नेकपा संयुक्तमा फुटको तरङ्ग !

नेकपा संयुक्तमा फुटको तरङ्ग !


नेपालको कम्युनिस्ट आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)भित्र पनि असन्तुष्टि मौलाउँदै गएको छ । तर, असन्तुष्टि मौलाएर गए पनि खुलेर विरोध गर्न सक्ने सदस्यहरूको सङ्ख्या भने कम नै रहेको पाइएको सो दलका केन्द्रीय सदस्य चन्द्रदेव कामतीले केन्द्रीय प्रचार विभागको सदस्य पदबाट राजीनामा दिएर आफ्नो असन्तुष्टि व्यक्त गरेपछि असन्तुष्टि छताछुल्ल बनेको हो । प्रेस काउन्सिलका सदस्यसमेत रहेका पार्टी प्रेस विभाग सदस्य कामतीले राजीनामापत्रमा आफ्ना असन्तुष्टि खुलस्तसँग पोखेका छन् । उनको राजीनामासँगै प्रचार विभागका अन्य सदस्यले पनि राजीनामा दिन सक्ने सङ्केत देखापरेको बुझिएको छ ।

विगत अढाइ दशकदेखि नेकपा संयुक्तमा आबद्ध रही काम गर्दै आएका पार्टीका केन्द्रीय सदस्य एवम् प्रचार विभाग सदस्य चन्द्रदेव कामतीले राजीनामापत्रमा आफ्नो कामलाई उपेक्षा गरिएको, पार्टीमा लामो समयदेखि निष्ठा, इमानदारी र बफादारीपूर्वक क्रियाशील रहे पनि आफ्नो क्षमताको मूल्याङ्कन नभएको आरोप लगाएका छन् । पार्टीका विभागहरूले गरेको निर्णयलाई उपेक्षा गरी पार्टीले निर्माण गरेको राज्य–व्यवस्था समितिका केही व्यक्तिले हैकमवादी प्रवृत्ति देखाउँदै उग्र शैलीमा कार्य गरिरहेकाले पार्टीभित्र लोकतान्त्रिक एवम् प्रजातान्त्रिक पद्धति लागू हुन नदिएको आरोपसमेत कामतीले लगाएका छन् ।

बुझिएअनुसार केही साताअघि कामती चीन भ्रमणमा गएका थिए । चीन जानुअघि राजीनामा दिँदै आफ्नो असन्तुष्टि व्यक्त गरेका कामतीको राजीनामापत्र र पार्टीप्रतिको असन्तुष्टिले ठूलो अर्थ राख्ने स्रोतले बताएको छ । एउटा लामो कालखण्ड पार्टीमा क्रियाशील रही प्रजातान्त्रिक आन्दोलनमा सक्रिय कामतीको यो कदमले पार्टीभित्र हैकमवादी शैलीका पक्षधरहरूको हालीमुहाली रहेको स्पष्ट पारेको छ । पार्टीको जिम्मेवार पदमा रहेका सदस्यले पार्टी विभागका निर्णय नमानेर आफूखुसी गर्दै जानुले गलत परिपाटी स्थापित हुँदै गएको एक केन्द्रीय सदस्यले बताए । बताइएअनुसार प्रचार विभागको निर्णय कार्यान्वयन गराउन राज्य व्यवस्था विभागमा रहेका नेताहरूलाई जानकारी गराउँदा पनि त्यताबाट कुनै सुनुवाइ भएको थिएन । यसै कारण पनि प्रचार विभाग सदस्य कामतीको असन्तुष्टि राजीनामा पत्रमार्फत बाहिर आएको हो ।

पूर्वमन्त्री गणेश शाह अध्यक्ष रहेको सो पार्टीबाट तीनजना सांसदले संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेकपा संयुक्तभित्र हैकमवादी चरित्र हाबी हुनु र पुराना तथा सक्रिय सदस्यहरू असन्तुष्ट हुँदै जानुले उक्त पार्टीको बचेखुचेको छवि पनि समाप्त हुने सम्भावना बढाएको छ ।