चिनिया र दक्षिण कोरियालीसँग बिहे निषेध !

चिनिया र दक्षिण कोरियालीसँग बिहे निषेध !


chinese

श्रीमती बनाउने बहानामा बिहेको नाटक रच्दै चीन र दक्षिण कोरियाका नागरिकले नेपाली चेलीलाई आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गर्ने घटनाले तीव्रता लिएको खुलासा भएपछि सरकार गम्भीर बनेको छ । यस समस्याबाट नेपाली चेलीलाई छुटकारा दिलाउन सरकारले ती देशका नागरिकसँगको विवाहमै प्रतिबन्ध लगाएको छ । कानुनतः विवाहमै प्रतिबन्ध नलगाएसम्म नेपाली चेलीले चीन र कोरियामा भोग्ने नारकीय अवस्था नरोकिने भन्दै गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । चीन र दक्षिण कोरियालगायत कतिपय देशका नागरिकले नेपाली चेलीलाई विवाह गरेर लाने अनि चरम यातना दिने गरेको गुनासो आएपछि सरकार यस्तो निर्णयमा पुगेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रजिअ तथा प्रवक्ता गणेशप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सबै क्षेत्रीय प्रशासन कार्यालयमा यी दुई देशका नागरिकसँगको विवाहवारीमा प्रतिबन्ध लगाउने परिपत्र गरिएको छ । विदेशी–विदेशी नागरिकबीचको विवाहमा पनि प्रतिबन्ध लगाइएको र राजदूतावास तथा केही कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरूबीचको प्रतिबन्धित विवाह पनि खुलाउने तयारी सरकारले गरेको उनको भनाइ छ । बताइएअनुसार विदेशबाट विविध बहानामा नेपाल छिर्ने अनि विवाह गरेर आपराधिक कार्य गर्ने गरिएकाले पनि विदेशी विदेशीबीचको विवाहमा प्रतिबन्ध लगाउनुपरेको हो ।

स्वयम्सेवक वा अन्य काम देखाएर नेपाल आउने अनि विवाह गर्ने प्रवृत्ति पनि देखिएकाले यसमा पनि गृह प्रशासनले प्रतिबन्ध लगाएको छ । सरकारले विदेशी नागरिकसँगको विवाहमा कडाइ गरेपछि पछिल्लो समयमा विदेशी नागरिकसँगको दर्ता विवाहमा कमी आएको तथ्याङ्क छ । विवाह दर्तामा कडाइ गरिएपछि धेरै नेपाली चेलीको जीवन सुरक्षित भएको गृह प्रशासनले जनाएको छ ।

गृह प्रशासनका अनुसार सबैभन्दा बढी नेपाली चेली विवाह गरेर लाने मुलुक चीन र दक्षिण कोरियामा प्रतिबन्ध लगाइए पनि बेलायत, फ्रान्स, क्यानडा, अमेरिका, अस्ट्रेलियाजस्ता देशका नागरिकसँगको विवाहलाई सम्बन्धित दूतावासको अनुमतिमा हुने विवाहलाई रोक लगाइएको छैन ।