भइसक्यो । पोखरामा सबै तयारी पुरा भइसक्यो । हजारौ तरुणहरु हर्षले गदगद भएका छन् ।

० प्रतिनिधिको विवाद कायमै छ, महाधिवेशन कसरी सम्पन्न होला त ?
– महाधिवेशन अब कसैले चाहेर पनि रोक्न सक्दैन । काम गर्ने क्रममा झिन मसिना विवाद भइहाल्छन् । त्यस्ता विवादलाई निर्देशन समितिले मिलाउने कुरामा म ढुक्क छु । वल्ल–वल्ल हुन लागेको महाधिवेशनमा सबै साथीहरुले नकारात्मक सोच र चिन्तनलाई छाडेर सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ ।

० असन्तुष्ट पक्षले त पेलेर गए समानान्तर समिति बनाउने चेतावनी दिँदै छन् त ?
– अब देशमा निर्वाचन हुँदै छन् । कांग्रेसको इञ्जिन भनेको तरुणदल हो । कांग्रेसको भलो सोच्नेले यस्ता बेतुकका चेतावनी दिन सक्दैनन् ।

० यो महाधिवेशनमा तपाईं पनि उम्मेदवार हुनुहुन्छ, कस्तो छ पोजिसन ?
– मैले अल्पसंख्यक पिछडा वर्गको नेतृत्व गर्ने सोचले केन्द्रीय सदस्यको उम्मेदवारी दिँदैछु । मुलुकभरका तरुण साथीहरूले सपोर्ट गरेका छन् ।

० तपाईं सदस्य बन्नुभयो भने तरुण दल कस्तो हुनुपर्छ भनेर आवाज उठाउनुहुन्छ ?
– नेपाल तरुण दलका संस्थापक अध्यक्ष आदरणीय दाजु बालकृष्ण खाणको नेतृत्वमा रहेको तरुण दलजस्तो चुस्त र दुरुस्त बनाउन लाग्ने छु ।

० नेताको चाकडी गर्न यसो भन्नुभएको त होइन ?
– अकबरी सुनलाई कसी लगाउन नपरे जस्तै खाणदाइलाईको त्यो समयको कमाण्ड ऐतिहासिक थियो । मध्यावदी निर्वाचनबाट तल झरेको कांग्रेसलाई बहुमत दिलाउन त्यो बेलाको तरुण दलको योगदान रहेको ध्रवसत्य कुरालाई कसैले बङ्ग्याउनु हुँदैन । ०६५ मा आफू निर्वाचन नलडेर पार्टीलाई बहुमत दिलाएको कुरा बिर्सन मिल्दैन ।

० तरुणदलको चुनौती के देख्नुभएको छ ?

– नेपाली कांग्रेसका श्रद्धेय तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गराउन तरुण दलको नेतृत्वदायी भूमिका हुनु पर्छ ।

०००

तरुण दल गुट–उपगुटबाट मुक्त हुनुपर्छ
– सुरजजंग राणा (केन्द्रीय सदस्यका उम्मेदवार)

suraj-jung-rana

० सुरजजी अबको तरुण दल कस्तो हुनुपर्ला ?
– मुलुक गणतान्त्रिक संघीय शासन हुँदैछ । पार्टीको नेतृत्वदेखि सरकारको गाउँपालिकादेखि अन्य निर्वाचन गर्ने कुरा अघिसारिएका छन् । कम्युनिष्टहरु कांग्रेसलाई शक्तिमा जान नदिनका लागि एक हुन सक्छन् । यी कुरालाई मनन गरी यो महाधिवेशनले गुट उपगुटको अन्त्य गरी कांग्रेसी तरुण एक छन् भन्ने सन्देश दिनुपर्छ ।

० तपाईको उम्मेदवारी केका लागि हो नि ?
– संस्था रह्यो भने मात्र व्यक्ति रहन्छ भन्ने कुरालाई सबैले बुझ्न जरुरी छ । नेपाली कांग्रेसलाई बलियो बनाउन हामीले सभापतिलाई बलियो बनाउनु पर्दछ । सभापतिलाई बलियो बनाउन तरुण दलको ठूलो भूमिका रहन्छ । मेरो उममेदवारी देशभरका वडा गाउँ, क्षेत्र र जिल्लामा तरुणको संगठन बलियो बनाउनका लगि हो ।

० पहिला त यस्तै कुरा सबैले गर्छन् तर निर्वाचनमा विजय भएपछि कांग्रेसहरु त चिर निद्रामा रहन्छन् भनिन्छ नि हो ?
– यो गलत कुरा हो । तपाईंले भनेझै कोही तरुण चिर निद्रामा बसे भने उसको निद्रा खुलाउन झकझकाउने काम पनि हामीबाट हुनेछ ।

० यदि तपाइले निर्वाचनमा सफलता हासिल गर्नुभयो भने पहिलो बैठकमा के कुरा राख्नुहुन्छ ?
– देशबाट हजारौंको संख्यामा बाहिरिएको युवाको श्रम शक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न तरुणदलले नेतृत्व गर्नुपर्ने कुरा मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसपछि आन्तरिक लोकतन्त्रलाई पनि मजबुद बनाउनुपर्छ भन्ने मेरो सुझाव हुनेछ ।

० कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर छ हो ?
– हामीले अरु दललाई प्रजातान्त्रिक बन्न सिकायौं तर दुर्भाग्यको कुरा कम्युनिष्टहरुमा भन्दा पनि हामीकहाँ आन्तरिक लोकतन्त्र कमजोर छ त्यो म स्विकार गर्छु । पार्टीको नेतृत्वमा शेरबहादुर देउवा आएपछि आन्तरिक लोकतन्त्र बलियो हुँदै जान थालेको महसुस भएको छ ।