फिल्म उद्योगका एक ‘सुन्दर’ सिनेकर्मी

फिल्म उद्योगका एक ‘सुन्दर’ सिनेकर्मी


sundar-shrestha

०४७ सालको कुरा हो । ‘सञ्जोग’ नामको फिल्म चोभारमा सुटिङ हुँदै थियो । त्यसमा एउटा सानो भूमिकामा अभिनय गर्ने मौका पाएका थिए सिनेकर्मी सुन्दर श्रेष्ठले । सुटिङ युनिटको बस बागबजारबाट हिँड्दै थियो । हतार गर्दागर्दै पनि उनले युनिटको बस भेटेनन्, छुट्यो । तर, बस छुटे पनि फिचर फिल्ममा खेल्न बल्लतल्ल मिलेको मौका छुटाउने हालतमा थिएनन् उनी । समयमै नपुगे आफ्नो ठाउँमा कुनै अर्को व्यक्तिलाई उभ्याउन सक्थे निर्देशकले । अब के गर्ने ? सुन्दर अत्तालिए ! सवारीसाधनको नाममा साइकलसम्म थिएन, सार्वजनिक सवारी चढेर जान पकेटमा पैसा पनि थिएन । उनी दायाँबायाँ केही नसोची बागबजारबाट चोभारतिर पैदलै दौडिए । ठ्याक्कै यति समय लाग्यो भन्ने हेक्का त उनलाई छैन, तर उनी समयमै पुगे र तोकिएको भूमिका निर्वाह गर्न भ्याए । यस्तो थियो चलचित्रमा अभिनय गर्ने सुन्दरको प्यास । त्यो प्यास अझै कायमै छ । फरक यत्ति हो कि फिल्मको सानोतिनो दृश्यमा देखिने अवसर गुम्ला कि भनेर बागबजारदेखि चोभारसम्म हिँडेरै पुग्ने सुन्दर यतिबेला वर्षमा एक–दुईवटा फिल्म आफ्नै लगानीमा निर्माण गर्न सक्ने हैसियत राख्छन् र पनि आफूलाई निर्माता होइन एउटा कलाकारकै रूपमा चिनाउन चाहन्छन् । बाँच्नका लागि अरू जे–जे पेसा–व्यवसाय अपनाए पनि जीवनको अन्तिम घडीसम्म कलाकारकै चिनारीका साथ जिउन चाहन्छन् ।

हुन पनि स्कुले जीवनदेखि नै कलाकारिताप्रति अत्यन्त आकर्षित थिए सुन्दर श्रेष्ठ । स्कुलमै पनि नाटकमा सरिक हुने र कुनै दिन फिल्ममा अभिनय गरेरै छोड्ने कसम खान्थे उनी । ०४४ सालमा एसएलसी दिएर सिन्धुपाल्चोकबाट काठमाडौं आई आरआर क्याम्पस पढ्दै गर्दा उनले बागबजारको भित्तामा ‘कलाकारको आवश्यकता’ भनेर लेखिएको पोस्टर देखे । त्यो पोस्टरले उनलाई ‘प्रतिभा कला मन्दिर’सम्म पु¥यायो । कलाकार तथा निर्देशक सुभाष गजुरेल भेटे उनले त्यहाँ । त्यसपछि ०४४ मै काठमाडौंमा ‘देउराली’ नामको नाटकमा अभिनय गरे । बिस्तारै नेपाली कला क्षेत्रमा उनको प्रवेश भयो । अनि रेडियो नाटक, टेलिसिरियल आदिमा काम गर्ने क्रममा त्यतिबेलाका चलेका निर्देशक रमेश बुढाथोकीसँग पनि सम्बन्ध भयो । देउरालीमा सुन्दरले गरेको अभिनय देखेपछि मन पराएर बुढाथोकीले आफ्ना टेलिसिरियलमा मौका दिए । ०४६ सालताक भिडियो फिल्मको ठूलो क्रेज थियो । ‘कमारो’ भन्ने भिडियो फिल्ममा मुख्य भूमिकामा काम गर्ने अवसर पाए सुन्दरले ।

प्रायजसो कलाकर्मीले प्रारम्भिक कालमा ठूलो सङ्घर्ष गर्नुपरेको कथा सुनिन्छ, सुन्दर पनि त्यसको अपवाद भएनन् । गाउँबाट पढ्न सहर छिरेको युवकसँग पैसाको अभाव त हुने नै भयो । त्यसै क्रममा पैसा कमाउने उद्देश्यले उनी बिदेसिए । तीन वर्ष जति सिङ्गापुर बसेर फर्केपछि ‘चीत्कार’ भन्ने फिल्ममा उनले काम गरे । विदेशको कमाइबाट फिल्म निर्माणमै हात हाले । चीत्कारपछि जुनीभरिलाई हुँदै १४–१५ वटा फिल्ममा अभिनय गरे सुन्दरले ।

sundar-shrestha-7

यसक्रममा कलासम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुने तथा अन्य कलाकारलाई पनि सरिक गराएर विदेश लैजाने हैसियत उनको बनिसकेको थियो । यसबाट व्यावसायिक रूपमा पनि सुन्दर श्रेष्ठलाई लाभ नै पुग्यो । यसैगरी, सौन्दर्यसम्बन्धी व्यवसायमा पनि हात हाले उनले । श्रीमतीले अहिले पनि उक्त व्यवसाय सम्हालिदिएको बताउँछन् सुन्दर । त्यसरी कमाएको पैसा कहाँ लगानी गर्ने भनी धेरै घोत्लिनै परेन उनले, आफ्नो रुचिको क्षत्र फिल्म निर्माणमै लगानी गर्न थाले । आफ्नै फिल्म निर्माण कम्पनी ड्रिम क्रियसनको ब्यानरमा ‘पागलपन’ नामको चलचित्र करिब सात वर्षअघि नै निर्माण गरेका उनले दिलीप रायमाझीसँग मिलेर ‘सहिद’ बनाए । आफू मुख्य भूमिकामा रहेको त्यो फिल्म युरोपसमेत लगेर प्रदर्शन गरे उनले । अहिले आफ्नो ‘सकस’ नामक फिल्म प्रदर्शनको तयारीमा छन् सुन्दर ।

विदेशमा फिल्म प्रदर्शन गर्दा केही लगानी पनि उठ्ने र व्यक्तिगत प्रोफाइल पनि बन्ने हुनाले त्यसप्रति विशेष आकर्षित छन् सुन्दर श्रेष्ठ । अन्य निर्माताले समेत विदेशमा फिल्म लगेर प्रदर्शन गराइदिन आफूलाई आग्रह गर्ने गरेको उनको कथन छ । फिल्म क्षेत्रमा लागेर खासै अभाव झेल्नु नपरेकाले आफूलाई यस मानेमा म लक्की ठान्छन् उनी ।

घाँटी हेरेर हाड निल्नु भन्ने उखान ख्याल गरेर काम गर्न नजान्दा कतिपय फिल्मकर्मीले दुःख पाएका देख्छन् सुन्दर । त्यसैले अत्यन्त सोचविचार पु¥याएर लगानी गर्छन् उनी । सुझबुझ राखेर काम गर्ने भएकैले एउटा फिल्म नचल्नेबित्तिकै सडकमा आउने अवस्था कहिल्यै रहेन उनलाई । बिनाज्ञान–रहर या कसैले उक्साएकै भरमा फिल्ममा लगानी नगर्न सल्लाह दिन्छन् सुन्दर ।

उनी भन्छन्, ‘सबैको आ–आफ्नो विधा र खुबी हुन्छ, त्यसअनुसार आफूलाई चिनेर काम गर्नुपर्छ । म हिरो मात्र बन्छु भनेर फिल्म लाइनमा लागेको थिइनँ, कलाकार बन्न छिरेको थिएँ । त्यसैले म सानोभन्दा सानो दृश्यमा पनि काम गर्छु र मौका पर्दा नायकको भूमिकामा पनि खेल्छु । वृद्ध, युवा, पीडित, सम्पन्न व्यक्तिदेखि महिला बनेर पनि अभिनय गर्छु म । सबैखाले भूमिकामा काम गरेको छु मैले, कैयनमा निगेटिभ र कैयनमा पोजेटिभ रोलमा ।’ पागलपन, सकस, सहिद, आगो–२, मायाज बार, गुनासोलगायत चलचित्रमध्ये ‘सहिद’ फिल्मको भूमिकाले आफूलाई बढी सन्तुष्टि दिएको सुन्दर बताउँछन् । अढाई दशकभन्दा बढी अवधि चलचित्र क्षेत्रमा गुजारिसकेका सिनियर कलाकर्मी भए पनि उनको निरन्तरता र टिकाइ बेजोडकै छ । हरदम टिपटप र तन्नेरी गेटअपमा देखिने सुन्दर समयअनुसार चल्न र ढल्न नजाने बाँच्नै कठिन जमाना आएको भन्दै हँसिमजाक गर्छन् ।

अहिलेको पुस्ता निकै स्मार्ट छ । वर्तमान पुस्ताको सोचअनुसारको विषयवस्तु र प्रविधि अपनाएर फिल्म बनाउन नसके फिल्मलाइनमा नछिरे पनि हुन्छ अबका निर्माता भन्ने उनको ठहर छ । पहिलेका फिल्म टेक्निकल्ली कसरी बनेको थियो भनी फर्केर हेर्दा आफैँलाई हाँसो उठ्ने सुनाउँदै सुन्दर भन्छन्, ‘पहिले–पहिले ‘एक्टिङ’ हेर्न खोजिन्थ्यो भने अहिलेका दर्शक ‘नेचुरल’ चाहन्छन् । नाटकीय पारा मन पराउँदैनन्, वास्तवमा भन्ने हो भने हिन्दी फिल्म पनि मन पराउँदैन अहिलेको पुस्ता, उनीहरू त हलिउडको ट्रेन्ड पक्रिन्छन् ।’

यसरी पहिलेका र अहिलेका दर्शकको स्तर बदलिएको छ । पहिलेका फिल्म रुचाउने दर्शक मलेसिया र अरबमा छन् यतिबेला । मोटरसाइकल, गाडी चढ्ने हैसियत भएका या सोही स्तरका दर्शकको रुचि पक्रेर सिनेमा बनाउनु आजको आवश्यकता हो भन्ने निचोडका साथ काम गरिरहेका छन् सुन्दर श्रेष्ठ ।
निरन्तर अभिनयसँग जोडिएका सुन्दर आफूलाई मरुन्जेलसम्म एउटा अभिनेताकै रूपमा चिन्न र चिनाउन चाहन्छन्, निर्माताको रूपमा होइन । ‘फिल्म निर्माण त राम्रो प्रोजेक्ट आए २–४ पैसा कमाउनका लागि मात्रै बनाउने हो, म निर्माता होइन कलाकार हुँ’ भन्छन् उनी ।

sundar-shrestha-5

नेपाली फिल्म क्षेत्रको सन्दर्भमा कलाको भरमा बाँच्न सकिने अवस्था छ कि छैन भन्ने सवाल हरदम उठिरहेको हुन्छ । यस जिज्ञासामा सुन्दर भन्छन्, ‘हिरो–हिरोइनलाई बाहेक अरू भूमिकामा काम गर्नेहरूलाई कलाकार नै नमान्ने, सम्मान नै नदिने अत्यन्त खराब प्रवृत्ति छ यहाँ । पारिश्रमिकको मामला पनि यही प्रवृत्तिसँग जोडिएर आउँछ । कलाकार भनेको हिरो र हिरोइन मात्रै हो भन्ने धारणाले जरो गाड्नु विडम्बना हो । सानो या जुनसुकै भूमिकामा काम गर्ने कलाकर्मी पनि कलाकार नै हुन् । सिङ्गो फिल्मका लागि तिनको पनि आफ्नै भूमिका हुन्छ । त्यसैले तिनलाई पनि कलाकारको रूपमा सम्मान र पारिश्रमिक दिनुपर्छ भन्ने मेरो जोडदार आवाज छ । एक सिन खेल्ने पात्रले पनि पारिश्रमिक पाउनुपर्छ । अनमोल केसीलाई २० लाख तिर्न तयार हुनेहरू सानो भूमिकामा उसको भन्दा राम्रो काम गर्नेलाई २० हजार दिन पनि तयार हुँदैनन् । सुटिङ स्पटमा हिरो आए कुर्सी तेस्र्याइन्छ, तर उसैसँग फाइट गर्ने भिलेन आएमा वास्तै गरिँदैन । यो प्रवृत्ति निन्दनीय छ । कलाकार त सबै कलाकार नै हो नि । हिरोलाई हिट बनाउने त तिनैले हो । यो कुरा निर्माताहरू किन बुझ्दैनन् ? निर्माताहरू अर्काको काँधमा बन्दुक राखेर पड्काउने प्रवृत्तिमा रमाइरहेका छन् ।’

सुन्दरलाई मनपर्ने नेपाली हिरो आर्यन सिग्देल हुन् । आर्यनको एक्टिङमा ‘भेराइटी’ छ । सबै भूमिकामा न्याय गर्न सक्ने खुबी छ उनमा । हिरोमा हुनुपर्ने गुणका कारण आर्यन मनपरेजस्तै हिरोइनमा चाहिँ नम्रता श्रेष्ठ उत्कृष्ट लाग्छिन् सुन्दरलाई । अत्यन्त प्रतिभाशाली नम्रतालाई कुनै स्क्यान्डलले पनि गलाउन नसक्नु सुखद पाटो लाग्छ उनलाई । नम्बर वन नायिका भनेर चिनिएकी रेखा थापा पनि सुन्दरको आँखामा भर्सटाइल कलाकार हुन् । जसलाई पनि कुराले लठ्याएर वशमा पार्न सक्ने खुबीले एक दिन मन्त्री नै बन्न पनि सक्छिन् रेखा– सुन्दरको विश्लेषण । उनका अनुसार नेपाली फिल्म उद्योगमा रेखाको आफ्नै योगदान पनि छ र आफ्नो पक्षमा माहोल बनाउन जान्ने हुनाले जेमा हात हाले पनि उनी सफल बन्छिन् ।

नेपाली फिल्म आजभोलि राम्रो बन्न थालेका छन्, फिल्म मेकिङको हिसाबले नेपाली फिल्म धेरै अगाडि छ, तर सय करोडका हिन्दी फिल्मसँग एक करोडका नेपाली फिल्मले कसरी लड्न सक्छ र ? फिल्मकर्मी सुन्दरको निम्ति दुःखको पाटो हो यो । तैपनि सय करोडको फिल्मसँग एक करोडको फिल्म जुधिरहेको छ र पनि टिकेको छ, यो ठूलो कुरो हो । हिन्दी फिल्म चल्दा वितरक मात्र मालामाल बन्ने हो, सरकारलाई त केही हासिल हुँदैन । त्यसैले नेपाली फिल्मलाई बचाउने–बढाउने या प्रमोसन गर्ने हो भने सरकारले विशेष नीति बनाउनुपर्ने सुन्दरको सुझाव छ ।

फिल्म निर्माण बुझ्दैनबुझी हात हाल्नेहरू पनि देखिन्छन् नि, किन होला भन्ने जिज्ञासा राख्दा उनी भन्छन्, ‘आ–आफ्नो सोच र सोखको कुरा हो । कतिपयले गर्लफ्रेन्डलाई हिरोइन बनाउन पनि लगानी गरेका सुनिन्छन्, कसैले मनोरञ्जनकै लागि र कसैले व्यापारकै लागि बनाउँछन् । रहरले आउनेहरू खहरे खोलाजस्तै सुकेर जान्छन् । यस्ताहरूले गर्दा फिल्म उद्योगलाई धक्काचाहिँ पुग्छ ।’

फिल्म क्षेत्रमा रहे पनि पत्नी वा परिवारसँग कुनै कटुता उत्पन्न नहुनुमा आफ्नो कामबाहेक फाल्टु कुरालाई ध्यान नदिने स्वभावले भूमिका निर्वाह गरेको सुन्दरको तर्क छ । चलचित्रकर्ममा निरन्तरताका लागि उनलाई बुझ्नेहरूले सम्मान पनि दिन थालेका छन् । अरू क्षेत्रबाट पैसा कमाएर भए पनि नेपाली फिल्म क्षेत्रमा केही न केही योगदान दिने भन्ने सोच राख्ने सुन्दरजस्ता व्यक्ति कति होलान् ? खोज्ने बेला आएको छ ।

sundar-shrestha-6