सहमतिबाट तरुण दल नेतृत्व छान्ने कसरत

सहमतिबाट तरुण दल नेतृत्व छान्ने कसरत


tarun-dal

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन नभएसम्म संविधान कार्यान्वयन नहुने भएकोले नेपाली कांग्रेसले आफूलाई अब चुनावी अभियानमा लगाउने उदघोष गरेका छन् । सबै दल मिलेर चुनाव गर्न सकेमा संविधान कार्यान्वयन हुने नेता देउवाले बताए । नेपाल तरुण दलको चौथो महाधिवेशन उदघाटनका क्रममा शनिबार पोखरामा पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले तरुण दलका युवाहरुलाई जिल्ला गएर संविधान र कांग्रेसका बारेमा फैलाएका नकारात्मक धारणलाई चिर्न आग्रह गरे ।

सोही अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय गठबन्धनमा रहेका दलहरुले संघियता र लोकतन्त्रलाई रक्षा गर्न उदारताका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै एमालेले पनि केही लचिलो भएर संसोधनमा सहयोग गर्नुपर्ने धारणा अघि सारे । हाल देखिएका असन्तुष्टीलाई समेटर संसोधन गरी निर्वाचन गर्ने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान गतिशील दस्ताबेज भएका कारण आवश्यकताअनुसार संशोधन गरेर जानुपर्ने बताए भने शान्ति तथा पुननिर्माण मन्त्रीसमेत रहेकी नेपाली कांग्रेसका कोषाध्यक्ष सितादेवी यादवले शान्ति प्रक्रिया टुङगोमा लगाउन कानुन परिर्वतन गरेर भए पनि अगाडि बढ्ने बताइन् ।

बिपिको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्दसत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुनेछ। यसअघि पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित ¥याली निकालेर मानवअधिकार चोकमा पुगेर तरुणहरुको जुलुस सभामा परिणत भएको थियो।

यसैबीच तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गर्न नेताहरुले पहलकदमी लिएको बुझिएको छ । पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको बुझिन्छ। दुई नेताबीच सहमतिमै नयाँ नेतृत्व टुंगो लगाउने समझदारी बनेसँगै पार्टी निर्देशक समिति आन्तरिक तयारीमा जुटेको बताइन्छ। अर्को पार्टीसँग लड्नुपर्ने बेलामा आन्तरिक झगडा र विवाद अब धेरै गर्नुहुन्न भन्दै दुवै नेता सहमतिबाट अघि बढ्न तयार भएका हुन् ।

दलका एक नेताका अनुसार तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचनाका आधारमा ७५ सदस्यीय हुनेछ। हाल कार्यसमिति ६१ जनाको छ। महाधिवेशनमा करिब १४ सयभन्दा बढी प्रतिनिधिले भाग लिएका छन्।

tarun-dal-2