
तत्कालीन दीपेन्द्र शाहको जीवन–चरित्र तथा दरबार हत्याकाण्डलाई आधार तुल्याएर वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीद्वारा सिर्जित उपन्यास ‘महानिशा’ गत शनिबार राजधानीमा लोकार्पण गरिएको छ । उच्च बौद्धिक तथा सचेत तप्काबीच प्रकाशनअघि नै चर्चामा रहेको कृति ‘महानिशा’को चर्चित समाजसेवी दिलशोभा श्रेष्ठबाट लोकार्पण भएको हो ।
ब्रदर्श बुक्स प्रकाशन प्रा.लि ले बजारमा ल्याएको ‘महानिशा’माथि पुस्तक लोकर्पण कार्यक्रमबीच सुपरिचित लेखक÷विश्लेषक दिनेश सत्याल (सौरभ) र इतिहासकार एवम् विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कृति र सर्जकबारे मन्तव्य दिँदै सौरभले भन्नुभयो– ‘किताबमा दीपेन्द्रको जन्मकुण्डलीमा कुलनाशक देखिएको, राजालाई रानीको निर्णय चित्त नबुचm्ने गरेको जस्ता कुराहरू उल्लेख भएका छन्, राजा वीरेन्द्रको बंश विनास हुने गरी घट्न पुगेको दरबार हत्याकाण्डमाथि लेखक त्रिपाठीले मिहिन ढङ्गले प्रस्ट्याउन खोजेका र उक्त हत्या दीपेन्द्रकै हातबाट भएको महानिशामार्फत् व्यक्त गरेका छन् । किताब औपन्यासिक भनिए पनि यसमा पाइने तथ्य र तथ्यांकले किताबलाई गैरआख्यानात्मक बनाएको छ र ऐतिहासिक घटनाबारे चाख हुनेले पुस्तक रुचाउँछन् ।’
यस्तै, अर्का वक्ता इतिहासकार एवम् विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले राजनीति र इतिहास जोडिएको पुस्तकमा लेखकले बकाइदा दीपेन्द्रलाई खलनायक घोषित गर्ने आँट गरेको भन्दै लेखकको प्रशंसा गर्नुभयो । न्याय र राजनीतिमा जनमानसले अनुभूत गरेकै कुरा समेटिनुपर्ने भन्दै उहाँले त्रिपाठीको पुस्तक यस मानेमा सफल रहेको दाबी गर्नुभयो । प्रा.डा. केसीले भन्नुभयो– ‘दरबार हत्याकाण्डबारे अनेक तर्कवितर्क र टिकाटिप्पणी चलिरहेको परिवेशमा लेखक त्रिपाठीले दीपेन्द्रबाटै हत्या भएको आफ्नो ठहर पुस्तकमार्फत् व्यक्त गर्ने साहस गरेर आम जिज्ञासुलाई गुन लगाएका छन् ।’ लेखकले सत्य कुरा प्रकाशनमा ल्याएको ठहर उहाँको थियो ।
प्रमुख अतिथिका रूपमा पुस्तक लोकार्पण गरेपछि दिलशोभा श्रेष्ठले बाआमालाई माया गर्न अनुरोध गर्दै बूढापाकालाई आश्रम नभई आश्रय दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पुस्तकका सर्जक त्रिपाठीले जनमानसको भ्रम चिर्ने उद्देश्यले आफूले निकै अघिदेखि सङ्कलन गरेका तथ्यहरूलाई यतिबेला प्रकाशनमा ल्याएको जानकारी गराउनुभयो । आफू पत्रकार भएकाले सत्य पहिचान गरिसकेपछि त्यसबारे बोल्नु आफ्नो कर्तव्य ठानेर पुस्तक निकालेको उल्लेख गर्दै उहाँले प्रस्टयाउनुभयो– ‘रिपोर्टिङका क्रममा हामीलाई दरबारभित्रका कतिपय झमेलाबारे थाहा हुन्थ्यो तर त्यो बेला लेख्न मिल्दैन थियो, आफूले चाल पाएको कुरा प्रमाणित गर्न र लुकेका अन्य सत्य खोज्न मैले दीपेन्द्रका अंगरक्षक, स्वकीय सचिव लगायतलाई भेटेँ । हत्याकाण्डका प्रत्यक्षदर्शीसँग कुरा गरेपछि पुस्तक लेखेको हुँ ।’
अङ्ग्रेजी भाषामा समेत उपलब्ध रहेको ‘महानिशा’को मूल्य तीन सय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया